कोरोना र ‘टोले डन’

कोरोना र ‘टोले डन’

फणीन्द्र फुुयाल ज्वाला 

कोरोना भाइरस कोभिड–१९ बाट विश्व आक्रान्त छ । नेपाल पनि कोरोनबाट अछुतो छैन । यो आलेख तयार पर्दासम्म नेपालमा सिन्धुपाल्चोककी एक सुत्केरी महिला र बाँकेमा क्यारेन्टाइनमा बसेका एक युवा गरी जम्मा दुुईजना कोरोना संक्रमणबाट निधन भइसकेका छन् । कोरोना संक्रमितको संख्या दिनानुदिन बृद्धि भइरहेको छ । अहिले कोरोना संक्रमितको संख्या तीन सय नाघिसकेको छ । सरकारले बन्दाबन्दीलाई थप कडाई गरेको छ । गत चैतको दोस्रो हप्तादेखि सुरु भएको लकडाउनको अवधि पटक पटक गर्दै जेठ १५ गतेसम्मका लागि थप गरिएको छ ।

कोरोना संक्रमण फैलिन नदिन यतिबेला देश जागा छ । गाउँ, टोल, बस्ती, र सहर पुरै सजग छ । सडकमा सशस्त्र प्रहरी, जनपद प्रहरी र केही स्थानमा सरकारले नेपाली सेना समेत परिचालन गरेको छ । केन्द्र, प्रदेश र स्थानीय गरी तीनैबाट सरकार कोरोना बिरुद्धको युद्धमा होमिएका छन् । कोरोना फैलिन नदिन भन्दै सरकारले कोरोना संक्रमित ब्यक्ति फेला परेका र उनीहरु हिँडडुल गरेका स्थानहरु ‘सिल’ समेत गरेको छ ।

तर केही कथित बुज्रुकहरुले सार्बजनिक, सडक, गल्ली, पूलहरुमा काँढेतार लगाएर, ढाट हालेर, तगारो लगाएर र रुख ढालेल अवरुद्ध पारिरहेका छन् । केही स्थानीय र ‘टोले डन’हरुले कानून हातमा लिएर अतङ्क फैलाउन थालेका छन् । त्यस्ता समूहहरुको पहिचान गरी उनीहरुलाई नियन्त्रणमा लिनुको सट्टा उल्टै प्रहरी मुकदर्शक बनिरहेको देखिन्छ ।

कोरोना फैलिन नदिन भन्दै सबैतिरबाट भइरहेका पहलहरु राम्रा र स्वागतयोग्य हुँदा हुँदै पनि ‘हलुवामा बालुवा’ मिसाउन उद्दत केही उदण्ड ब्यक्तिहरु आफैँ जान्ने र सुन्ने हुनु कदापी पनि ठिक होइन । सरकारले गरिरहेका कदममा यस्ता टोले युवाहरुको हर्कतले गर्दा नै सरकार बदनाम हुने त होइन ? यसतर्फ सरकार र विशेषगरी गृहप्रशासन सजग र सचेत भने हुँनै पर्छ ।

गत शुक्रबार बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले काठमाडौं आउने क्रममा नागढुंगामा दुर्ब्यवहार भोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘टोले गुण्डा’हरुले उनको गाडी रोकेर बेइज्यतिपूर्ण तरिकाले खानतलासी गरिरहेको उक्त भिडियोमा देखिन्छ । सो घटनामा प्रहरीले चन्द्रागिरीका उत्तम कार्कीलाई पक्राउ समेत गरेको छ । डा. नारायण कार्कीले ती युवा बिरुद्ध प्रहरीमा किटानी जाहेरी समेत दिएका छन् । 
आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै कोरोनाको परीक्षणमा सरकारले फिल्डमा खटाएका एकजना अधिकारीमाथि राजमार्गमै यस्तो अपमान र दुर्ब्यबहार हुँदा पनि सरकारले नै फिल्डमा खटाएका प्रहरी अधिकारीहरु ती युवाको हर्कत हेरर बसिरहनुमा प्रहरी र टोले गुण्डाहरुको ‘सेटिङ’मा कोरोनाको कहरबीच कतै नागरिक अधिकार कुण्ठित पार्ने कार्य त भइरहेको छैन ? यो गम्भीर प्रश्न हो । 

स्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले उक्त घटनामा उत्तम कार्की भन्दा पनि प्रहरी अधिकारीको गल्ती भएको भन्दै सञ्चारमाध्यममा अभिब्यक्ति दिएका छन् । यो घटनाको निष्पक्ष रुपमा छानिबिन हुन जरुरी छ र त्यस्ता गैरजिम्मेवार प्रहरी अधिकारीलाई पनि छानविनको दायरामा ल्याउनुपर्छ । 

नागढुंगा घटना त एउटा उदाहरण मात्र हो । केही समय अघि गोरखा, धादिङ बाग्लुुङ लगायतका जिल्लाहरुका झोलुङ्गे पुलमासमेत काँडेतार लगाउने हर्कत भएका समाचारहरु बिभिन्न सञ्चारमाध्यममा आएका थिए । त्यसैगरी काठमाडौंको अनामनगर, न्यूरोड, कीर्तिपुर, गोंगबु, ठमेल, चावहिल, भक्तपुरको बालकोटका केही भित्री सडक र ललितपुरका केही स्थानहरुमा टोले डनहरुले सार्वजनिक सडकमा तगारो लगाएर सडक अबरुद्ध पारेका दृयष्यहरु पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले छ्यापछ्याप्ती ‘पोष्ट’ गरेको देखिन्छ । 

कोरोना संक्रमण नियन्त्रणका निहुँमा यसरी सार्वजनिक सडक, गल्ली, पूल आदि अवरुद्ध पार्नु गैर कानूनी र अमानवीय कार्य भएको कानुनविद् तथा अधिकारकर्मीहरु बताउँछन् ।
कोरोना संक्रमण सम्न्धी समाचार संकलनका लागि यो स्तम्भकार प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर स्थित बालकोट घर आसपास पुुग्दा सो क्षेत्रमा समेत सार्वजनिक सडकमा केही युवाहरु बाँसको तघारो लगाएर सडक अवरुद्ध पार्दै थिए । त्यस स्थान भन्दा करिव ५०० मिटरको दुरीमा रहेको चौकीका प्रहरीहरु भने देखेर पनि नदेखेको झैँ गरिरहेका थिए ।

त्यसैगरी महोत्तरीको खयरमारामा पनि स्थानीय युवाहरुले सडकमा ढाट राखेर सवारी साधन आवतजावतमा अबरुद्ध पारिरहेका छन् । त्यहाँका केही युवाहरुले प्रहरीसँगको मिलेमत्तोमा रात्री गस्तीसमेत थालेका छन् ।
यसरी सडक नै अवरुद्ध पारेर स्थानीय युवाहरुले कानूनको धज्जी उडाउँदै मानवता बिरोधी कार्यहरु गरिरहेका छन् । यसरी असडक नै अवरुद्ध पार्दा अत्यावश्येक सवारी साधानहरु, एम्बुलेन्स, प्रेस, खाद्य पदार्थको गाडी, औषधिको गाडी, सुरक्षाकर्मीको गाडी आदिलाई अवरोध हुन्छ र अन्नतः त्यसको गलत नतिजा हामी आफैंले भोग्नुपर्छ ।

त्यसैले कोरोनाको रोकथाम सडक अवरुद्ध पारेर होइन, हामी आफैले अनुशासित भई लकडाउनको पालना गरे मात्र सम्भव हुन्छ । सडक सबैको साझा सम्पत्ति हो । यसमा कुनै पनि स्थानीय तह र स्थानीय टोल, क्लव र टोले समूहरुहरुको नियन्त्रणमा हुनुहुँदैन । यसरी सडक अवरुद्ध पार्नेहरुको पहिचान गरी त्यस्ता बुज्रुकहरुलाई कानूनको कठघरमा उभ्याउने पो हो कि ?