उच्चस्तरीय छानबिन समितिले दुई सातामा प्रतिवेदन दिन्छ : गृहमन्त्री बादल
काठमाडौं, १३ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० मा भएको घटनाबारे उच्चस्तरीय छानबिन समितिले दुई सातामा प्रतिवेदन दिने बताएका छन्।
गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
मंगलबार संसदमा सांसदका प्रश्नमाथि जवाफ दिएका गृहमन्त्री थापाले दुई सातामा समितिले प्रतिवेदन दिने बताएका हुन्।
जाजरकोटका २१ वर्षीय युवा नवराज विकसहित तीन जनाको मृत्यु र ३ जना बेपत्ता भएको घटना छानबिन गरी दोषीमाथि कारबाही गरिने थापाले बताए।
नवराज आफ्ना १८ जना साथीसहित चौरजहारीस्थित प्रेमिकाको घर गएपछि गाउँलेहरूले उनीहरूमाथि कुटपिट गरेका थिए।
घटनालाई राजनीतिकरण गर्न नहुने गृहमन्त्री थापाले बताए।सांसदहरूले वडाध्यक्षकै नेतृत्वमा कुटपिट र हत्या भए पनि अहिले वडाध्यक्षलाई प्रहरीले छाडिसकेकोमा गृहमन्त्रीको जवाफ मागेका थिए।
अभिभावकले केटीलाई अन्यत्रै विवाह गर्न लागेपछि नवराज आफ्ना साथीसहित केटीका घरमा पुगेका थिए। गृहमन्त्रीका अनुसार उक्त घटनामा केटातर्फ १९ र केटीतर्फ ५०, ६० जनाको संख्यामा थिए।
प्रतिक्रिया