नेपालमा कोरोना संक्रमित दोश्रो व्यक्तिको निधन 

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरस संक्रमित दोस्रो व्यक्तिको मृत्यु भएको छ । 

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको हो ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका बताइएको छ ।

क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या आएको थियो । आज विहान ६स्४० मा उनको मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मृतकको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

हिजो मात्र कोरोना भाइरसको संक्रमणबाट एक सुत्केरी महिलाको सिन्धुपाल्चोकको बाह्रविसेबाट धुलिखेल हस्पिटल ल्याउने क्रममा मृत्यु भएको थियो । २९ वर्षीया ती महिला काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा बैशाख २४ गते भर्ना भई बच्चा जनाएर २५ गते नै डिस्चार्ज भएर बाह्रविसे गएकी थिइन ।