सप्तरीका कोरोना संक्रमित युवकको सम्पर्कमा आएकाहरुको रिपोर्ट नेगेटिभ
सप्तरी, १ जेठ । कोरोना संक्रमित सप्तरीमा युवाको परिवारसहित सम्पर्कमा आएकाहरुको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना संक्रमित सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेलका युवकका परिवारका सदस्य तथा उनीसँगै क्वारेन्टाइनमा बसेकासहित २३ जनाको स्वाब संकलन गरी पीसीआर जाँचका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो ।
आज साँझ आएको २३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।
उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएपछि सप्तरीमा त्रास केही कम भए पनि खतरा अझै रहेको चिकित्सकहरुले बताएका छन् ।
चितवनमा भवन निर्माणका लागि मजदुरीमा खटेका १९ बर्षीय ती युवा लकडाउनकै समय गत बैशाख ९ गते पैदल यात्रा गरी सप्तरीस्थित घर आइपुगेका थिए । अन्य १३ जना साथीसहित घर फर्केका ती युवालाई पातोस्थित माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो ।
बैशाख २५ गते थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा ७ जनाको रिपोर्ट प्राप्त भएको र सोही रिपोर्टमा ती युवामा कोरोना संक्रमण देखिएको थियो । १४ दिन क्वारेन्टाइनमा राखेपछि ती युवाहरुलाई दुई दिन अघि घर पठाइएको थियो ।
घर गएको भोलि पल्टै ती युवाको रिपोर्ट पोजेटिभ आएपछि गाउँमा अहिले त्रास फैलिएको छ ।
प्रतिक्रिया