चिनियाँ राष्ट्रपति सीद्वारा डब्लुएचओको सम्मेलनलाई सम्बोधन, चीनले महामारीमा पारदर्शिता देखाएको दावी

चिनियाँ राष्ट्रपति सीद्वारा डब्लुएचओको सम्मेलनलाई सम्बोधन, चीनले महामारीमा पारदर्शिता देखाएको दावी


सबल दाहाल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङले विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै कोरोना भाइरसबारे चीनले चालेका कदमको प्रतिरक्षा गरेका छन् । चीनले महामारीमा पारदर्शिता देखाएको राष्ट्रपति सी को दावी रहेको छ । 

यतिखेर विश्वका दुई सय १० देशमा कोरोना भाइरस फैलिएको तीन लाख भन्दा बढी नागरिकको ज्यान गइसकेको अवस्थामा यो सम्मेलन भइरहेको छ ।  

राष्ट्रपति सीले सम्बोधनको क्रममा कोरोना भाइरसलाई नियन्त्रण गर्न विश्वका अन्य राष्ट्रहरुलाई चीनले सक्दो सहयोग गर्दै आइरहेको प्रष्ट पारेका छन् । यो संकटको घडीमा आफ्नो भूमिका निभाइरहेको विश्व स्वास्थ्य संगठनलाई सबै राष्ट्रले सहयोग गर्न पनि सीले अपिल गरेका छन् । ‘यस्तो कठिन अवस्थामा डब्लुएचओलाई सहयोग गर्नु भनेको अन्तर्राष्ट्रिय सहकारिता बढाउनु र मानिसको जीवन बचाउनु सहयोग पु¥याउनु हो’ उनले भनेका छन् । 

भाइरस नियन्त्रणमा चीनले चालेको कदमको विश्वका थुप्रै राष्ट्रले अनुसन्धान गर्नुपर्ने भनिरहेको बेला चिनियाँ राष्ट्रपति सीले महामारीको अन्त्यपछि विस्तृत समीक्षा गरिने बताएका छन् । 

अनुसन्धान विज्ञान र व्यावसायिकताको आधारमा डब्लुएचओ (WHO) को नेतृत्वमा निष्पक्ष ढंगले हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

एक सय ९४ राष्ट्रको सहभागिता रहेको सम्मेलनमा सम्बोधन गर्दै कोभिड १९ ले देखाएको कमजोरीलाई ध्यानमा राख्दै सबै राष्ट्रहरुले सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि आफ्नो शासन प्रणालीलाई सुधार्नु पर्ने सीले औल्याएका छन् । 

भिडियो कन्फ्रेन्स मार्फत भएको सम्मेलनमा आफ्नो मन्तव्य राख्दै सीले कोभिड–१९ले असर गरेका विकासशील राष्ट्रहरुलाई दुई वर्षको अन्तरमा दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

यदि चीनले कुनै भ्याक्सिन पत्ता लगाउन सकेमा विकासोन्मुख देशहरुमा खोपको उपलब्धता गराउने पनि उनले सम्बोधनमा बताए ।

कोभिड–१९ का कारण विश्व अर्थव्यवस्था प्रभावित रहेको बेला सीले अन्तर्राष्ट्रिय Macro आर्थिक नीति समन्वय बढाउनुपर्ने र औद्योगिक आपूर्ति व्यवस्थालाई स्थिर राख्दै विश्व अर्थव्यवस्थाको पुनस्र्थापना गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

उनले सम्बोधनको अन्त्यमा “पृथ्वी हाम्रो साझा घर हो र उसको रक्षा गर्नु हामी सबैको दायित्व हो” भनेका छन् ।    

यो पनि पढ्नुहोस, 

कोभिड–१९को स्वतन्त्र छानबिन मागमा अमेरिका र चीनलाई ल्याउने प्रयास