'हाम्रा प्रश्नका उत्तर अर्थमन्त्रीबाट आएन'
कृष्ण पुन मगर, ट्याक्सी चालक
१६ जेठ, काठमाडौं । कोरोनाभाइरसको महामारीलाई लिएर सरकारसँग सोध्ने प्रश्न धेरै छन् । सबैभन्दा बढी महत्वपूर्ण प्रश्न भनेको हाम्रो अर्थ व्यवस्था र जीविकाका लागि सरकारले के गर्छ ? सरकारले विदेशमा रहेका श्रमिकलाई यहाँ ल्याउन के गरिरहेको छ ? सरकारले राहतका नाममा कति प्याकेज बाँड्यो र लक्षित वर्ग, समुदायमा पुग्यो कि पुगेन ? यो सही हो कि तत्कालका लागि टालटुलमात्र हो ? यो प्याकेजले के प्रभाव पार्यो ?
लकडाउनका कारण अर्थव्यवस्था खराब भएको छ । विश्व नै आर्थिक मन्दीमा गएकाले नेपाल पनि त्यसबाट अछुतो छैन ।
जनतामा दुःख निकै भयानक छ । यस आर्थिक वर्षको अर्थव्यवस्था एकदमै कमजोर रहने अर्थविदहरुको आँकलन छ । यसपाली जीडीपी नकारात्मक हुने उनीहरुको विश्लेषण छ ।
यो अवस्थामा विहीवार अर्थमन्त्री डा. युवराज खतिवडाको बजेट भाषण आयो जनतामा मुख्य प्रश्न, सरोकारको विषयमा खासै चित्त बुझ्दो जवाफ आएन । केवल टालटुल र निरन्तर चल्ने ढंगको भयो । स्वास्थ्य र कृषिलाई प्राथमिकता दिने गरी बजेट आउने अपेक्षा थियो, तर खासै भएन ।
अब गाडी चलाउन छाडेर आफ्नै गाउँघर, रामेछापमा खेती किसानी गर्ने मन छ । सँगै परिवारसँग काम गर्ने मन छ । खेती, किसानीलाई सुव्यवस्थित बनाउने, किसानलाई राहत दिने, खेतीको उत्पादन र व्यवस्थित बजार, बीचौलियालाई तह लाउने गरी काम भएन । समाजवाद उन्मुख बजेट त कंगालीको नाम धनबहादुर राखे जस्तै ब्यंग्य भयो ।
प्रतिक्रिया