बन्दाबन्दीकै अवधिमा नगरपालिकामा पाँच हजार बढीको स्वास्थ्य उपचार

बन्दाबन्दीकै अवधिमा नगरपालिकामा पाँच हजार बढीको स्वास्थ्य उपचार

दीपा भण्डारी

कलामाई नगरपालिका वडा नं. ५ सिलामेस्थित १८ वर्षीया निर्मला स्याङ्वोले आफ्नो सात महिनाको छोरालाई हन्हन्ती ज्वरो आएपछि आत्तिएर छिमेकीलाई बोलाइन् । छिमेकीले उनलाई सहयोग गर्नुको साटो अव ‘तेरो छोरालाई अस्पतालले हेर्दैन’ भनेपछि उनी आफ्नो छोरालाई कोरोनाले भेट्यो कि भन्ने डरले काँप्न थालिरहेकी थिइन् ।  

सानो छोरोलाई काखी च्यापेर शहरी स्वास्थ्य क्लिनिक सिलामेमा विहान ९ः४५ मा आइपुगेकी उनले स्वास्थ्यकर्मी समक्ष आफ्नो छोरालाई ज्वरो आएदेखिका सबै लक्ष्यणहरु बताइन । त्यसरी निर्मलाले बताएको सबै लक्षणहरु सुनिसकेपछि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) विना नै क्लिनिककी प्रमुख थिङले डिजिटल थर्मामिटर मार्फत ज्वरो जाँचिन । आला मार्फत मुटुको घड्कन पनि सुनिन् र भनिन, तपाईको छोरालाई ज्वरो मात्रै हो, ठीक हुन्छ, धेरै नआत्तिनुस् र छरछिमेकले भनेको कुरा धेरै नसुन्नुस । 

कागजमा औषधि लेखिदिएपछि स्वास्थ्यकर्मी थिङले औषधि हातमा दिंदै भनिन्, छर छिमेकमा मानिसहरुको आवतजावत भइराखेको हुन सक्छ, छोरालाई घरभित्रै राख्नुस र तपाई पनि सुरक्षित साथ घरमैं बसेर हेरचाह गर्दै लेखिए अनुसारका औषधि नियमित खुवाउनुस ज्वरो ठीक भइहाल्छ । स्वास्थ्यकर्मीको कुरा सुनेपछि खुशी हुँदै निर्मलाले छिमेकीहरुले गरेको कुरा सुनेर आफू त्रसित भएको बताएकी थिइन् । 

कोरोना संक्रमण र रोकथामका लागि सरकारले चैत ११ देिख बन्दाबन्दीको घोषणा गरे पनि नगरपालिकाका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य क्लिनिकमा पाँच हजार भन्दा बढी नागरिकले नियमित स्वास्थ्य जाँच गराएको देखिएको छ । 

स्वास्थ्य शाखा प्रमुख केम थापाका अनुसार नगरपालिकाभित्रका सात वटा स्वास्थ्य चौकी र सात शहरी स्वास्थ्य क्लिनिकबाट अहिले स्थानीय वासिन्दाले ज्वरो, रुघाखोकी, झाडापखाला जस्ता रोगको निरन्तर उपचार पाइरहेका छन् । कोरोना महामारीको यो संकटपूर्ण अवधिमा सर्वसाधारणलाई सामान्य बिरामी भएर सदरमुकामको अस्पताल आउनु नपरोस् भन्ने उद्देश्यले कमलामाई नगरपालिकाले उच्च साबधानीका साथ स्वास्थ्यकर्मीलाई ड्युटीमा खटाइरहेको थापाको भनाइ थियो । 

हामीले प्रत्येक स्वास्थ्य संस्थामा एक थान पीपीईसेट, एन ९५ माक्स, सेनिटाइजर र कर्मचारी संख्याका आधारमा सर्जिकल माक्स पनि उपलव्ध गराएका छौं, थापाले अगाडि भने । सबै कर्मचारीलाई एन ९५ माक्स उपलव्ध गराउन नसकेकाले तल्लो तहका कर्मचारीलाई सर्जिकल माक्स दिइँदै आएको उनको भनाइ थियो ।  

तराईका जिल्लाबाट राजधानी जोड्ने बिपी राजमार्गबाट सवारी साधान र मालवाहक ढुवानीका साधनहरु निरन्तर गुडिरहँदा सिन्धुलीमा कोरोना संक्रमणको जोखिम उच्च भएको निश्कर्ष निकाल्दै कमलामाई नगरपालिकाले सम्पूर्ण स्वास्थ्य चौकी र शहरी क्लिनिकमा ज्वरो जाँच गर्नका लागि थर्मगन उपलव्ध गराउने भएको छ । जोखिम मानिएका केहीलाई हामीले पहिल्यै थर्म गन दिएका थियौं, अब बाँकी सबैलाई तीन दिनभित्र उपलव्ध गराइ सक्ने थापाले जानकारी दिए ।   

बन्दाबन्दी प्रारभं भएदेखिनैं नगरपालिकाको स्वास्थ्य शाखाले १४ वटै वडाका स्वास्थ्य संस्थाहरुमा आएर उपचार गराउने नागरिकहरुको बिबरण दैनिक रुपमा स्वास्थ्य मन्त्रालयमा पठाउने गरेको सोही काममा संलग्न स्वास्थ्यकर्मी लक्ष्मी श्रेष्ठले जानकारी दिइन् । ‘हामीले कुन स्वास्थ्य केन्द्रमा कति जनाको संख्यामा बिरामीहरु आए र उनीहरुले कस्तो सुविधा लिए भन्नेसम्मको बिबरण मन्त्रालयमा पठाइरहेका छौं’, श्रेष्ठले भनिन् । 

स्वास्थ्यकर्मी नै जोखिममा

सिन्धुली जिल्लासँग जोडिएका तराईका छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाका स्वास्थ्य केन्द्रमा पर्याप्त उपकरण बिना सर्वसाधारणको उपचारमा संलग्न स्वास्थ्यकर्मी नै उच्च जोखिममा रहेको देखिएको छ । कोरोना उपचार रोकथाममा संलग्न स्वास्थ्यकर्मी नै कारोनाको शिकार भएका विवरणहरु आइरेका बेला कमलामाई नगरपालिकाले आफू मातहतका सम्पूर्ण स्वास्थ्यकर्मीलाई विशेष सजगता अपनाउन र जोखिमबाट बच्ने उपायहरु अबलम्बन गर्नसमेत पुनः अपील गरेको छ । नगरप्रमुख खड्गवहादुर खत्री भन्छन्, आफ्नो जीवनको पर्वाह नगरी बन्दबन्दीको समयमा पनि जनताको स्वास्थ्यमा सक्रिय सबै स्वास्थ्यकर्मी र चिकित्सकलाई सम्मान गर्दछु र आफ्नो जीवनको सुरक्षामा संवेदनशिल बन्न पनि पुनः आग्रह गर्दछु । 

कमलामाई नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेसँगै प्रत्येक वडाका नागरिकलाई मौसमी ज्वरो, रुघाखोकी र झाडा पखालाजस्ता रोगहरुको उपचारका लागि सिन्धुली अस्पताल त्यस्तै सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेल भन्छन्, फ्रन्टलाइनमा रहेर काम गर्ने सबै स्वास्थ्यकर्मीले सुरक्षाका लागि आवश्यक सबै उपकरणहरु प्रयोग गर्नैपर्छ, अन्यथा हामीले उपचार गर्ने कोही पनि नपाउन सक्छौं । ४ जेठ २०७७