मणि थापाले सम्झेको आजको दिन

मणि थापाले सम्झेको आजको दिन

सञ्चार लाल
 

परम्परागत जनाधारबाट नयाँतिर जाने त्यो सकारात्मक प्रयास थियो 

राजनीति र सांस्कृतिक अभियानलाई एउटै मालामा उनेर जनयुद्धपूर्व र त्यसपछि पनि निकै प्रभावकारी भूमिका खेल्दै आएका, निस्ठा र आदर्शलाई निरन्तर पछ्याएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता मणि थापाले चार वर्षअघिको नयाँ कम्युनिस्ट ध्रुवीकरणको थालनीको स्मरण गर्दै ऐतिहासिक फोटोसहित प्रतिक्रिया पोस्ट गरेका छन्, 

'इतिहासमा माओवादी केन्द्र निर्माण भएको पनि चार वर्ष भएछ । जनताको ठूलो वलिदानबाट बनेको माओवादी जनयुद्धलाई जनविद्रोहमा बदल्ने भास्यको खोजीमा अन्तर हुँदा हामीले विद्रोह गर्यौं र नयाँ माओवादी मुभमेण्ट बनाउन कोशिश गर्यौं । संविधानसभाको निर्वाचनमा एउटा माओवादीले वहिस्कार, अर्काे माओवादीले स्वीकारको राजनीति लियौं । परिणाम के भयो ? हामी सबैलाई थाहा छ । पुनः हामीले माओवादी आन्दोलनलाई पुननिर्माण गर्ने उद्देश्यका साथ माओवादी केन्द्र गठन गर्यौं । त्यसको संश्लेषण नहुँदै हामी नेकपामा आइपुग्यौं । आज नेकपामा पूर्व माओवादीको जुन हैसियत छ, त्यो हैसियतको जग नेकपा (माओवादी केन्द्र) हो । जसमा हामीले गर्व गर्नुपर्दछ । यो घटनाले इतिहासमा हामीलाई अगाडि बढ्ने प्रेरणा दिएको छ ।' 

उनको यस स्ट्याटसमा धेरैको प्रतिक्रिया छ । त्यसमा हरि बस्नेतले धेरै गम्भीर प्रतिक्रिया लेखेका छन्, 'कम्युनिस्ट आन्दोलन केन्द्रित गर्ने सन्दर्भमा अझ पनि कहीं न कहीं समस्या छ, त्यसको समीक्षा आजको जरुरी विषय हो ।´ वास्तवमा चुरो कुरो यही हो ।'

धेरैको सम्झनाबाट हराउँदै गएको तर मणि थापाले सम्झिएको आजको दिन नेपाल कम्युनिस्ट पार्टीको नयाँ ध्रुवीकरणको प्रारम्भ थियो । यही दिनबाट बृहत् ध्रुवीकरणको आधार निर्माण गरेको थियो । कम्युनिस्ट पार्टीले नयाँ दिशा खोज्ने प्रतिबद्धताका साथ यो एकता गरिएको थियो ।  

प्रचण्ड, वादल, मात्रिका यादव, मणि थापा, तिलक परियार, जयपुरी घर्तीसहित विभिन्न समूहमा विभाजित समूहहरुबीच जेठ १ गते एकता भएको थियो । 

शान्ति प्रक्रियाको सुरुवातबाट सुरु भएको माओवादी टुटफुटको यात्रा पहिलो संविधानसभाको विघटनसँगै उत्कर्षमा पुग्यो । चालीसको दशकदेखि नै जनयुद्धको आधार निर्माण गर्ने प्रचण्ड, किरण, वादल, सीपी गजुरेलसहित केही दर्जन नेताको एकीकृत प्रयास अनि फिल्डबाट अग्रपंक्तिमा रहेर टेकोपुरो दिनेमा मणि थापासहित कृष्ण सेन, पम्फा भुसाल, मात्रिका यादव, हितमान शाक्य, नेत्रविक्रम चन्द विप्लव, दिनेश शर्मा, कृष्णध्वज खड्कासहितका केही सय कलाकार, विद्यार्थी, मजदुर, महिला नेतृहरु थिए । सही कार्यदिशा भएमा नभएका कुरा प्राप्त हुन्छ भन्ने विचारलाई व्यवहारमा आत्मसातीकरण गरेर दृढतापूर्वक उभिएको अवस्था थियो त्यो । ठूलो आन्दोलनको आँधीवेहरी सिर्जना भयो, सशक्त पार्टी बन्यो । शक्ति बन्यो । गणतन्त्र, संघीयता, समावेशितालाई स्थापित गर्यो । अब कसरी अगाडि बढ्ने भन्नेमा फरकफरक विश्लेषणका आधारमा त्यो शक्ति टुटफुट भयो । सबै आआफ्नो विश्लेषणका आधारमा अगाडि बढ्न खोजे तर खुम्चिए । यो सबैलाई आत्मबोध भयो । 

यही आत्मबोधका आधारमा चार वर्षअघिको जेठ १ गतेबाट कम्युनिस्ट पार्टी नयाँ शिराबाट फेरि जुट्न सुरु  गरे । यही जगमा टेकेर नेपाल कम्युनिस्ट पार्टी बन्यो ।

 २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रचण्डको नेतृत्वमा मोटो मशालले यो प्रयास गरेको थियो । निर्मल लामाको नेतृत्वको तत्कालीन चौम, रुपलाल विश्वकर्माको नेतृत्वको तत्कालीन सर्वहारावादी श्रमिक संगठन, हरिबोल गजुरेल-बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन विद्रोही मसाललाई प्रचण्डकै नेतृत्व र पहलमा एकता गरिएको थियो । एकतापछि पार्टीको नाम नेकपा (एकता केन्द्र) बन्यो । परम्परागत जनाधारबाट नयाँतिर जाने त्यो सकारात्मक प्रयास थियो । २०१७ सालमा राजाको कूपछि टुटफुट रहेको पार्टी २०४६ सालपछि एकातिर एमाले धारमा र अर्काेतिर माओवादी धारमा ध्रुवीकरण भए । अहिले दुवै धार एकै ठाउँमा आएका छन् । एकतापछि नेपालमा पहिलो पटक कम्युनिस्ट पार्टीको नेतृत्वमा दुई तिहाइको सरकार बनेको छ । 

वाह्य र आन्तरिक कारण अनि पछिल्लो समयमा आइपरेको महामारीका कारणले कम्युनिस्टले आफ्नो मुद्धा बचाइराख्नका लागि समस्या परेको छ । उदारीकरण र निजीकरणले नेपालमा पारेको गम्भीर नकारात्मक आधारलाई तत्काल भत्काइहाल्न नसकिने अनि समाजवादी अर्थतन्त्रको जग बसाल्नै पर्ने विरोधाभास अवस्थामा छ कम्युनिस्ट सरकारका लागि ।

कोरोना महामारीको चपेटाले आर्थिक, सामाजिक, मानवीय क्षतिको आँकलन गर्ने अवस्थामा अहिले हामी छैनौं । सन् १९९० पछि नेपाली कांग्रेसको नेतृत्वमा नेपालमा जोड दिइएको उदारीकरण र निजीकरणका नाममा विदेशी अर्थतन्त्रको पक्षमा गरेका गलत कामलाई कम्युनिस्ट पार्टीले सच्याउनैपर्ने अवस्था छ भने अहिलेको महामारीबाट उत्पन्न तात्कालिक र दीर्घकालीन समस्यासँग पनि जुध्नैपर्ने अवस्था छ । विगतका नकारात्मक आर्थिक आधारलाई सच्याउँदै स्वाधीन अर्थतन्त्रको निर्माणमा जान्छौ भने नेपालमा विभिन्न समूहमा रहेका अन्य कम्युनिस्टहरु पनि एकीकृत हुन्छन । देश र वहुसंख्यक उत्पीडित वर्ग र समुदायको पक्षमा कम्युनिस्ट पार्टीले काम गर्छ, लड्छ भन्ने आमजनताको बुझाइ, विश्वास छ । सरकारको बढी अव्यवस्थित र स्वतस्फुर्ततावादी कामकार्वाही, थुप्रै कम्युनिस्ट नेताको भनाइ र गराइबीचको अन्तरविरोधका कारणले पनि जनतामा असन्तुस्टि बढेको छ ।  

कम्युनिस्ट पार्टीमा सिद्धान्तको बहस त छदैंछ, त्यसलाई व्यावहारिक कार्यान्वयन अहिलेको चुनौती मुख्य छ । संघमा त कम्युनिस्ट पार्टीको एकल सरकार छ, प्रदेश र स्थानीय तहमा पनि यसकै बर्चस्व छ । जनताको अपेक्षालाई सही दिशामा लैजान पाउने ठूलो अवसर छ । जनताको असन्तोष राजनीतिक आकांक्षा व्यक्त गर्नका लागि कम्युनिस्ट पार्टीलाई जनताले विश्वास दिएका छन् । यो ठूलो अवसर हो । 

तीनै तहको वामपन्थी सरकार र पार्टीलाई एकीकृत रुपमा जनताको अपेक्षा, देशको स्वाधीनताको पक्षमा केन्द्रित गरेर लैजान सक्नुपर्छ । चार वर्षअघि जेठ १ गतेको मुलतः माओवादी ध्रुवीकरण र त्यसको एकाध वर्षपछि तत्कालीन एमाले र माओवादीको जेठ ३ गतेको ध्रुवीकरणको सार्थकता जनतामा अनुवाद हुनुपर्छ । त्यसो भएमा नै कम्युनिस्ट ध्रुवीकरणको महत्व रहन्छ ।