जनयुद्धमा श्रीमान् र छोरी गुमाएकी निरु दर्लामीको चित्कार : 'तिमीलाई पाउन सक्दिन छोरी, हार्दिक श्रद्धाञ्जली'

जनयुद्धमा श्रीमान् र छोरी गुमाएकी निरु दर्लामीको चित्कार : 'तिमीलाई पाउन सक्दिन छोरी, हार्दिक श्रद्धाञ्जली'

निरु दर्लामी कुँवर 

आज जेठ ११ गते । २०५८ मा हामी भिषण मोर्चामा थियौँ । सबै निजि सम्पति र परिवार केही होईन भन्दै राज्यसत्ता परिवर्तनको अभियानमा थियौ । सिन्धुलीका अन्य नेताहरुको तुलनामा हामी र हाम्रो परिवार निकै नै राज्य सत्ताको निशानामा थियौँ । 

मैले यत्तिका वर्षसम्म तिम्र‍ो बारेमा दुई शब्द लेख्ने आँट गर्न सकेकी थिइन । कहाँबाट र कताबाट शब्द चयन गर्ने सम्म पनि मेलो पाउन सकिरहेकी थिईन । आज तिमिलाई सम्झदै छु । दुःखका साथ भन्नुपर्छ । यत्रो वलिदान पछि प्राप्त यो सत्तामा तिम्रो कुनै पनि स्थान छैन । न त विद्यार्थी आन्दोलनका अगुवाहरुले तिम्रो सम्झनामा तिम्रो तस्बिर राखेर दुई थुंगा फुल र श्रद्धाञ्जलीका दुई शब्द हरु व्यक्त गर्छन् न त महिला मुक्तिका ठुला ठुला भाषण गर्नेहरुको लिष्टमा तिमी पर्छौ ।

हिजो हामी सबैको भाषण गर्ने लिष्टमा वलिदानका चर्को स्वरहरु र बलिदानको अर्थको बारेमा व्याख्या गर्दै ती अभियानमा लामबद्द सबैलाई पटक पटक मर्न सिकाउने अभियान्ताहरुले आज बाँचेर आएका हरुकालागि बाँच्न सिकाउने एउटा 'स' पनि उच्चरण गर्न सक्दैनन् । 'बलिदान राष्ट्रका लागि' भनेर लाग्नेहरुको लागि निकै नै गम्भीर र सोचनीय बिषय बनाएको छ ।

हिजोका ती सँगै युद्धमा लडेका एउटै रुखको छहारि मुनि एउटा पातलो सल ओढेर एउटै सपना आधा आधा देख्नेहरु पनि समय संगसंगै निजि सम्पत्ति र परिवार भन्दा माथि उठेर निर्णय गर्ने ठाउमा पुग्न सकिरहेका छैनन् । विडम्बनापूर्व भन्नुपर्छ, शहिदहरु पनि कुन पक्ष वा गुटको हो भन्नेमा कित्ताबन्दि हुन पुगेका छौ। सक्नेले राष्ट्रको बजेट लगेर मुर्ति बनाएका छन् अर्को गुटको भनेपछि त्यही मुर्ति बनाउन पनि अस्वीकार गरेका छन् कोही वी.पी.को डाँड‍ो बोकेर हिँडेका छन् । कोही आन्दोलनको दौरानमा शहिदै नभएका ठाउँहरु बोकेर हिँडेका छन् ।अनि कोही ज्वरो आएर मरेका बाउको शहिदको नाम भजाएर पैसा लिएर बसेका छन् ।

यी सबै हेर्दा लाग्छ, आज शहिदको कोटामा पर्न र पार्न पनि शक्तिशाली गुटमा तिम्रा आफन्तहरु लाग्नुपर्ने विडम्बना वनेको छ । तिमीसँगै पढ्ने उमेरका तिम्रा ती दौतरिहरु आज अफिसर बनेका छन्। तिम्रा ती वलिदानका अर्थ सिकाउने हरुलाई फनफनी यो सत्तामा घुमाईदिएका छन् । सायद तिमी अहिले त्यही स्थानमा नभए पनि मेरो जिन्दगीको यउटा अभिन्न अंग बन्ने थियौ । अरु मादक पदार्थ सेवन गरि मर्दा महान् बन्छन् यो देशमा, तर म केहो ? म भोलि के बन्छु ? मेरो बाटो कुन हो ? भनेर आफ्नो जिन्दगीको परिभाषा नबुझ्दै तिम्रा ती तोते बोलिबाट वयस्क भयको स्वर परिवर्तन हुन नपाउँदै तिम्रा बा-आमा माओवादी भएकै कारणले तिमी यउटा कोपिला फुल बनेर फक्रिन नपाउदै तिम्रा ती कोपिला अबस्था बडेमनको माआवादीको नाममा निमोठिन्छ । चर्को स्वरले आतंककारीको मृत्यु भनेर समाचार भन्नेहरु पनि तिमीले रगत बगाएको व्यबस्थामा त्यही कुर्सीमा अटेका छन् । तिम्रो त्यो शाहादतले निकै नै आतंकित बनाएको थियो । धैरै छोरीहरुले अकालमा गोली खाएर मर्नु परेको थिएन ।

१० औँ वसन्त पार गरी ११ औँ बसन्तमा पाइला टेकेको मात्र ४१ दिन भएको थियो । माफ गर छोरी, तिमीलाई हामीले रक्षा गर्न सकेनौँ । घरआँगनमा साथी संगीसँग खेलिरहेको अबस्थामा 'शाहि नेपाली' नामक सेनाले सबै गाउँलेलाई घरबाट बाहिर ननिस्कन आदेश दिँदै घर छेउमा गोली हानी निर्ममतापूर्वक हत्या गरेको दिन । मेरो काख रित्तिएको दिन । मलाई माफ गर छोरी । त्यतिबेला हामी पनि तिम्रो साथमा थिएनौँ । रक्षा गर्न पनि सकेनौँ ।  हार्दिक श्रद्धाञ्जली छोरी । 

तिमीलाई हामीले सधा सधा सम्झिई रहेका छौँ । सपनिमा अएर 'म पनि हजुर र बहिनीसँगै बस्छु । म पनि पढ्छु, म जान्न मामी' भनेर भनिरहँदा पनि केवल ब्यूझिँदा तिमीलाई पाउन सक्दिन छोरी ।  हार्दिक श्रद्धाञ्जली !!