कांग्रेसमा आरोपप्रत्यारोप, त्रिपक्षीय प्रतिस्पर्धा

कांग्रेसमा आरोपप्रत्यारोप, त्रिपक्षीय प्रतिस्पर्धा

नेपाली काँग्रेसमा महाधिवेशन आउन झण्डै एक वर्षको समय बाँकी नै रहेका बेला चुनाव लक्षित आरोपप्रत्यारोप सुरु भएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारका सदस्यबीच आरोपप्रत्यारोप सुरु भएको हो । अबको नेतृत्वका लागि सुरु भएको आरोप प्रत्यारोपमा सभापति देउवा र कोइराला परिवारका सदस्यबीचको दूरी झनै बढिरहेको छ । तर, पौडेल भने बिरालोले मुसा कुरेजस्तै शान्त रूपमा नेतृत्वको आशा गरेर बसेका छन् । उनी यसपटक पार्टी नेतृत्वका लागि अन्तिम कसरतमा कस्सिएका छन् । दुबै समूहमध्ये कुनै एकमा नलागेसम्म सभापति हुन सक्ने सम्भावना कम रहेकाले पौडेल जोखाना हेरिरहेका छन् ।

 

प्रमुख प्रतिपक्ष दल कांग्रेसमा मुख्य प्रतिस्पर्धीको रूपमा सभापति देउवा नै देखिएका छन् । शक्ति सङ्घर्षका हिसाबले हेर्दा बलियो शक्तिको रूपमा उनी छन् । आगामी महाधिवेशनमा पनि आफू नै सभापति बन्ने गरी प्रतिस्पर्धामा उत्रिने देउवाको योजना छ । उनलाई टक्कर दिनका लागि कोइराला परिवारबाट वर्तमान महामन्त्री डा. शशांक कोइराला नेतृत्व लिने गरी योजना बनाउन थालेका छन् ।

 

कोइराला परिवारका शशांक मात्र होइन, सुजाता कोइराला र डा. शेखर कोइराला पनि नेतृत्वको होडमा छन् । आगामी १४ औँ महाधिवेशनका लागि कांग्रेसमा कोइराला परिवारलाई एक ठाउँमा देखाउनका लागि केही वर्ष अघिदेखि नै एकै ठाउँ खाना खाने, छलफल गर्ने र कांग्रेसमा कोइराला परिवारको विकल्प खोज्नाले पार्टी कमजोर भएको दर्शाउनका लागि विभिन्न प्रयासहरू भइरहेका छन् ।

 

कांग्रेसमा देउवा र कोइराला परिवारबाहेकको शक्तिका रूपमा रामचन्द्र पौडेल अगाडि सरेका छन् । उनले पार्टी नेतृत्वका लागि अन्तिम कसरत सुरु गरेका छन् । नेतृत्व पाउने शर्तमा जुनसुकै क्याम्प परिवर्तन गर्ने तयारी पौडेलको छ । पौडेल पक्षधर नेताहरू पनि गुटगत समूहमा विभाजित रहेकाले सजिलो भने पक्कै हुने छैन ।

 

कोइराला परिवार वा देउवाको आशीर्वादले मात्र आफू सभापति बन्ने कुरा उनले राम्रोसँग बुझेका छन् । आफू निकटका नेता प्रकाशमान सिंह, रामशरण महतको साथले मात्र आफूलाई पुग्ने छैन भन्ने पौडेलले राम्रोसँग बुझेका छन् । १३ औँ महाधिवेशनको तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलालाई मनाउनु पनि उनका लागि चुनौती छ ।

 

देउवा र कोइराला परिवारबीचको आरोप–प्रत्यारोप

 

देउवा सभापति बनेपछि कोइराला परिवारले एकपछि अर्को गर्दै देउवामाथि प्रहार थालेको थियो । पार्टीको विधान विपरीतका गतिविधि गरेको, कोइराला परिवारलाई बेवास्ता गरेको, चुनावमा पार्टीको पराजयमा मुख्य दोषी रहेको लगायतका आरोप देउवालाई निरन्तर लागिरहेको छ । नेतृत्वमाथि प्रहार थालेपछि कोइराला परिवारका तीन सदस्यबीच नाटकीय रूपमा एकताको सन्देश प्रवाह भएको थियो । त्यसलगत्तै देउवाविरुद्ध कोइराला परिवारले निरन्तर आरोप लगाइरहेको छ । देउवालाई आरोपमात्र लगाएको होइन, कोइराला परिवारले कांग्रेसमा आफ्नो परिवारको विरासतको खोजी गरिरहेको छ ।

 

कोइराला परिवारको आरोप सुनिरहेका सभापति देउवाले प्रतिवाद सुरु गरेका छन् । भर्खरैमात्र कांग्रेस कोइराला परिवारको बपौती नभएको बताएका थिए । देउवाले थर कोइराला छ भन्दैमा कांग्रेस पार्टीको सभापति बन्न पाउनैपर्छ भनेर भन्न पाइन्छ ? भन्ने प्रश्न उठाए । गिरिजाप्रसाद कोइरालापछिको कोइराला परिवारका सदस्यले पार्टी र देशका लागि केही पनि काम नगरेको आरोप लगाउँदै अनुशासनहीनलाई कारबाही गर्ने चेतावनी समेत देउवाले दिएका थिए । शेखर, शशांक र सुजाताले वीरगञ्जमै देउवाको आलोचना गरेपछि त्यसैको प्रतिक्रियास्वरूप देउवाको यस्तो अभिव्यक्ति आएको हो ।

 

कोइराला परिवारले भने पछिल्लो आरोप–प्रत्यारोपमा १४ औँ महाधिवेशन सार्ने देउवाले षड्यन्त्र गरेको आरोप लगाउन थालेको छ । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४ औँ महाधिवेशन सार्ने षड्यन्त्र देउवाले गरेको आरोप लगाएका छन् । देउवाले विधान विपरीतका क्रियाकलाप गरेकाले पार्टी कमजोर भएको उनको आरोप छ । कोइराला परिवारले महाधिवेशनमा यही विषयलाई एजेण्डा बनाउने सङ्केत दिएको छ । महाधिवेशनको तयारीस्वरूप डा. शेखरले मात्रै ७० जिल्लाको भ्रमण गरिसकेका छन् । तर कोइराला परिवारमा समेत विरासत कसले धान्ने भन्नेमा विवाद छ ।

 

कोइराला परिवारमै समस्या

 

सुशील कोइरालाको निधनपछि कोइराला परिवारको विरासतको नेतृत्व कसले गर्ने भन्नेमा विवाद छ । कृष्णप्रसाद कोइरालाका तीनै भाइ छोरा– मातृका, विश्वेश्वर र गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बन्न सफल भए । नेपाली कांग्रेसको स्थापनादेखि नै एक दुई कार्यकालबाहेक सबै नेतृत्व कोइराला परिवारबाट भएको छ ।

 

विसं २००८ सालमा मातृकाप्रसाद कोइराला र ०१६ सालमा पहिलो जननिर्वाचित सरकारको नेतृत्व गर्दै वीपी कोइराला प्रधानमन्त्री भए । ०४७ सालको राजनीतिक व्यवस्था परिवर्तनपछि गिरिजाप्रसाद कोइराला पटकपटक नेपालको प्रधानमन्त्री बने ।

 

एउटै परिवार नभए पनि कृष्णप्रसादका साढुभाइका छोरा सुशील कोइराला पनि नेपालको प्रधानमन्त्री बने । यसरी पनि कोइराला परिवारको शक्ति र स्थायित्व कांग्रेसमा रहेको पुष्टि हुन्छ । कोइराला परिवारबाट सुजाता, शंशाक र शेखर अहिले सक्रिय राजनीतिमा छन् । सुजाता,  शेखर र शशांकमध्येबाट एक जना सभापति र अन्यले पदाधिकारीमा चुनाव लड्ने लगभग पक्काजस्तै छ । कोइराला परिवारलाई अहिले सबैभन्दा ठूलो चिन्ता अब कहिल्यै नफर्किने गरी परिवारबाट बाहिर काँग्रेस जान्छ कि भन्ने चिन्ता छ । त्यसैले १४औँ महाधिवेशनमा कोइराला परिवार एकै ठाउँमा उभिने निश्चित छ । शेरबहादुर, शुवर्ण शमशेर, कृष्णप्रसादलगायत बाहेक नेपाली काँग्रेसमा अहिलेसम्म कोइराला परिवारबाहिर नेतृत्व पुगेको छैन ।

 

काँग्रेसमा कोइराला परिवार

 

सन् १९४६ अक्टोबर २ मा वीपी कोइरालाको आह्वानमा भारतको पटनाबाट प्रकाशित हुने द सर्चलाइट पत्रिकामार्फत् भारतमा रहेका नेपालीलाई सङ्गठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय सङ्गठन निर्माणका क्रममा नेपाली कांग्रेसको स्थापना भएको हो । विसं. २००३ कार्तिक १५ गते वीपी कोइरालाको सक्रियतामा बनारसमा बस्ने नेपालीहरू सङ्गठित भए । देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामक संस्थाको स्थापना भयो । त्यही वर्षको माघमा भएको प्रथम महाधिवेशनले यसको नाम नेपाली राष्ट्रिय कांग्रेस राखेको थियो । महाधिवेशनले वीपी कोइरालालाई कार्यकारी सभापति र नेपालको जेलमा रहेका टंकप्रसाद आचार्यलाई मानार्थ सभापति चयन ग¥यो । त्यही वर्षको फागुन २० गते विराटनगरमा पहिलोपल्ट गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मजदुर आन्दोलन भयो ।

 

 

विसं. २००४ सालमा सापकोटाको सभापतित्वमा नेपाली राष्ट्रिय कांग्रेसको प्रथम अधिबेशन काशीमा भयो । त्यसले डिल्लीरमण रेग्मीलाई एक वर्षका लागि अध्यक्ष छनोट ग¥यो । रेग्मीलाई अध्यक्ष बनाएलगत्तै २००५ देखि नै कोइराला परिवार र अरूबीचको झैझगडा सुरु भएको मानिन्छ । त्यसैको फलस्वरूप २००५ साउनमा कोलकातामा नेपाली प्रजातन्त्र कांग्रेस स्थापना भयो । त्यतिबेला मातृका गुट नेपाली प्रजातन्त्र कांग्रेसमा विलय भयो । २००६ साल चैत १४ गते नेपाली प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेस कोइराला समूहबीच पार्टी एकता भयो । चैत २७ मा कोलकातामा भएको सम्मेलनले पार्टीको नाम नेपाली कांग्रेस राखेको थियो । नेपाली कांग्रेस गठनलगत्तै पार्टीमा कोइराला परिवारको हाबी बढ्न थाल्यो । छिटफुटबाहेक सबैजसो नेतृत्व कोइराला परिवारमा र शक्तिशाली सङ्घर्षको नेतृत्व पनि कोइराला परिवारले लिएको छ । खासगरी सशस्त्र सङ्घर्ष, शान्तिपूर्ण तथा निर्णायक आन्दोलन यी सबैमा कोइराला परिवारले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

 

नेपालको इतिहास हेर्ने हो भने पनि २०२९ साल भदौ ९ गते वीपी कोइरालाको नेतृत्वमा नेपालमा सशस्त्र सङ्घर्ष भएको थियो । त्यसो त ३० सालको आसपासमा कोइरालाबाट नेतृत्व अरुले लिने प्रयास समेत भएको थियो । त्यतिबेलादेखि नै गणेशमान सिंहसँग कोइराला परिवार निकै डराउँथ्यो । गणेशमानलाई पार्टी नेतृत्वमा आउन नदिनका लागि त्यतिबेला वीपी उपचारका लागि अमेरिका जाँदा कृष्णप्रसाद भट्टराईलाई पार्टीको कार्यवाहक सभापति घोषणा गरिएको थियो । उपचारार्थ गएका वीपी फर्किएपछि फेरि उनैले कांग्रेसलाई हाँके । त्यतिबेला नै भाइ गिरिजाप्रसाद कोइरालालाई पार्टीको महामन्त्रीको रूपमा अगाडि सारिएको थियो ।

 

सत्ता नेतृत्व पनि कोइराला परिवारले नै लिएको छ । २००८ सालमा नेपालमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार समेत गठन भयो । सरकार गठनसँगै मातृकाप्रसाद कोइराला र वीपी कोइरालाबीचको विवादले उग्र रूप लिएपछि फागुनमा हुने भनिएको महाधिवेशन स्थगित भयो । पछि २००९ मा वीपी कोइराला नेपाली कांग्रेसको सभापति भए । विवाद बढेपछि २०१० सालमा मातृकाले राष्ट्रिय प्रजा पार्टी गठन गरेका थिए । २०१२ सालमा सुवर्ण शमशेर पार्टी सभापतिमा छानिए । त्यस्तै १७ सालमा फेरि वीपी सभापति बने भने ०३४ सालमा कृष्णप्रसाद भट्टराई सभापति बने । ०३९ सालमा विपीको निधन भयो । ०४८ सालमा कृष्णप्रसाद भट्टराई फेरि पार्टी सभापति बने भने त्यसलगत्तै विपीका भाइ गिरिजाप्रसादले पार्टीको लगातार नेतृत्व गरे । गिरिजाप्रसादको २०६६ साल चैत ७ मा निधन भएपछि फेरि सुशील कोइरालाले कांग्रेसको नेतृत्व गरे । १२औँ महाधिवेशनले सुशीललाई नै कांग्रेसको सभापति चयन ग¥यो । १३ औँ महाधिवेशनमा नेतृत्व लिने तयारी गरेका सुशीलको अप्रत्याशित निधनले नेपाली कांग्रेसको नेतृत्व शेरबहादुर देउवाकोमा पुग्यो । समयबद्ध साप्ताहिकबाट