७३ औं विश्व स्वास्थ्य सम्मेलन भोलिबाट शुरु

७३ औं विश्व स्वास्थ्य सम्मेलन भोलिबाट शुरु

सबल दाहाल

काठमाडौं । ७३ औं विश्व स्वास्थ्य सम्मेलन भोलि र पर्सि मे १८ र १९ तारिख कोभिड–१९ को महामारीको कारण भर्चुअल विधिबाट बस्दैछ । World Health Assembly (WHA) भनेको World Health Organization (WHO) को नीति, बजेट तथा निर्णय गर्ने निकाय हो । नेपाल सहित United Nation का १९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु यस सम्मेलनमा सहभागि हुनेछन् । 

विश्वभरि कोभिड–१९ ले महामारीको रुप लिइरहेको बेला यस वर्षको सम्मेलन हुन लागेको हो । यो सम्मेलनको मुख्य एजेण्डा कोभिड–१९ को महामारी नै हुनेछ ।

सम्मेलनमा चाइनाले महामारीको व्यवस्थापन उचित ढंगले गर्न नसकेको भन्दै अमेरिका लगायत केही राष्ट्रले यस बारेमा अनुसन्धान गर्न लगाउने सम्भावना रहेको छ । सबैको नजर अहिले अमेरिका, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी लगायतका केही देशहरु चीन विरुद्ध कसरी प्रस्तुत हुन्छन् भन्नेमा केन्द्रित छ । ती देशका नेताहरुले चीनले भाइरसको सही सूचना लुकाएर यसले विश्वभरि महामारीको रुप लिएको भन्दै चीनसँग क्षतिपूर्ति असुल गर्नुपर्ने धारणाहरु व्यक्त गर्दै आएका छन् । 

संविधानमा डब्लुएचओले समाधान गर्न नसकेको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजान सकिने व्यवस्था छ । यसकारण चिनियाँ सरकारलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन सक्ने कतिपयले आकंलन गरिरहेका छन् । 

अन्तर्राष्ट्रिय कानुन विज्ञहरु भने यो सम्भव नभएको बताइरहेका छन् । यदि यसो गरियो भने पनि अन्तर्राष्ट्रिय अदालतले मुद्दाको फैसला ती देशहरुले चाहेजस्तो नहुने बताउँछन् । 

विश्व स्वास्थ्य, कानुन र राजनीतिक शास्त्रका प्रोफेसर स्टिभन होफ म्यान बताउँछन् “डब्लुएचओले अहिलेसम्म कुनै मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लगेको छैन । र म त्यस्तो आशा पनि गर्दिन ।”

त्यस्तै अर्का कानुन विज्ञ तथा पश्चिम बंगाल नेसनल विश्व विद्यालयका प्रोफेसर अतुल एलेकजेण्डर बताउँछन “अन्तर्राष्ट्रिय अदालतले दिएको निर्णय कार्यान्वयन गर्न संयुक्त राष्ट्र संघले कानुन जारी गर्नुपर्ने हुन्छ । चीन संयुक्त राष्ट्र संघको स्थायी सदस्य हो । ऊ सँग भिटो प्रयोग गर्न सक्ने अधिकार सुरक्षित रहेको हुन्छ । त्यसैले यो असम्भव छ ।”