पूर्व राजाको मधेश भ्रमणले राजाबादी सक्रिय

पूर्व राजाको मधेश भ्रमणले राजाबादी सक्रिय

जनकपुरधाम, २९ फागुन । पूर्व राजा ज्ञानेन्द्रको मधेस आगमनले मधेशको राजनीतिमा अर्को तरंग ल्याउने संकेत गरेको छ ।

पूर्व राजा ज्ञानेन्द्रको आजदेखि शुरु भएको मधेस केन्द्रित भ्रमणले राजाबादीहरु उत्साहित मात्रै होईन्, हिन्दुत्व फर्काउन टाउको उठाउने प्रयास समेत गर्न थालेको आभास हुन्छ । 

आमा रत्नराज्यलक्ष्मी देवी शाह बिरामी परेका कारण पूर्व राजाले मधेश भ्रमण गतसाता रोकिएको थियो । रोकिएको मधेश भ्रमण आजदेखि शुरु गरिएको छ । पूर्वराजा ज्ञानेन्द्र झापाको बाटो हुँदै आज साँझ जनकपुर आइपुगेका छन् । पूर्व राजाको भ्रमण दलका लागि जनकपुरस्थित होटल सीता शरणका सबै कोठा चार दिनका लागि बुक गरिएको छ । पूर्वराजालाई ‘महाराजधिराज’कै रुपमा स्वागत गर्ने गरी राजावादी र हिन्दुवादीहरुले जनकपुरलाई सिंगारिएको छ ।

प्रदेश २ को राजधानी जनकपुरलाई मुकाम बनाएर पूर्वराजाले सर्लाही, धनुषा, उदयपुर, सिरहा र सप्तरीका शक्तिपीठहरुमा पुजाअर्चना गर्ने कार्यक्रम बनाएर मधेश झरेका छन् । 

पूर्वराजाको भ्रमणलाई भव्य र सहज बनाउन जनकपुरमा अहिले राजाबादी तथा शिव सेना खटिएको छ । पूर्व राजाले जनकपुरका समर्थकहरुसँग होटल परिसरमै सामूहिक भेटघाटको तयारी गरिएको शिब सेनाका राष्ट्रिय अध्यक्ष अनिल बस्नेतले बताए ।

सरकारसँग सहमति गरेर स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत मूलधारको राजनीतिक फर्किएको साता नबित्दै पूर्वराजा ज्ञानेन्द्रको २ नम्बर प्रदेशमा आगमनसँगै यहाँ बिभिन्न कोणबाट चर्चा परिचर्चा शुरु भएको छ । 

रामजानकी मन्दिरमा भोलि बिहीवार पूर्वराजाको पूजाअर्चनाको तयारी जुन ढंगले गरिएको छ, त्यसबाट हिन्दुत्वको एजेण्डाले बढी चर्चा पाएको छ । पश्चिम तराईको भ्रमणपछि पूर्वी तराईमा केन्द्रित रहेका पूर्व राजा जनकपुर आउने कुराले यहाँका हिन्दुत्वका प्रचारक सन्त महन्थहरुलाई समेत तरंगित पारेको छ ।

पछिल्लो समय मधेसमा पूर्वराजाले पनि आफ्नो शक्ति देखाउन खोजिरहेको र त्यसको चहलपलहल जनकपुरमा देखिएको स्थानिय बुद्धिजीवीहरुको भनाइ छ । 
पूर्वराजा आफ्नो पक्षमा वातावरण बनोस् भन्ने उद्देश्यका साथ मधेश भ्रमणमा निस्केको कतिपयको बुझाई छ भने कतिपयले पूर्वराजाको भ्रमणलाई सहज रुपमा लिनुपर्ने बताउँछन् । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत र पूर्वराजा ज्ञानेन्द्रको मधेशमा हुने गतिबिधिमा सरकारले निगरानी बढाउनु जरुरी रहेको बुद्धिजीवीहरुको कथन छ ।