झापामा २७ सङ्क्रमित भारतबाट आएका थिए

झापामा २७ सङ्क्रमित भारतबाट आएका थिए
झापा, ८ जेठ । नेपाल र भारतको सिमानाबाट नेपाली धमाधम झापा भित्रन थालेपछि यहाँ कोरोनाको जोखिम बढेको छ । तीन साताअघि दुई जनामा कोरोना पोजेटिभ देखिएको झापामा तीन दिनयता २५ जना थपिएर २७ जना सङ्क्रमित सङ्ख्या पुगिसकेको छ । सबै जना भारतबाट आएर कचनकवलले नै बनाएको दुई वटा अलगअलग क्वारेन्टाइनमा बसेका छन् । ती सबै कचनकवल गाँउपालिकाका रहेका छन् । कचनकवल गाउँपालिका सिल भइसकेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरसहित जिल्लाका सुरक्षा निकायका प्रमुख गएर त्यहाँ रहेका क्वारेन्टाइनको स्थलगत अवलोकन समेत गरेका छन् । कचनकवलमा रहेका प्रदेशसभा सदस्य वसन्त बानियाँका अनुसार सीमामा कडाइ गर्ने र त्यहाँ रहेकाहरूलाई सुरक्षित रुपमा ल्याएर क्वारेन्टाइनमा राख्ने विषयलाई प्राथमिकता दिइएको छ । ुहामी अति जोखिममा परेको महसुस भएको छ र आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन लागेका छौँु, उनले भने । क्वारेन्टाइनमा बसेका नै सङ्क्रमित रहेको भेटिएकाले बाहिर फैलने सम्भावना भने कम रहेको जनाइएको छ । झापा जिल्ला कोरोना सङ्क्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले थप रणनीति बनाउनका लागि आवश्यक छलफल र परामर्श शुरु गरिएको बताए ।