त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना
काठमाडौं, ३ जेठ । दाङ स्थायी ठेगाना भएका ३ कोरोना संक्रमितमध्ये १ जना काठमाडौं त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का स्वास्थ्यकर्मी रहेको खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिका ७ घर भएका ३४ वर्षीय संक्रमित ति पुरुष काठमाडौंमै रहेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिए ।
ति स्वास्थ्यकर्मीलाई बिरामीको उपचारका क्रममा संक्रमण भएको आशंका गरिएको छ । केही दिनअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ सार्वजनिक सूचना जारी गर्दै दाङको तुलसीपुर उपमहानगरपालिका ७ मा १ र गढवा गाउँपालिका(४ र ५ मा २ जनालाई कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो ।
यसअघि रुपन्देही र पर्साका स्वास्थ्यकर्मीहरूमा पनि कोरोना देखिएको थियो ।
शुक्रबार एकै दिन १८ जना कोरोना संक्रमित थपिएका थिए । शुक्रबार बिहान मकवानपुर १ जना पुरुष र बाँकेको नैनापुरका ८ जनामा संक्रमण पुष्टि भएको थियो ।
बेलुका वीरगंजका ९, १० वर्षीय बालकमा र २३, ४७ वर्षीया महिलामा संक्रमण देखिएको छ । त्यसैगरी, उदयपुरको त्रियुगा नगरपालिका २५ वर्षीय पुरुष, दाङको गढुवा(४, ५ र तुलसीपुर(७ निवासी २३, ३६, ३४ वर्षीय पुरुषमा र काठमाडौं सतुंगलका ७ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ६७ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किएका छन् ।
प्रतिक्रिया