संघीय संसदको लोगो परिवर्तन, नेपालको नयाँ नक्सा समावेश 

संघीय संसदको लोगो परिवर्तन, नेपालको नयाँ नक्सा समावेश 

काठमाडौं, १३ जेठ । संघीय संसद्को लोगो परिवर्तन गरेर अद्यावधिक गरिएको नेपालको नक्सा राखिएको छ । संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको हो ।

संघीय संसद्को नयाँ लोगो मंगलबारको बैठकबाट प्रयोगमा ल्याइएको हो । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाका कार्यव्यवस्था परामर्श समितिका आइतबारका बैठकले संघीय संसद्को लोगो र सांसदहरूले लगाउने लोगोमा अद्यावधिक नक्सा राख्ने निर्णय गरेका थिए ।

भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जेठ ७ गते सरकारले जारी गरेको थियो । सरकारले नक्सामा ती भूमि राखेर अद्यावधिक गरेपछि संसद्ले उक्त नक्सा प्रयोगमा ल्याउने निर्णय गरेको हो ।
सोही निर्णयअनुसार सांसदहरूले लगाउने लोगो, रोस्ट्रममा भएको प्रतीक चिह्नलाई अद्यावधिक नक्साअनुसार परिमार्जन गरिएको हो ।