रुकुम पश्चिम घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गर्यो

रुकुम पश्चिम घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति गठन  गर्यो

काठमाडौँ, १३ जेठ । रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको संसदलाई जानकारी गराएका हुन् । 

राष्ट्रिय सभाको मंगलबारको बैकठमा गृहमन्त्री थापाले उक्त घटनाबारे भने, 'गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।'

गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी गराए । जसमा केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको बताए । त्यस्तै बाँकीलाई सामान्य सोधपुछपछि प्रहरीले छोडेको पनि उनले जानकारी गराए ।

गृहमन्त्रीले कानुनी राज्य स्थापना गर्नेमा सरकार दृढ रहेको बताए । घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए । जसमा युवती, युवतीका आमाबुबा, वडाअध्यक्षसमेत रहेका छन् । जोसुकै भएपनि कानुनी कारबाही गरिने गृहमन्त्रीले बताए ।


सांसदहरूले जातीय भेदभावका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।