प्रदेश २ मा संक्रमित बढ्दै गएपछि लकडाउन कडा

 प्रदेश २ मा संक्रमित बढ्दै गएपछि लकडाउन कडा


जनकपुर, ३१ वैशाख । प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनमा कडाई गरिने भएको छ । लकडाउन खुकुलो बनाइएसँगै संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश २ सरकारले लकडाउनलाई कडा बनाउन जिल्लास्थित सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ । प्रदेश २ का सिरहा बाहेक ७ वटै जिल्लामा संक्रमण पुष्टि भएपछि प्रदेश २ सरकारले लकडाउनलाई कडा बनाउँदै एक जिल्लाबाट अर्काे जिल्लामा हुने आवतजावत रोक्न र लकडाउनलाई प्रभाबकारी बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिइसकेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।
 
प्रदेश २ को सिरहाबाहेक ७ वटै जिल्लामा संक्रमितको सङ्ख्या ९४ पुगेको छ । पर्सामा ८२ जना, बारा र रौतहटमा तीन÷तीन, महोत्तरी र धनुषामा दुई÷दुई र सर्लाही र सप्तरीमा एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालय जनकपुरका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयद्वारा प्राप्त जानकारी अनुसार हालसम्म ३ हजार ९ सय ३६ जनाको स्वाब संकलन भएको छ । जसमध्ये २ हजार ६ सय ५६ को नेगेटिभ परिणाम आएको छ । ७२ जनाको पोजिटिभ परिणाम आएको छ भने १ हजार २०८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । 

प्रदेशमा बढ्दै गएको संक्रमणलाई हेर्दै सीमा व्यवस्थापनलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने बिज्ञहरुको भनाइ छ । 

खुल्ला सीमाबाट नेपाली आउने क्रम बढेको हुँदा बढी मात्रामा होल्डिङ प्वाइन्ट बनाएर क्वारेन्टाइन गर्ने प्रक्रिया सुरु गर्नुपर्ने विज्ञहरुको सुझाव छ । 

प्रदेशभर एक सय ७९ क्वारेन्टाइन सेन्टरमा ४ हजार १ सय ९८ बेड क्षमता छ । जसमा हाल १ हजार ४ सय ६८ जना क्वारेन्टाइनमा छन् । ४ हजार ५ सय २२ जना होम क्वारेन्टाइनमा छन् भने आइसोलेशन बेडमा जम्मा ४० जना छन् । 

बारा र पर्सामा निषेधाज्ञा जारी

प्रदेश २ मा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि बारा र पर्सामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको संख्या पर्साको वीरगञ्जमा बढेपछि जोखिम बढेको भन्दै पर्सा र बारामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । कोरोनाको जोखिम बढेकाले अर्काे सूचना नआएसम्मका लागि निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कार्कीले जानकारी दिए । संक्रमण थप फैलन नदिन यस्तो कदम चालिएको उनको भनाइ छ । यस्तै बारा र छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको छ ।

क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

पर्साको वीरगञ्जबाट कार्यालयको काम तथा अन्य प्रयोजनका लागि बारा आवतजावत हुने (अत्यावश्यक स्वास्थ्य सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, खाद्यान्न, दुध, पानी, ग्याँस, तेल, तरकारी, औषधि, एम्बुलेन्स) बाहेक अन्य सवारी साधनहरुलाई पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।