कालापानी क्षेत्रको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी पोष्ट स्थापना 

कालापानी क्षेत्रको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी पोष्ट स्थापना 

दार्चुला, ३१ वैशाख ।   कालापानी क्षेत्रको सीमा सुरक्षाका लागि छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

गत मंसिर महिनामा नेपाल सरकारले गरेको निर्णयअनुसार व्यास गाउँपालिका–१ छाङरुमा बाह्रै महिना सुरक्षाकर्मी बस्ने गरी बीओपी स्थापना गरिएको हो । बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी, छ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामाग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामानहरू दार्चुला सदरमुकाम खलङ्गाबाट हेलिकोप्टरमार्फत छाङरु पुर्याइएको छ ।

बीओपी स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक नारायणबाबु थापा, गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल लगायत सुरक्षा अधिकारीहरू, बीओपीमा खटिने २५ जना सशस्त्र प्रहरी लगायत सुरक्षाकर्मी र सञ्चारकर्मी छाङरु गएका थिए ।

स्थानीयले छाङरुमा कित्ता नम्बर ३५ को ११५ रोपनी ३ आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्रको बीओपी स्थापनाका लागि एक वर्षपहिले दिइसकेका छन् । नेपाल सरकारले बीओपी स्थापनाका लागि ११ करोड बजेट विनियोजन गरेको छ । छाङरुमा भौतिक पुर्वाधार निर्माण भइनसकेकोले केही समयका लागि छाङरुबाट एक किलोमिटर वर गागामा स्थानीयको घर भाडामा लिएर सशस्त्र प्रहरी बसेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

गत मंसिर महिनामा नेपाल सरकारले छाङरुमा बीओपी राख्ने निर्णय गरेपनि हिमपात र लकडाउनका कारण पुर्वाधार निर्माणमा ढिलाइ भएको थियो । जेठ पहिलो हप्ताभित्र सुरक्षा पोष्टका लागि पुर्वाधार निर्माणको टेण्डर गरिने सशस्त्र प्रहरी नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका डिएसपी डम्बरबहादुर विष्टले बताए। भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसँग जोड्ने गरी ९५ किलोमिटर सडक निर्माण गरेपछि तिङ्करसम्म सडक र सीममा बाह्रै महिना राज्यको सुरक्षा उपस्थिति गराउनुपर्ने स्थानीयको माग छ ।

अहिले सशस्त्र प्रहरी बसेको छाङरु गाउँभन्दा कालापानी १३ किलोमिटर र लिपुलेक १७ किलोमिटर टाढा पर्ने भएकोले सीमा क्षेत्रमा निगरानी बढाउन कालापानी वा कौँवा क्षेत्रमा नेपाली सेना राख्न स्थानीयले अनुरोध गरेका छन् । कालापानी समुद्री सतहबाट ४ हजार २ सय मिटर र त्योभन्दा माथि लिपुलेक, लिम्पीयाधुरा ५ हजार मिटरको उचाइमा पर्ने भएकोले ३ हजार ६ सय मिटर उचाइमा रहेको छाङरुमा सुरक्षा पोष्ट राखेर राज्यको उपस्थिति देखिएपनि सीमा सुरक्षा गर्न कठिन हुने स्थानीय बताउछन् । सशस्त्र प्रहरी छाङरुमा बसेपनि कौवासम्म नियमित एलआरपी गस्ती गर्न सकिने बीओपीको स्थलगत निरीक्षण गरेको डिएसपी विष्टले बताए।

यसअघि गत फागुन पहिलो साता नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले सशस्त्र प्रहरीको बीओपी स्थलको हवाई निरीक्षण गरेको थियो । चैत महिनामा सशस्त्र प्रहरी दार्चुलाका डिएसपी डम्बरबहादुर विष्ट नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेका थिए ।