जनयुद्धका बेपत्ता योद्धाकै कारण समाजवादी क्रान्तिको तयारी

जनयुद्धका बेपत्ता योद्धाकै कारण समाजवादी क्रान्तिको तयारी
काठमाडौं, ६ जेठ । दश वर्षे जनयुद्धमा राज्यद्वारा बेपत्ता पारिएका योद्धाप्रति नेकपा अध्यक्ष तथा तत्कालिन जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले स्मरण गरेका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'महान् जनयुद्ध, ऐतिहासिक आन्दोलनहरुका क्रममा बेपत्ता हुनुभएका सम्पूर्ण योद्धाहरुको स्मृति दिवसका सन्दर्भमा उहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दै परिवारजनहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।' सशस्त्र र शान्तिपूर्ण आन्दोलनका क्रममा बेपत्ता भएका योद्धाहरुको संघर्षका कारण नै आज मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित समाजवादी क्रान्तिको तयारी रहेको भन्दै उनले उल्लेख गरेका छन्, 'महान् बेपत्ता योद्धाहरुको त्यागको सम्मान गर्दै समाज परिवर्तनमा उहाँहरुले देखेको सपनालाई सार्थकतामा बदल्नु हामी कम्युनिष्ट क्रान्तिकारीहरुको जिम्मेवारी हो । यस सन्दर्भमा हाम्रो पार्टी बेपत्ता योद्धाहरुको त्याग र समर्पणको उच्च सम्मानसहित क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता दोहोर्याउँछु ।' साथै अध्यक्ष प्रचण्डले बेपत्ता योद्धाका योगदान, बेपत्ता परिवारको अभिभावकत्व र तिनका सन्नतिहरुको शिक्षादीक्षा एवम् भविष्य निर्माणका सन्दर्भमा उचित नीति, योजना र कार्यक्रम प्रस्तुत गर्न पार्टी नेतृत्वको वर्तमान सरकारलाई ध्यानाकर्षण गराएका छन् ।