कोरोना संक्रमित बाँकेका युवाको अन्त्येष्टि गरियो, भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेण्टाइन तथा त्यस आसपासको क्षेत्र शिल

कोरोना संक्रमित बाँकेका युवाको अन्त्येष्टि गरियो, भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेण्टाइन तथा त्यस आसपासको क्षेत्र शिल

४ जेठ, नेपालगञ्ज । कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका नरैनापुर गाउँपालिकाका युवाको दाहसंस्कार गरिएको छ । बाँकेको नरैनापुर गाँउपालिकाले स्थापना गरेको क्वारेण्टाइन बस्दै आएका २५ वर्षीय युवकको आइतबार मृत्यु भएको थियो । मृतकको स्वाब परिक्षण गर्ने क्रममा कोरोना भाइरस संक्रमण देखिएपछि उच्च सतर्कताका साथ दाहसंस्कार गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सामाजिक दुरी कायम गरेर धार्मिक परम्परा अनुसार मृतकको अन्तिम संस्कार गरिएको हो । अहिले त्यस क्षेत्रमा ब्यापक सुरक्षा सतर्कता अपनाइएको छ ।

गत वैशाख ३० गते भारतको मुम्बईबाट आएका ती युवालाई सीधै क्वारेण्टाइनमा राखिएको थियो । आइतबार बिहान ४ बजेतिर दुई पटक बान्ता गरे लगत्तै ती युवाको अचानक मृत्यु भएको श्रेष्ठले जानकारी दिए । शनिबार जिल्ला स्वास्थ्य कार्यालय बाँकेको टिमले ती युवासँगै एउटै क्वारेण्टाइनमा बसेका ३९ सहित नरैनापुर क्षेत्रबाट २६३ जनाको स्वाब संकलन गरेको थियो । ती सबै स्वाब परिक्षणको क्रममा रहेको र भोलिसम्म नतिजा आउने श्रेष्ठले बताए ।

अहिले नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेण्टाइन तथा त्यस आसपासको क्षेत्र शिल गरिएको छ ।