विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध
२८ फागुन, काठमाडौं । केपी ओलीको नेतृत्वको सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
विप्लव समूहलाई निरन्तर वार्ताका लागि आह्वान गर्दा पनि चासो नदेखाइ हिंसात्मक गतिविधिमा संलग्न भएको र नागरिकको जिउधनमाथि नोक्सान पु¥याउने खालका काम गरेकाले कडा कदम चाल्न आफूहरुले सरकारलाई सुझाएको राजनीतिक तथा सशस्त्र समूहसँग वार्ता गर्न गठन भएको तत्कालीन सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले बताए ।
पाण्डेका अनुसार उनीहरु संविधानका दायरामा बसेर राजनीतिक गतिविधि गर्न असहमत भएको उनीहरुका केन्द्रीय नेताहरुसँग भेट्दा बताएका थिए ।
विप्लव नेतृत्वको नेकपाले राजनीतिक गतिविधिभन्दा पनि आपराधिक क्रियाकलाप अगाडि बढाएकाले त्यस समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए । परराष्ट्र मन्त्री ज्ञवालीले विप्लव समूहले राजनीतिक गतिविधि नगरेको र आपराधिक समूहले गर्ने गतिविधि गरेकाले एक आपराधिक समूहकै रुपमा व्यवहार गरिने जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीले बारम्बार संविधानको घेरामा बसेर राजनीतिक गतिविधि गर्न वा नभए आपराधिक समूह मानेर विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने कुरा पटकपटक बताएका थिए ।
प्रतिक्रिया