अझै किन घृणा र हिंसाको राजनीति ?

अझै किन घृणा र हिंसाको राजनीति ?

देशमा आज घृणा र हिंसाको राजनीतिको बोलवाला छ  । जानी नजानी समाजलाई अनन्त द्वन्द्वमा लैजाने गरी खेतीपाती गरिदैंछ । 

सरकारले गरेका हरेक विषयलाई असाध्य नकारात्मक कोणबाट विपक्षी दल, कतिपय कर्पाेरेट मिडिया, मानव अधिकारकर्मी विरोध गरिरहेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि क्षुद्रान्वेषी गरिदैंछ । सरकारले जनअपेक्षा अनुसार काम नगरेकोमा विवाद छैन तर उसले रणनीतिक महत्व राख्ने कतिपय राम्रा कामको समेत चर्काे विरोध हुनु राम्रो होइन । सकारात्मक कुरालाई स्थापित गर्न पनि सत्तारुढ दलभित्रबाट नै कञ्जुस्याइ हुनुलाई सही भन्न मिल्दैन । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको समेत अहिले जसरी अपव्याख्या भएको छ, यसले कसैलाई राम्रो गर्दैन । सहमति अघि र पछि पनि जे प्रक्रिया सरकारले अपनायो, हैसियत भन्दा बढी भाउ सी के राउतलाई दियो भन्ने कुरा जायज नै होला तर स्वतन्त्र मधेसको मुद्धा बोक्नेलाई अखण्ड नेपालको पक्षमा सहमति गराउन सक्नु सरकारको स¥हानीय काम हो । 


विप्लवको नेतृत्वका राजनीतिक गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ । यो अगाडि सरकारले वार्तामा बोलायो, वार्तामा ल्याउन दवाव दियो । उसले टेरपुच्छर लगाएन । उसका गतिविधिलाई प्रतिबन्ध लगाउनु भनेको फेरि वार्ता नगर्ने, पर धकेल्ने भन्न्े होइन होला । वार्तामा दवाव दिनका लागि पनि यो कामयावी हुनसक्छ । अहिले विप्लवको नेतृत्वको पार्टीका संविधान विपरीतका हत्या, हिंसाका गतिविधिलाई प्रतिबन्ध लगाउँदा चर्काे विरोध गर्नेले बरु त्यतातिर होइन विप्लवलाई वार्तामा बोलाएर राजनीतिक गतिविधिलाई प्राथमिकता दिन दवाव बढाउनु पर्छ ।  


अब विप्लवको नेतृत्वलाई पनि सम्मानजनक रुपमा राजनीतिको मूलधारमा ल्याउन सबै पक्षबाट थप पहल बढाउनु पर्छ । विप्लव नेतृत्वको नेकपाले पनि अब हिंसात्मक गतिविधिलाई भन्दा राजनीतिक गतिविधिलाई प्राथमिकता दिनुपर्छ । घृणा र हिंसाको राजनीतिले अहिले कसैको पनि भलो हुँदैन । हिंसाले धेरै ठूलो मानवीय र भौतिक क्षति गरेको छ, तर त्यसको अनुपातमा उत्पीडित वर्ग र समुदायले आफ्नो जीवनमा परिवर्तनको मूल्य पाए त ? धेरैको प्रश्न हो यो । यसबाट पूर्व माओवादीमा धेरै नै ठूलो असन्तुस्टि छ । यसले धेरै ठूलो हिस्सामा निराशा छ । यसको यथोचित जवाफ नदिई यो पुस्ताका अधिकांशले फेरि पुरानै युद्धको नक्कल गरेर अगाडि जाँदैन ।

 जनयुद्धको पछिल्लो कालमा राजनीतिक गतिविधिलाई माइनस र फौजी गतिविधिलाई प्राथमिकता दिंदा वर्ग विचार, वर्ग आदर्श र वर्ग मुद्धालाई चटक्कै भुलेर लाभको पद र भौतिक उत्प्रेरणाले माओवादीलाई ग्रस्त बनाएको छ । पुराना त्यागी, विचार र आदर्शलाई प्राथमिकता दिने पुरानो पुस्ताको जमात भन्दा फैजी श्रेष्ठता हासिल गरेका, विचारको कार्यमा खासै नलागेका फौजी श्रेष्ठता प्राप्त गरेका युवालाई अगाडि लाग्दा माओवादी एक समय भौतिक शक्तिमा त बलियो भयो तर कमजोर मात्र होइन विघटित अवस्थामा अहिले पुग्यो । नयाँ युद्ध तत्काल लड्छु भन्ने विप्लव नेतृत्वको पार्टीमा समेत त्यो रोगले गाँजेकै छ । 


त्यो पार्टीलाई पनि नयाँ ढंगले वैचारिकीकरण, नयाँ आदर्श, मूल्य मान्यतालाई मान्ने गरी पुनर्गठन नगर्ने हो भने त्यसले शक्ति प्राप्त गर्दा सत्ताको उपयोग पुरानै ढाँचामा नै हुन्छ भन्नेमा विवाद छैन ।  यसैले पुरानो माओवादी, त्यसमा पनि अझ विभाजित माओवादीको एउटा सानो हिस्सालाई लिएर तत्काल फौजी कार्य गछ्र्रु भन्ने विप्लव नेतृत्वको पार्टीले क्षति वाहेक उपलब्धि हासिल गर्न सक्तैन ।  


देश विभाजन, बन्धुत्वको विभाजनको राजनीति देशमा धेरै खतरनाक बाटोमा लान कोशिश अझै गरिदैंछ । अशान्ति र अराजकताको खेती गरिदैंछ । कतै लेप्ट, कतै क्षेत्रीयतावाद र कतै साम्प्रदाथिक नारामा देशलाई विभाजन गर्न खोजिदैंछ, मारकाट गराउन खोजिदैंछ । यो राम्रो होइन । घृणा र हिंसाको राजनीतिलाई केही समय स्थगन गरेर शान्ति र समृद्धिको यात्रामा हातेमालो गर्दै सबै जान पहल गर्ने, नभए जनताको विद्रोह गर्ने अधिकारलाई आत्मसात गर्ने कुरालाई कसले रोक्नसक्छ ? शान्ति, समृद्धि र स्वाधीनताको लागि यो सरकार हुनु जतिको अनुकूल अवसर सायद नहुन सक्छ ।