बुटवल, ८ जेठ । कोरोना सङ्क्रमितबाट अर्का एक व्यक्तिको निधन भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएको हो । उनी भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
प्रदेश ५ का सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा.उमाशङ्कर चौधरीले सङ्क्रमितको मृत्यु भएको पुष्टि गरे । उनले सङ्क्रमितको बिहान मृत्यु भएको र साँझ पाँच बजे घोषणा गरिने बताए। यस्तै, प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले पनि विज्ञप्ति मार्फत उनको आज विहान निधन भएको पुष्टि गरेको छ ।
डा. चौधरीले स्थानीय सरकार, सरोकारवाला, सुरक्षाकर्मी लगायतको सल्लाह अनुसार शव व्यवस्थापन गर्ने कार्यविधि बमोजिम मृतकको शव व्यवस्थापन गरिने पनि बताउन।
उनको मृत्युसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसलाई आधिकारिक घोषणा गर्न बाँकी रहेको छ । जेठ १ गते अस्पतालमा भर्ना भएका ती व्यक्तिको २ गते स्वाब परीक्षणमा कोरोना सङ्क्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो ।
प्रतिक्रिया