भारतीय हस्तक्षेप बिरुद्ध जनता समाजवादीका नेताहरु किन मौन ? 

भारतीय हस्तक्षेप बिरुद्ध जनता समाजवादीका नेताहरु किन मौन ? 

जनकपुर । छिमेकी मुलुक भारतले हेप्हा प्रबृति देखाउँदै नेपाली भुमिमा एकतर्फी रुपमा सडक बनाएपछि हरेक नेपालीको यतिबेला मन र मुटु दुखेको छ । नेपाल पनि एउटा स्वतन्त्र राष्ट्र हो भन्ने कुरा बिर्सेर भारतले नेपाली भुमिमा बनाएको सडकको बिषयलाई लिएर नेपालभित्र ब्यापक बहस मात्र होईन्, भारतको हेप्हा प्रबृतिबिरुद्ध सबै नेपाली एकजुट भएर उभिनुपर्ने आवाज उठिरहेका छन् । 

नेपालसँग यथेष्ट प्रमाणहरु हुदाँ हुँदै पनि नेपालीलाई कुनै जानकारी सम्म नदिई नेपाली भुमि लिपियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सडक बनाएर भारतले बिस्तारबादी प्रबृति देखाएको भन्दै नेपाल सरकारले ती क्षेत्र समेत समेटेर नेपालको नयाँ नक्सा तयार गरि कार्यान्वयनमा ल्याईसकेको छ ।

नेपाल सरकारले तयार पारेको नयाँ नक्सा आफुहरुलाई मान्य नहुने भारतीय पक्षले प्रतिक्रिया समेत जनाईसकेको छ । यस्तो अवस्थामा सम्पुर्ण नेपालीहरुको दरिलो साथ चाहिएको छ यतिबेला मुलुक र सरकारलाई । नेपालको राष्ट्रियतालाई बलियो बनाउन सरकारले नयाँ नक्सा बनाएर यसैसँग सम्बन्धित बिषयलाई सम्बोधन गर्न संबिधान संशोधनको तयारी समेत गरेको छ । 

केही दिन अघि मात्र प्रतिनिधिसभाको बैठकमा सांसदहरुले छिमेकी मुलुक भारतसँगको खुल्ला सिमानाका कारण समस्या भइरहेको भन्दै सिमाक्षेत्रमा पर्खाल वा तारवार लगाउनुपर्ने माग उठेको थियो । नेकपा नेतृत्वको सरकारले सार्वजनिक गरेको नयाँ नक्साको बिषयमा केही प्रतिक्रिया नदिई मौन बसेको नवगठित जनता समाजवादी पार्टीका नेताहरु संविधान संशोधन  र सिमाक्षेत्रमा घेरवार गर्ने बिषयमा कडा प्रतिक्रिया दिन थालेका छन् । 

सरकारले भारतीय पक्षबाट हस्तक्षेप भएको भु–भाग नेपालको भएको प्रमाणित गर्न नक्सा सार्वजनिक गरेको र त्यसलाई संबैधानिक रुपमा ग्यारेन्टी गर्न संबिधान संशोधनको तयारी थाल्दाँ आफुहरुले उठाएको सबालमा पनि संबिधान संशोधन गर्नुपर्ने जनता समाजवादी पार्टीका नेताहरुले कुरा उठाउन थालेका छन् । यसै बिषयमा जनता समाजवादी पार्टीका नेताहरुले प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका नेताहरुसँग भेटेर आफुहरुको सबालमा पनि संबिधान संशोधनका लािग पहल गरिदिन आग्रह गरेका छन् । 

काँग्रेसका नेताहरुले सत्तापक्षसँग छलफल गरेर मात्र यसबिषयमा केही भन्न सकिने बताईसकेका छन् । यसबाट आफुहरुको माग सम्बोधन हुनेमा जनता समाजवादी पार्टीका नेताहरुमा केही आशा देखिएपनि ढुक्क भन्ने छैन् । तत्कालिन समाजावदी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजबादी पार्टीले उठाएको संबिधान संशोधनको मुद्दा पुरानो भएपनि उपयुक्त समय नभएको भन्दै टिप्पणी भईरहेको छ । 

“जनता समाजवादी पार्टीले उठाएको संबिधान संशोधनको मुद्दा लामो समयदेखि उठ्दै आएको छ” राजनीतिक बिश्लेषक देवनारायण यादवले भने, ‘‘तर यतिबेला राष्ट्रियतालाई बलियो बनाउन र भारतीय पक्षले भन्दै आएको नेपाली भुमि फिर्ता गराउने बेला भएकाले आफुहरुको बिषयमा संबिधान संशोधन गर्नुपर्छ भन्ने माग गर्नु सही छैन् ।” अहिले सरकारले सार्वजनिक गरेको नक्सालाई संबैधानिक बनाई राष्ट्रियताका बिषयलाई बलियो बनाउन सबै मिलेर संबिधान संशोधन गरौं, त्यसपछि अन्य असन्तुष्ट बिषयहरुमा संबिधान संशोधन गर्दा उपयुक्त हुने उनको तर्क छ । 

भारतीय पक्षले नेपाली भुमिमा सडक बनाउँदा समेत केही नबोल्ने जनता समाजवादीका नेताहरु संसदमा भारतीय सिमाक्षेत्रमा तारवार लगाउनुपर्ने माग माग उठ्दाँ त्यसको बिरुद्धमा खरो रुपमा बोल्न पछि परेनन् । संसदमा बोल्दै जनता समाजवादीका नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सरिता गिरी लगायतका नेताहरुले सिमाक्षेत्रमा तारवार लगाउने कुरा अतिबादी मानसिकता भएकाले यसबाट भयाबह अवस्था सृजना हुन सक्ने चेताबनी समेत दिन भ्याएका थिए । 

नेपाली भुमि रक्षा गर्न निश्चित रुपमा सिमा क्षेत्रका नेपालीहरुले ठुलै संघर्ष गर्दै आएका छन् । नेपाल र भारतको दश गज्जा सप्तरीको तिलाठीमा भारतीय पक्षको ज्यादति बिरुद्ध रगत बगाएको होस वा कञ्चनपुरको सुस्तामा ज्यान गुमाउनेमा सिमाक्षेत्रकै नेपाली छन् । 

भारतीय पक्षबाट हुने नेपाली भुमि अतिक्रमण होस् वा ज्यादतिका बिरुद्ध मधेशी समुदायले डटेर सामना गर्दै आएको कुरामा कुनै दुई मत छैन् । तर पछिल्लो चरणमा भएको भारतीय पक्षबाट भएको हस्तक्षेप बिरुद्ध देशभरी आवाज उठिरहदाँ मधेश केन्द्रीत पृष्ठभुमि भएका समाजवादीका नेताहरु चुपचाप मौन बस्नुको रहस्य के हुन सक्छ भन्ने प्रश्न उठ्दै आएको छ । 
कतिपयले भारतीय हस्तक्षेप बिरुद्ध केही नबोल्नु र सिमाक्षेत्रमा तारवार गर्ने बिषयमा कडा प्रतिक्रिया जनाउनु जनता समाजवादी पार्टीका नेताहरुको भुमिका रहस्यमय भएको भनिरहदाँ कतिपयले भने मधेशबादी दलहरु अवसरबादी दल भएकाले आफ्नो अनुकुल मात्र प्रतिक्रिया दिने गरेको टिप्पणी गरेका छन् । छिमेकी देशको हस्तक्षेप हुदाँ समेत जनता समाजवादी पार्टीका नेताहरुले राष्ट्रियताको सबालमा स्पष्ट रुपमा सकिरहेका छैन् । 

उनीहरुको केही बाध्यताले होस् वा अन्य कुनै कारण भारतीय हस्तक्षेप बिरुद्ध स्पष्ट बोल्न नसक्दाँ कही राष्ट्रियता प्रति उनीहरु इमान्दार त छैन् भन्ने आशंका उत्पत्ति भएको छ । तसर्थ यि आशंकाहरुलाई चिर्न जनता समाजवादी पार्टी र ती पार्टीका नेताहरुले समयमै आफ्नो धारण प्रष्ट रुपमा राख्दै राष्ट्र र राष्ट्रियता मजबुत बनाउनु दृष्टितापुर्व अघि बढ्नु पर्ने देखिन्छ ।