विखण्डनकारी राजनीतिको अन्त्य 

विखण्डनकारी राजनीतिको अन्त्य 

सूर्यप्रकाश सुवेदी पथिक


एउटा कथा छ, कुनै शहरमा एकजना राम्रो चित्रकारले आफ्नो राम्रो चित्रलाई जनताले कस्तो मानेका छन भन्ने जाँच्न मन लागेछ । उनले शहरको चौकमा उक्त चित्र राखेछन र साथै कागजमा एउटा सूचना पनि झुन्ड्याएछन, चित्रमा तपाईलाई केही कमी कमजोरी लाग्छ भने निसन्देह आफ्नो मत दिन सक्नु हुनेछ । बेलुका चित्रकारले आफ्नो चित्र हेर्न जाँदा त चित्र पूरै बिरूप बनाइएको रहेछ । चित्रको ठाउँ ठाउँ मानिसहरुले यो मिलेन र त्यो मिलेन भनेर केरेका रहेछन । आफ्नो सुन्दर चित्रलाई बिरूप बनाएको देख्दा ती चित्रकार निरास र छक्क परेछन । 

 सामाजिक संजाल र केही मिडिया हेर्दा अहिले सिके राउतको प्रसंगमा माथि भनिएको कथाको चित्रकारको हालत जस्तो सरकारलाई पु¥याउने छाँट देखिन्छ । कथाको चित्रकारले त अभिमत मागेको थियो यहाँ त बिना माग पूरै खेललाई नै बिरूप बनाइदै छ ।
 
केपी ओली सरकार आइसकेपछि ‘शान्ति र समृद्धि’ लाई मूल मन्त्र बनाएर कामहरु अघि बढी रहेका छन् । यहाँ शान्तिको प्रसङ्ग आउँदा सरकार र बिशेष रुपमा गृहमन्त्रालयले नेपालमा शान्तिलाई अक्षुण्ण राखिरहन बिखण्डनवादी तागत एक नम्बरको समस्याका रुपमा सूचिकृत गरिएको थियो । यहाँ बिखन्डनकारी शक्तिको प्रसंग आउँदा निसन्देह सिके राउत र उनहो कथित स्वतन्त्र मधेश गठबन्धनसँग मुख्य रुपमा जोडिएको थियो ।  यो शक्तिलाई गृहमन्त्रालयले कुनै ठाउँ नदिइ कडाईपुर्वक पेश आइरहेको सर्वबिदित नै छ ।

मधेशमा सिके राउत समूहले बिगत एक बर्षमा खासै गतिबिधि गर्न सकेको छैन । छिटफुट रुपमा तराई मधेशमा केही गतिबिधि हुँदा पनि सरकारले यसलाई गम्भीर अपराधको रुपमा लिंदै कारवाहीको बिषय बनायो । देशको राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको बिषयमा कहीँ कतै कसैसँग कुनै पनि सम्झौता हुन्न भन्ने कुरा सरकारले जोडदारसँग राखिरहेको छ । यो प्रवृतिलाई विश्वको सभ्य मुलुकले जस्तै नेपालले पनि कुनै राजनीतिक भूमि दिन सकिन्न भन्ने मान्यता साथ आफ्ना काम कारवाही निरन्तर अघि बढाइरह्यो । सिके राउतका ससाना गतिबिधिलाई पनि गृहले गम्भीर समस्याको रुपमा लियो । जहाँ अलिकति पनि यस्ता बिखण्डनकारी गतिबिधि हुन्छन तिनको बिरुद्ध कडाईपुर्वक प्रशासन प्रस्तुत भयो । यसैको नतिजा सिके राउत र उनका थुपै्र समर्थक गिरफ्तार भए कतिपय जेलमा पुगे ।

सरकार सिके राउत प्रवृतिसँग कडाईका साथ प्रस्तुत हुनुका पछाडि यसको जरैदेखिको समस्या समाप्त होस भन्ने नै चाहना हो ।समकालीन बिश्वमा पृथकतावादी आन्दोलनको दुस्परिणाम के कति भयङ्कर हुन्छ भन्ने श्रीलंका, भारतको कश्मिर, अफ्रिकाको रुवान्डा आदि देशका उदाहरण काफी छन् । यो आन्दोलनको  नेपालमा  बिजयको कुनै सम्भावना बस्तुगत रुपमा देखिन्न । तर पनि यसले  एकपटक आफ्नो सानो आगो लगाउने ठाउँ पायो भने यो सजिलै निभ्न गाह्रो हुन्छ र लामो समय नेपालको शान्तिको लागि निकै ठूलो चुनौती बनिरहन्छ । पृथकतावादी आन्दोलन चलिहाल्यो भने यसलाई मलजल र घिउमा आगो लगाउने खालि देशभित्रका शक्ति मात्र हुन्नन भन्ने समकालीन विश्वका घटनाले देखाइसकेका छन् । तसर्थ बुद्धिमत्ता काम यसैमा हुन्छ कि यो प्रवृतिको हल समयमै खोजी हाल्नुपर्छ । नेपाल सरकारले अत्यन्त बुद्धिमत्तापूर्ण कदम यही समस्याको शान्तिपूर्ण हल खोज्नमा चाल्यो । र, ऊ अत्यन्त सफल पनि भयो ।

सरकारका अघि यो प्रवृतिसंग प्रशासनिक हल गर्ने मुख्य बिकल्प थियो र सरकार निर्मम बन्दै पनि गइरहेको थियो । वार्ता संवादबाट यति सजिलै यो हल होला भन्ने कसैले पनि सोचेका थिएनन र यो एक प्रकारले चमत्कार नै भयो । यसलाई कार्य रूप दिने सबै साधुवादका पात्रहरु हुन् । राष्ट्रले यही रुपमा उहाँहरुको अभिनन्दन गर्न सक्नुपर्छ । यो मामिलाको नेतृत्व गर्ने सरकारको अन्य बिषयमा लाखौ असमहति भए पनि सबै राष्ट्रवादी नेपाली जनता र तिनका प्रतिनिधि पार्टीहरु नागरिक समाज पत्रपत्रिका आदि एकैठाउँ उभिन सक्नुपर्छ र एकै स्वरमा यसको स्वागत गर्न सक्नुपर्छ । राष्ट्रिय स्वार्थको अघि अन्य स्वार्थ आउन दिन हुन्न भन्ने जिम्मेवार र परिपक्व राजनीतिको परिचय दिने बिरलाकोटीको एजेन्डा हो यो । ससाना प्राविधिक कुरा उछालेर यति ठूलो ऐतिहासिक कामको अबमूल्यन कही कतैबाट हुनु हँुदैनथ्यो।
          
तर बिडम्बना यति ठूलो र ऐतिहासिक परिघटनाको जति उच्च सम्मान र स्वागत हुनु पर्दथ्यो त्यो हुन नसकेको देखियो । बरु उल्टो यसमा ‘राजनीति’ घुसेको देखियो । कम्युनिष्ट आन्दोलनका महान बिचारक लेनिनले एक प्रसङ्गमा भन्नुभएको थियो, ‘राजनीतिमा आफ्नो अहित हुने भएपछि रेखागणितीय स्वयमसिद्ध तथ्य पनि बङ्याउछन ।’ आज सिके राउतका बिषयमा पनि यही गलत राजनीतिले स्थान पाएको हो कि भन्ने देखिएको छ । यसमा सत्तापक्ष र प्रतिपक्ष भन्ने पनि रहेन । दुबैतिर स्वागत र बिरोधका स्वर आए । मिडिया, नागरिक समाज पनि विभाजित देखियो । तर्क र बिचारहरु सतहमा आएका छन् । यिनको गम्भीर चिन्तन र मन्थन आगामी दिनमा हुँदै जानेछ । प्रस्तुत सानो टिप्पणीमा यसको समालोचना गर्न सम्भव हुने छैन । समयले सबैभन्दा सही उत्तर दिनेछ र मलाई विश्वास छ यो प्रश्नमा सरकारले चालेको कदम नै अत्यन्त  सही र वस्तुवादी सावित हुनेछ ।

यो सम्झौताको प्रसंगलाई लिएर सिके राउतका केही समर्थकले अपनाएको रवैयाको कारणले यसको ओज कुनै पनि अर्थमा कम हुदैन । भोलि सिके राउत स्वयम् आफ्नो पूर्ववत अडानबाट पछि हटे भने पनि यो सम्झौता र सहमतिको ओज कम हुँदैन । भलै सिके राउत आफ्नो हस्ताक्षरमा पूरै अडिग छन् र यो उनले भावावेशमा एक रातमा अकस्मात यो  सहमति गरेका होइनन् । यसको लागि उनले र उनका समर्थकहरुले महिनौ कसरत गरेका थिए ।

म पुन माथिकै कथा प्रसंगबाट बिट मार्ने अनुमति चाहन्छु । कलाकार चिन्तित र दुःखी थियो आफ्नो बिरूप कलाको हालत देखेर । ऊ रोइरहेको थियो । ठीक त्यही बेला एक जना ज्ञानी त्यही बाटोबाट हिड्दै गर्दा कलाकार रोइरहेको देखेर कारण सोधे । कलाकारले बेलिबिस्तार लगाए । ज्ञानीले कलाकारलाई भने ‘भोलि पुन यही चोकमा सेतो कागज राख्नु र तल लेख्नु कि मैले हिंजो बनाएको चित्र भन्दा पनि उत्तम चित्र कोरेर टाँस्नु ।’ कलाकारले ज्ञानीले भने बमोजिम गरेछन । तर, भोलिपल्ट सेतो कागज जस्ताको त्यस्तै खाली नै रहेछ ।