नेपाल र चीनसँग एकैपटक आक्रामक भारत

नेपाल र चीनसँग एकैपटक आक्रामक भारत


‘नेपालको सार्वभौमिकताका बारेमा विवादास्पद टिप्पणी फिर्ता नलिने हो भने नेपाली सेनाले भारतीय स्थल सेनाध्यक्षलाई मान्दै आएको मानार्थ सेनापति मानिरहन्छ ?’


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारोहण ताका घोषित नीति र पहिलो प्रस्तुति थियो छिमेक ‘फस्ट’ को । उनले बडो तामझामयुक्त छिमेक सद्भाव बटुल्दै सत्तारोहण गरेका थिए । सबै छिमेकीलाई पहिलो सत्तारोहणका बेला आफ्नै देशमा निम्त्याएर शपथग्रहण पनि गरेका थिए । तर पनि पहिलो सत्ताकालमा उनले छिमेकलाई थप रिझाउन सकेनन् भने दोस्रो सत्ताकालको प्रारम्भदेखि नै मोदी नीति र व्यवहार छिमेकीलाई थप चिढ्याउने र सम्बन्ध विगार्ने एक्सनमा केन्द्रीत भएका छन् । अहिले देशका सर्वशक्तिमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्ता छिमेक सम्बन्ध ‘फस्ट’ होइन, निरन्तर ‘लस्ट’ को शिखर यात्रामा देखिदै छन् । अर्थात् उनले छिमेकीसँगको सम्बन्ध गुमाउँदै छन्, विगार्दै छन् ।   

भनाइ नै छ, छिमेकमा टिमेक नगर्नु किनकि छिमेकी फेर्न सकिन्न । तर, एशियाको उदाउँदो शक्ति देश र नेपालको तीनतिरको छिमेकी मित्र भारत नै यस्तो छिमेकी देश हो जो आफ्ना सबै छिमेकी देशहरुसँग कुनै न कुनै प्रकारको तनाव र विवादमा निरन्तर उल्झिरहेको छ । 

नेपालसँग कालापानी, लिपुलेक र लिम्पियाधुराको नयाँ नक्सा विवादमा उल्झेको भारत विश्वकै उदाउँदो शक्ति राष्ट्र चीनसँग पनि सीमा विवादकै कारण सैनिक घम्साघम्सीको अवस्थामा छ । पूर्व सम्झौता विपरीत सैन्य बलका आधारमा कश्मिर निलेपछि पाकिस्तानसँगको दरारपूर्ण भारत सम्बन्ध युद्धउन्मुख छ । 

आफ्नो दोहोरिएको शासनकालको सुरुदेखि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकसँगको सम्बन्ध ज्यादै कमजोर र विवादित तथा समस्यायुक्त बनाउँदै लगेका हुन् । भुटानलाई अपवाद मान्ने हो भने हाल भारतको विदेश सम्बन्ध सबै छिमेकी देशसँग समस्यायुक्त छ । खासगरी भारत र चीनबीच बल्झिँदै गएको सीमा विवादले यी दुई देशबीच पुनः युद्ध वा टक्करको स्थितिलाई संकेत गरिरहेको छ । 

अझ नेपालले भारतद्वारा जवर्जस्त मिचिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा निकालेपछि भारत सरकारको विदेश मन्त्रालयले यसको औपचारिक विरोध विज्ञप्ति नै निकालेर ग¥यो । त्यसभन्दा अघि भारतीय स्थल सेनाध्यक्षले नेपाल चीनको उक्साहटमा सीमा विवाद उकास्न उद्दत भएको आधारहीन आरोप लगाए । भलै यसको नेपाल सरकारका पनि रक्षामन्त्रीले खण्डन गरे । 

रक्षामन्त्री पोखरेलको खण्डन : भारतद्वारा नेपालको अपमान 

भारतीय सेना प्रमुखले लिपुलेकबारे गरेको टिप्पणीले हाम्रो इतिहासलाई अपमान गरेको छ भन्ने नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको भनाइले नेपालका बारेमा भारतीय स्थल सेनाका प्रमुखले गरेको टिप्पणी गलत भएको सन्देश दिएको छ । 

भारतीय सेना प्रमुख मनोज मुकुंद नरवणेले चीनको नामै नलिई तर चीनतर्फ नै संकेत गर्दै लिपुलेकको मुद्दामा कसैको इशारामा नेपाल बोलेको टिप्पणी अघिल्लो साता गरेका थिए । भारतीय सेना प्रमुखको उक्त टिप्पणीको आलोचना गर्दै नेपालका रक्षामन्त्री पोखरेलले उक्त वक्तव्य राष्ट्रको इतिहासको अपमान भएको र यसको सामाजिक विशेषता र स्वतन्त्रताको वेवास्ता र अपमान गरेको बताएका थिए । 

‘यस्तो कथनले नेपालको इतिहास, हाम्रो सामाजिक विशेषता र स्वतन्त्रतालाई वेवास्ता गरेर अपमानजनक वयान गरेको छ । यसका साथ भारतीय सीओएसले भारतको सुरक्षाको लागि आफ्नो ज्यान जोगाउने नेपाली गोर्खा सेनाका कर्मचारीहरूको भावनालाई पनि चोट पु¥याएको छ । यो अब हुनुपर्दछ । उनीहरूका लागि गोर्खा सेनाहरूको अगाडि उभिन कठिन छ ।’

रक्षामन्त्री पोखरेलले मे २२ मा सरकार नियन्त्रित अङ्ग्रेजी दैनिक द राइजिङ नेपाललाई दिएको एक अन्तर्वार्तामा भारतीय सेना प्रमुखको भनाइप्रति प्रतिक्रिया व्यक्त गरेका थिए । १५ मे मा, जनरल नारावनेले काठमाडौंले लिपुलेक क्षेत्र भएर जाने भारतको नवनिर्मित सडकको विरूद्ध विरोध अरु कसैको आदेशमा लिपुलेक हुँदै मानसरोवरसम्म सडक निर्माणको मुद्दा उठाइरहेको आरोप लगाएका थिए । ‘उनीहरूले यो मुद्दा अरु कसैको इशारामा उठाएको हुनसक्छ भन्ने विश्वास गर्ने कारण छ र यो धेरै सम्भव छ’ उनले नेपालमाथि आरोप लगाएका थिए । 

सेनाध्यक्षको विवादास्पद आरोपले उठाएका प्रश्न 

नेपाल र भारतका स्थल सेनाध्यक्षबीच एक अर्काको सेनाको मानार्थ सेना प्रमुख हुने परम्परागत अभ्यास रहेको परिप्रेक्ष्यमा भारतीय स्थलसेनाध्यक्षले नेपालले सीमा विवाद चिनियाँ उक्साहटमा उछालेको आरोप सार्वजनिक रुपमा नै लगाएपछि यसले अनगिन्ती प्रश्नहरु उठाएको छ । आपसी भाइचाराको सम्बन्धमा रहेका सेनाप्रमुखले चीनसँगको सम्बन्ध चिसिएका कारण नेपाललाई तर्साउन यस्तो अमर्यादित टिप्पणी गरेको विश्लेषण गरिदैंछ ।

किनभने, सीमा विवादमा भारतीय संस्थापन, सरकार र विदेश मन्त्रालयभन्दा अघि नै भारतीय स्थल सेनाध्यक्षले नेपाल चीनको उक्साहटमा सीमा समस्या उठाउन विवश भएको निराधार आरोप लगाएका थिए । यदि भारतीय सेनाध्यक्षले आफ्नो विवादास्पद टिप्पणी फिर्ता नलिने हो भने नेपाली सेनाले अब भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ सेनापति मान्ने परम्परामा क्रमभङ्ग गर्नुपर्ने नैतिक संकट आइ लागेको छ । यसमा रक्षामन्त्री पोखरेलको खण्डनले मात्र नपुग्ने तर्कहरुका साथ बहस चलिरहेको छ । 

राष्ट्रियताका मामलामा जागरण चलाउँदै आएका वामनेता साध्यबहादुर भण्डारी भन्छन, ‘जुन देशमा सधैं नेपालको सीमा र राष्ट्रियताका बारेमा बहस भइरहेको छ, अनि त्यही देशको सेना प्रमुखलाई, जुन अर्काे देशको सेना प्रमुखलाई मानार्थ सेना प्रमुख मानिदैंन, मानार्थ सेनापति मान्नु विडम्बनापूर्ण थियो, छ । नेपालको सार्वभौमिकताका बारेमा विवादास्पद टिप्पणी फिर्ता नलिने हो भने नेपाली सेनाले अझै भारतीय स्थल सेनाध्यक्षलाई मानार्थ सेनापति मानिरहन्छ कि यही बेलामा त्यो पदवी फाल्ने पहल गर्छ ?
 

भारतीय मिडियाको प्रोपोगाण्डा

नेपालले जारी गरेको नक्साका विरोधमा भारतीय संचार माध्यमहरुले बेतुकका कुप्रचार पनि भारी मात्रामा गरे र गरिरहेका छन् । चर्चित वलिउड अभिनेत्री मनिषा कोइरालालले नयाँ नक्सा प्रकाशित गर्ने नेपाल सरकारको कदमलाई स्वागत गर्दै गरेको ट्वीट टिप्पणीलाई लिएर स्थापित भारतीय मिडियाहरुले अभिनेत्री कोइरालालाई भारतको नुन खाएर चीनको गीत गाएको तुच्छ आरोप पनि लगाए ।

यस्तै नेपाल चीनको पपेट बनेर भारतविरुद्ध तनाव सिर्जना गर्न उद्दत रहेको खुलमखुल्ला आरोप भारतीय मिडियाहरुले निरन्तर लगाइरहेका छन् । वामपन्थीको सरकार आएपछि नेपाल चिनियाँ पोल्टोमा गएको आरोप नेपाल मामलाका जानकार भनिने भारतीय विश्लेषकहरुले पनि लगाउँदै आएका छन् । तर, चीनले भने कालापानी लगायतको सीमा विवाद भारत र नेपालको आन्तरिक समस्या भएकोले त्यो समस्या भारत र नेपालले आपसी समझदारीबाट सुल्झाउने आशा र विश्वास सार्वजनिक रुपमा नै व्यक्त गर्दै आएको छ । 

सीमामा भारत चीन सैनिक घम्साघम्सी  

कोरोनाभाइरसको महामारीले विश्व आक्रान्त भइरहेका बेला भारतले सीमा विवादमा चीनलाई पनि उधिनिरहेको छ । चीनले पछिल्लो साता लद्दाखसँगै प्याङ्गोङ सो लेक र गल्वान उपत्यकामा थप सेना तैनाथ गरेर भारतीय निहुँ खोजुवा प्रवृत्तिलाई जवाफ दिदंै आएको छ । गल्वान क्षेत्रमा पछिल्लो दुई सातामा एक सय भन्दा धेरै पाल टाँगेर चिनियाँ सेनाले बङ्कर निर्माण गर्न शक्तिशाली सैन्य उपकरण ओसारपोसार गरिरहेको छ ।

भारतले निरन्तर निहुँ खोज्न थालेपछि पछिल्ला सातामा मात्रै चिनियाँ सेनाले लद्दाख क्षेत्रमा धेरै गतिविधि बढाएको छ । दुवै देशका सैनिकहरुको घम्साघम्सी परेका सदृश्य समाचारहरु सार्वजनिक भएका छन् ।

चिनियाँ सेनाको गतिविधिबाट भारतीय पक्षको बलमिच्याइँलाई नियन्त्रणमा लिन केन्द्रीत देखिएको छ । विवादित मानिएको प्याङ्गोङ सो लेकबाट भारतीय सेनालाई चिनियाँ सेनाले जबर्जस्ती हटाएपछि थप तनाव उत्पन्न भएको छ । भारतीय सेनाले पछिल्लो साताहरुमा सीमा क्षेत्रमा हवाइ गस्ती बढाउँदै चीनलाई जिस्क्याउने र तर्साउने असफल प्रयास गर्दै आएको छ । 

भारतीय सेनाका प्रमुख एमएम नाराभान स्वयं सीमाक्षेत्र नजिकै अवलोकनका लागि पुगेका थिए । मे महिनाको पहिलो साता दुई पक्षका सिपाहीहरुबीच उत्तरी सिक्किमस्थित हिंसात्मक झडप हुँदा एक सय भन्दा धेरै घाइते समेत भएका थिए ।

भारतीय सेनाले चिनियाँ सेनाले आफ्नो सीमा गस्तीमा बाधा उत्पन्न गरेको आरोप लगाए पनि भारतले चिनियाँ सेनालाई जवर्जस्त विवादमा उतार्न निहुँ खोेज्दै गएको  छ । स्मरणीय छ, यसअघि २०१७ मा भारत र चीनका सेनाबीच दोक्लममा दुई महिनाभन्दा लामो झडप भएको थियो ।

२०१८ को अप्रिलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच चीनको वुहानमा अनौपचारिक भेटवार्ता भयो । दोक्लमको झडपलाई अवतरण गराउने भेटको रुपमा पनि यसलाई लिइएको थियो । तिनै दुई देश २०२० मा फेरि युद्धको मनस्थितिमा देखिएका छन् । पछिल्ला घटनाक्रमले उनीहरु दुवै विवादित क्षेत्रबाट पछि हट्ने मनस्थितिमा छैनन् । समयबद्ध साप्ताहिकबाट