बुटवलका जुम्ल्याहा दाजुभाइले बनाए ‘रोबोटिक नर्स’

बुटवलका जुम्ल्याहा दाजुभाइले बनाए ‘रोबोटिक नर्स’

रुपन्देही, ४ जेठ । बुटवलका जुम्ल्याहा दाजुभाइ लव–कुश पन्थीले ‘रोबोटिक नर्स’ बनाएका छन् । कोरोना विशेष अस्पतालमा मानव जनशक्तिको सट्टा यन्त्र मानवलाई प्रयोगमा ल्याउन सकिने गरी उनीहरुले ‘गो कोरोना’ नामको रोबोटिक नर्स बनाएका हुन् ।

एन्ड्रोइड एप्लिकेसन (एप) को माध्यमबाट यो रोबोटलाई मोबाइलमार्फत चलाउन सकिन्छ । ४ फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, अल्ट्रा साउण्ड लजिटेक १२ एमपी क्यामेरा, रेड लिड आइ स्पिकिङ इभेन्ट र रेड लिड माउथ स्पिकिङ इभेन्ट जस्ता प्रोग्रामिङ गरिएको छ ।

मोबाइलमा एप्लिकेसनमार्फत रोबोटलाई चलाउन, दिशा परिवर्तन गर्न र रोक्न सकिन्छ । १२ भोल्टको ब्याट्रीजडित रोबोट एक किलोमिटर दूरीसम्म जान र फर्कन सक्छ ।

रोबोटलाई चाहेको दिशामा गुडाउन र मोड्न सकिन्छ । यो रोबोट चलाउन इन्टरनेट पनि चाहिँदैन । ‘रोबोटले अस्पतालको बेडमा रहेका बिरामीलाई औषधि, सेनिटाइजर, पानी, खाना आदि पुऱ्याइदिन सक्छ’, लव पन्थीले भने, ‘भाइरस संक्रमणको जोखिम नहोस् भनेर तामा, प्लास्टिक र प्लाइउडबाट रोबोट बनाएका छौं ।’
एक हप्तामा सफ्टवेयर बनाएपछि दुई हप्ता समय लगाएर रोबोटको हार्डवेयर (शरीर) तयार गरेको कुश पन्थीले बताए । रोबोट बनाउन ७० हजार रुपैयाँ खर्च भएको उनीहरुले बताए । उनीहरुले शनिबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई रोबोटिक नर्स हस्तान्तरण गरेका छन् ।


रोबोट सञ्चालनको अवलोकनपछि मन्त्री बरालले कलिलो उमेरमै जुम्ल्याहा दाजु भाइले गरेको वैज्ञानिक खोज र आविष्कारको प्रशंसा गर्दै मन्त्रालयले रोबोट बनाउन लागेको खर्च बेहोर्ने बताए ।