हुवावेसँग सम्झौता नगर्न जर्मनीलाई थर्काउँदै अमेरिका
अमेरिकी दबाब थेगेर भए पनि चिनियाँ कम्पनी हुवावेसँग सम्झौता गर्ने धारणा जर्मनीले सार्वजनिक गरे लगत्तै अमेरिकाले उसलाई त्यसो नगर्न थर्काएको छ ।
मोबाइलको फाइभ जी नेटवर्क सञ्चालन गर्न हुवावेलाई सहभागी गराए जर्मनीलाई बौद्धिक साझेदारीबाट अलग पार्ने अमेरिकाले चेतावनी दिएको हो ।
अमेरिकाको वाल स्ट्रिट जर्नलले जनाए अनुसार अमेरिकी राजदूतले जर्मनीलाई एक पत्र लेखेर यसरी थर्काएको हो ।
अमेरिकाले हुवावेलाई विश्वबाट अलग्याउन लबिङ गर्दै आइरहेका बेला जर्मनीले चिनियाँ कम्पनीसँग सम्झौता गर्ने जनाएको थियो ।
अमेरिकी राजदूत रिचार्ड ग्रेनेलले जर्मनीको सुरक्षा नियोगसँगको सहयोगमा कमी ल्याउने जनाए ।
यसअघि यसो गरिए वासिङगटनसँग व्यापार युद्ध होला भनी सोधिएको प्रश्नको जवाफमा जर्मनीका अर्थमन्त्री पिटर अल्टमाएरले युरोपेली युनियन आफ्नो हितको संरक्षण गर्न खडा रहने बताएका थिए ।
५ जी मोबाइल नेटवर्कको विकास गर्न हुवावेलाई ठेक्का दिइने संकेत गर्दै उनले जेडडीएफ टेलिभिजनमा यस्तो बताए । जर्मनीबाट हुवावेलाई बन्द गर्न अमेरिकाबाट धेरै दबाब आएको बताउँदै यो खुलाए ।
उनले भने “हामीले अब कुनै कम्पनीलाई बाहिर निकाल्ने छैनौं ।”
अमेरिकाले हुवावेमाथि जासुसी गरेको आरोप लगाइ सो कम्पनीलाई दूरसञ्चारको व्यवसायबाट निकाल्न खोजेको छ ।
हुवावेले हालै अमेरिकी सरकार विरूद्ध मुद्दा दायर गरेको छ । सो मुद्दामा आफू विरूद्ध लगाइएको आरोपको प्रमाण प्रस्तुत गर्न माग गर्दै हुवावेले मुद्दा दायर गरेको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ कम्पनी र चिनियाँ नागरिक विरूद्ध हाल गरिएको कारबाही स्पस्टरूपमा राजनीतिक दबाब दिन गरिएको भएको बताए ।
अमेरिका र चीनबीच व्यापार युद्ध जारी रहेको छ । यी दुई देशका व्यापार प्रतिनिधिहरूबीच निरन्तर वार्ता भइआएको छ । अमेरिकाले युरोपका कार निर्माता कम्पनी बीएमडब्लु एजी र डाइमलर एजी जस्ता कम्पनीमाथि दबाब दिएर जर्मनीमाथि दबाब दिन सक्ने देखिएको छ ।
यसैबीच अमेरिकाका व्यापार घाटा बढेर १० वर्ष यताकै सबैभन्दा धेरै हुन पुगेको छ । अमेरिकाको व्यापार घाटा घटाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपनाएको प्रयासको बाबजुद अमेरिकाको व्यापार घाटा बढेर गएको हो । अमेरिकाको व्यापार घाटा सन् २०१८ मा ४ खर्ब १९ अर्ब २० करोड अमेरिकी डलर बराबर रहेको त्यहाँको व्यापार विभागले हालै सार्वजनिक गरेको छ ।
प्रतिक्रिया