बजेटले सम्बोधन गर्नुपर्ने मुख्य क्षेत्र 

बजेटले सम्बोधन गर्नुपर्ने मुख्य क्षेत्र 


शर्मिला ज्ञवाली

भनिन्छ, हरेक सङ्कटले नेतृत्वको परीक्षा लिन्छ । यो पटक पनि कोरोना महामारीले विश्वकै नेतृत्वको परीक्षा लिइरहेको छ । नेतृत्वको संयमता, आफ्ना जनताप्रतिको संवेदनशीलता र यस्ता महामारीलाई जितेर अघि बढ्ने तागतको हरेक देशका नागरिकले आफ्नो नेतृत्वको मूल्याङ्कन गरिरहेका छन् । यसर्थ नेपालजस्तो देशले पनि भावना र परम्परागत शैलीमा भन्दा आफ्नो देशको वस्तुस्थितिलाई ध्यानमा राखी अबको बजेट, मौद्रिक नीतिजस्ता नीतिगत कार्यक्रम ल्याउनु उचित हुन्छ ।

पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको विकासका लागि उच्च सम्भावना बोकेको क्षेत्र भएकाले यसतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्छ । समृद्धिको भविष्य पनि यसै क्षेत्रमा खोज्नु श्रेयस्कर हुन्छ । नेपालका अद्वितीय प्राकृतिक एवम् साँस्कृतिक सम्पदा र विविधताका कारण यस क्षेत्रमा तुलनात्मक लाभ रहेको छ । नेपालले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाए यता गन्तव्य वर्ष, पर्यटन वर्ष, आन्तरिक भ्रमण वर्ष जस्ता कार्यक्रम गर्दै पर्यटन प्रवद्र्धन गर्दै आएको छ । यसकै लागि प्रत्येक प्रदेश एवम् स्थानीय तहसम्म पर्यटकीय गन्तव्य घोषणा गर्ने र सोही अनुसारको योजना बनाएर विकास गर्दै आएको छ । पछिल्लो कार्यक्रमका रुपमा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष मनाउने तयारी भएको थियो । तर, पर्यटन वर्ष अगावै शुरु भएको कोभिड–१९ ले हाल विश्वव्यापी महामारीको रुप लिएकाले गर्दा सरकारले पर्यटन वर्षलाई स्थगित ग¥यो । महामारीका कारण नेपालसहित विश्वका होटल, व्यावसाय एवम् एयरलाइन्स कम्पनीहरु टाट पल्टने अवस्थामा पुगेका छन् र लाखौंले रोजगारी गुमाएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय स्तरबाट आउने पर्यटकको आतिथ्यताका लागि अर्बौको लगानीमा निर्माण गरिएका तारे होटलहरु सुनसान छन् । पर्यटक भरिभराउ हुने पोखरा, चितवन, लुम्बिनीलगायतका स्थल चकमन्न छन् । पर्यटकको मेरुदण्डको रुपमा रहेको हवाई सेवा पनि अत्यन्त नाजुक छ । 

विश्वका अधिकांश मुलुक कोभिड–१९ को महामारीसँग जुध्नका लागि बन्दाबन्दीमा छन् । पर्यटक ओसारपसार गर्ने हवाई सेवा फाट्टफुट्ट चार्टर्ड उडान बाहेक ठप्प छन् । सन् २०१९ मा पर्यटन उद्योगले विश्वमा ८९ खर्ब अर्थात् आठ दशमलव नौ ट्रिलियन अमेरिकी डलर बराबरको योगदान गरेको थियो । जुन विश्वको कुल गार्हस्थ्य उत्पादनको १० दशमलव तीन प्रतिशत हुन आउँछ । त्यस्तै नेपालको कुल गार्हस्थ्य उत्पादनको दुई दशमलव छ प्रतिशत र प्रत्यक्ष–अप्रत्यक्ष गरी तीन दशमलव दुई प्रतिशत रोजगारी सिर्जना गरेको यो क्षेत्र यसरी थलिनु पक्कै पनि अर्थतन्त्रका लागि दुःख लाग्दो कुरा हो । हाल विश्वका कुनै पनि देशका पर्यटन उद्योग चलायमान छैनन् । नेपालमा सबैभन्दा बढी पर्यटक आउने देश भारतको कुल गार्हस्थ्य उत्पादनमा छ दशमलव आठ प्रतिशत र रोजगारीमा १२ प्रतिशत योगदान पु¥याएको यस क्षेत्र ठप्प छ । नेपालले आर्थिक पुनर्उत्थानका लागि बजेट तथा अन्य सहायता परिचालनमार्फत यस क्षेत्रलाई टिकाउन आवश्यक छ । संवैधानिक व्यवस्था अनुसार यही जेठ १५ मा सार्वजनिक हुने बजेटले उचित सम्बोधन गर्न नसक्ने हो भने यस क्षेत्रको लगानी डुब्ने र देशको अर्थतन्त्रमै धक्का पुग्नुका साथै लाखौंको संख्यामा बेरोजगारी थपिने छन् । 

नेपालले दीर्घकालीन रुपमा फाइदा लिन सक्ने र उद्योगको रुपमा विकास गर्न सकिने बलियो सम्भावना बोकेको यो क्षेत्र अब कसरी अघि बढ्छ, सहजै अनुमान गर्न सकिने अवस्था छैन । यद्यपि आगामी आर्थिक वर्षका लागि हालै सार्वजनिक नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र बाह्य कारणसमेतले पार्ने प्रभावको अध्ययन गरी पुनर्उत्थान लगायत दीगो पर्यटनका कार्यक्रम गर्ने उल्लेख गरिएको छ । यसलाई मुर्त रुप दिन सरकार बजेटको पूर्वसन्ध्यामा छ । त्यसमार्फत हुने सम्बोधन र त्यसको कार्यान्वयनको नतिजा भने भविष्यमा देखिने नै छ । राष्ट्रिय अर्थतन्त्रमा सात दशमलव नौ प्रतिशत योगदान पु¥याएको पर्यटन उद्योग र नेपालमा मनाउने भनिएको पर्यटन वर्ष कोरोनाको निशानामा परेकाले यसलाई पुनर्जीवन दिनुको विकल्प छैन । होटल र हवाई क्षेत्र ठप्प रहेको अवस्थामा स्रोत साधन व्यवस्थापन गरी तिनलाई पुनर्उत्थान गर्ने चुनौती सरकार समक्ष छ । पर्यटक आउने मुख्य मौसममा नै कोभिड–१९ फैलिएकाले बन्दाबन्दी सुरु हुनु अगावै नेपालमा आएका पर्यटकलाई पनि आआफ्नै देशले चार्टर्ड गरेर फिर्ता लगिसकेको अवस्था छ । कारोडौँ लगानी गरेका होटल व्यवसायीहरुको छटपटी बढ्दो छ । उनीहरुले दशैं यता व्यवसाय सञ्चालन नगर्ने निर्णय गरिसकेका छन् भने सरकारसँग ब्याज छुट र किस्ताको भाका बढाई दिन माग गर्दै आएका छन् । व्यवसायीको मागलाई मध्यनजर गर्दै सरकारले पनि आगामी वर्षको आयव्ययको विवरण तथा मौद्रिक नीतिमार्फत उचित सम्बोधन गरी उपयुक्त कदम चाल्नुपर्ने देखिन्छ ।

विश्वका ७० प्रतिशतभन्दा बढी जनसंख्याको बसोबास रहेको जोखिमयुक्त विकासशील देशहरुमा महामारी र यसबाट बच्न गरिएका बन्दाबन्दीले पार्ने असर कम गर्न विश्व बैंकले एक खर्ब ६० अर्ब अमेरिकी डलर अनुदान दिने भएको छ । यसले केही मात्रामा भए पनि स्वास्थ्य, सामाजिक र आर्थिक क्षेत्रलाई योगदान पु¥याउने आशा गर्न सकिन्छ । बैंकका अनुसार कोभिड–१९ का कारण विश्वका विकासशील देशका करीव छ करोड मानिस चरम गरीवीतर्फ धकेलिने भएकाले दाताहरुलाई त्यसतर्फ आफ्ना कार्यक्रम तीब्र पार्न सुझाएको छ । अन्तर्राष्ट्रिय वित्तीय संस्थाले गर्ने यस्ता अनुदान  सहयोगले  नेपालजस्ता विकासशील देशलाई केही राहत हुने आशा गर्न सकिन्छ । 

नेपालको पर्यटन प्रवद्र्धनको माध्यमबाट रोजगारीका अवसर वृद्धि, गरीवी निवारण र जनताको जीवनस्तरमा सुधार ल्याई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सक्ने भएकाले यो नेपाली अर्थतन्त्रको प्रमुख सम्बाहक पनि हो । नेपालको संविधानले पनि राज्यका नीतिहरुमार्फत नेपालका हिमाली प्राकृतिक, धार्मिक साँस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण, प्रवद्र्धन र विविधीकरण गर्दै पर्यटकीय स्थलका रुपमा विकास गरी राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा  यस क्षेत्रलाई विकास गर्ने नीति अङ्गीकार गरेको छ । विश्व सम्पदासूचीमा सूचीकृत क्षेत्रसहित अन्य प्राकृतिक, धार्मिक, साँस्कृतिक विविधताले गर्दा पर्यटन क्षेत्रमा प्रशस्तै सम्भावना छ । तर, सम्भावना छ भन्दैमा पर्यटक ह्वारह्वार आउने होइन, यसका लागि सरकार र सम्बन्धित निजी क्षेत्रले उपयुक्त कसरत गर्नुपर्ने हुन्छ । विश्वमा महामारी आएको यो नै पहिलो होइन । यस्ता महामारी शताब्दीकै फरकमा आए पनि पटकपटक आएका छन् । यो बन्दाबन्दी र महामारीको समय वर्षौँ रहिरहदैंन पनि । अवस्था सामान्य भएपछि यस क्षेत्रलाई कसरी अगाडि बढाउने, केकस्ता कार्यक्रम ल्याउने भन्ने कुरा सरकारले ल्याउने बजेटमा सम्बोधन गर्नुपर्ने देखिन्छ । 

नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि पहिलो शर्त पूर्वाधार विकास हो । नेपालले आयोजना गरेको पछिल्लो लगानी सम्मेलनमा करोडौंको प्रतिबद्धता भएको थियो । उक्त प्रतिबद्धताअनुसार भित्रिएका लगानी पर्यटन क्षेत्रमा उपयोग गरी पर्यटकलाई उपलब्ध गराउने सेवा गुणस्तरीय बनाउनुपर्ने र सेवामा विविधता ल्याउनुपर्ने हुन्छ । सरकारले क्षेत्रगत रुपमा विशेष जोड दिनुपर्ने क्षेत्रमध्ये यो महत्वपूर्ण क्षेत्र हो । यस्तो बेलामा सरकारले यस क्षेत्रका व्यवसाय र त्यहाँ आश्रित नेपाली जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ । भनिन्छ, हरेक सङ्कटले नेतृत्वको परीक्षा लिन्छ । यो पटक पनि कोरोना महामारीले विश्वकै नेतृत्वको परीक्षा लिइरहेको छ । नेतृत्वको संयमता, आफ्ना जनताप्रतिको संवेदनशीलता र यस्ता महामारीलाई जितेर अघि बढ्ने तागतको हरेक देशका नागरिकले आफ्नो नेतृत्वको मूल्याङ्कन गरिरहेका छन् । यसर्थ नेपालजस्तो देशले पनि भावना र परम्परागत शैलीमा भन्दा आफ्नो देशको वस्तुस्थितिलाई ध्यानमा राखी अबको बजेट, मौद्रिक नीतिजस्ता नीतिगत कार्यक्रम ल्याउनु उचित हुन्छ । 

यो पनि पढ्नुहोस, 

रोजगारीलाई केन्द्रमा राखेर बजेट तयार गर्ने कि ?