सेनलाई शब्दमा भन्दा कर्ममा सम्झौ 

सेनलाई शब्दमा भन्दा कर्ममा सम्झौ 

आज कृष्ण सेनको स्मृति दिवस । २०५९ सालमा आजकै दिन तत्कालीन नेपाली शासकले कृष्ण सेनको हत्या गरेको थियो । २०६० सालदेखि हरेक वर्ष आजको दिनमा कृष्ण सेनको स्मृतिमा कार्यक्रम हुँदै आएको छ । पुस्पगुच्छा चढाउने, श्रद्धाञ्जली दिने गरिएको छ । फगत श्राद्ध गरे जस्तो । 

आजको परिवर्तनको मुख्य श्रेय कृष्ण सेनसहित सामन्तवाद, साम्राज्यवादका विरुद्ध लड्दालड्दै जीवन आहुती दिनेहरुलाई जान्छ । शहीद केवल भौतिक शरीर मात्र होइन । उनीहरु आफू र आफ्नो परिवारका लागि लडेका थिएनन् । परिवर्तनको अजेण्डामा, देशको स्वाधीनताको पक्षमा, आफ्नो विचार, निस्ठा र आदर्शका लागि सम्झौताहीन संघर्ष गर्दा जीवनको आहुती गरेका हुन । 

यो परिवर्तनका मुख्य हकदारमध्येका एक अग्रणी कृष्ण सेनलाई राज्यले कतै स्मरण गरेन । जनस्तरबाट, विभिन्न संघ, संगठनले उनको स्मरणमा कार्यक्रम गरे, लेखे, बोले । कोरोनाभाइरसका कारण राज्यले गरेको बन्दाबन्दीका कारण केन्द्रीकृत, ठूला औपचारिक कार्यक्रम यसपटक कतै भएनन् । तर, पनि सिर्जनशील तवरले आदर्श व्यक्तित्व सेनलाई याद गरियो । 

कृष्ण सेनलाई हिरासतमा ठकुरी भएर ठकुरीको शासनको विरोध गर्ने भन्दै एक ठकुरी प्रहरी अधिकृतले कडा यातना दिदैं प्रश्न गर्दा उनले जातको होइन वर्गको प्रश्न मुख्य हो भन्दै मैले जातलाई खासै महत्व दिन्न म त उत्पीडित वर्ग र समुदायको पक्षमा आफूलाई उभ्याएको छु भनेका थिए । देशमा आज ठकुरी शासक छैनन् । शाह वंशको शासन ढलेको छ । वर्गसंघर्षको तुफानी केन्द्रमा समेत जातपातका नाममा सामन्तवादको प्रेत जागेको छ । क्रान्तिकारी विचार र संस्कृतिलाई प्राथमिकता नदिएर भौतिक बलमा मात्र जोड दिएर टिकाइएको सत्ता, संरचना अन्ततः सामन्तवादकै पक्षपोषण गर्ने रहेछ । जातपातका नाममा हत्या समेत गर्ने घृणित कार्य सुरु भएको छ । सीमित व्यक्तिहरुले निजी सम्पत्ति, भ्रष्टाचार, ऐश, आरामतिर वलिदानपूर्ण संघर्षलाई बेचिरहेका छन् ।  

पुरानो विचार, संस्कार बोकेकाहरु, सेनको विचार, आदर्श र वलिदानीपूर्ण संघर्षको मूल्य नबुझ्नेहरुले सेनहरुलाई सम्झेनन्, सम्मान गरेनन् भन्ने खासै चिन्ता होइन ।  तर, सेनको सम्झना गर्दै सेनको विचार र आदर्शलाई पछ्याएको भन्दै, ओठे भक्ति देखाउँदै सामन्तवाद र साम्राज्यवादको पक्षपोषणमा रमाउने विडम्बनापूर्ण अवस्था रहेको छ । शब्दले भन्दा पनि कर्मले स्मरण गरिएमा नै सेनहरुको स्मरणको सार्थकता रहन्छ । नत्र परम्परागत श्राद्ध गरेको मात्रै ठहर्छ । सेनको नाममा व्यापार गरेको मात्र ठहरिनेछ । सम्पादकीय, समयबद्ध साप्ताहिक