निशानाबाट बच्न पनि विप्लव निकट पुगे कतिपय तत्कालीन माओवादी नेता

निशानाबाट बच्न पनि विप्लव निकट पुगे कतिपय तत्कालीन माओवादी नेता

शंकर तिमल्सिना

काठमाडौं । विप्लवको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाउनु हुन्थ्यो, लगाउनु हुँदैन थियो भन्ने बहस अहिले चलिरहेको छ । 


गजब त के छ भने पूर्व एमाओवादीमा रहेर विप्लवको विचार र गतिविधिलाई पहिला सबैभन्दा घृणा र विरोध गर्ने नेताहरुले नै अहिले प्रतिबन्धको विरोध गरेका छन् । भारतको संस्थापनको निकटले पनि यो क्रियाकलापको विरोध गरेका छन् । 


संविधानको दायरामा रहेर राजनीतिक गतिविधि गर्नका लागि सबै पक्षलाई छुट छ र हुनुपर्छ । संविधान मान्दिन भन्न पनि अधिकार पाउनु पर्छ । तर, वार्तामा बोलाउँदा नआउने अनि हिंसात्मक गतिविधिलाई निर्वाध छुट कुनै पनि राज्यले दिदैंन । केपी ओली, माधव नेपाल, वादल, रामचन्द्र पौडेल, विप्लव या अरु कोही भए पनि छुट दिदैंनन् । यति नै बेला यो स्तरको कार्वाही उठाउनु ठीक कि वेठीक भन्ने बहस त होला तर विप्लवलाई राजनीतिक गतिविधिमा आउन, वार्तामा आउन तिनले किन भन्दैनन् ?


विप्लवको नेतृत्वको पार्टीले माओवादी आन्दोलनमा लागेर अकुत कमाएका विरोधमा पनि लाग्ने घोषित नीति बनाएको छ । अब प्रतिबन्धले त्यस्ता कार्वाही उग्र रुपमा तत्काल बढाउँछ भन्ने जो कसैले बुझ्छ । 


यही कारण जनयुद्धकाल र त्यसपछि पनि अपारदर्शी रुपमा अकुत कमाएकाहरु नै गतिविधिमाथिको प्रतिबन्धको उग्र विरोधमा उत्रिएका छन् । जनयुद्धकाल र त्यसपछि पनि अकुत कमाएका देवेन्द्र पौडेल, कृष्णबहादुर महरामार्फत् छोराहरु लगायतको यो कदमको खुलेर विरोध भएबाट धेरैले विप्लवको तत्काल निशानाबाट बच्न टाउको लुकाएको अर्थमा समाजमा चर्चा छ । 

आर्थिक क्षेत्रमा अपारदर्शी भएको अभियोगमा विप्लवको नेतृत्वको पार्टीले आफ्नै पार्टीका नेता प्रकाण्डलाई नै निलम्बन गरेर आर्थिक मुद्धामा कठोर रुपमा आउने संकेत दिइसकेको छ । यो स्थितिमा उसले माओवादीमा लागेर अकुत कमाउनेहरुको विरुद्ध लाग्नेमा विवाद छैन । भ्रष्ट माओवादीका विरुद्ध यसले प्रहारको निशाना बनायो भने धेरै ठूलो माओवादी हिस्साले यो पार्टीलाई नैतिक समर्थन नै गर्छ । विप्लव जस्तो चलाख नेताले यो राजनीतिक लाभ लिने मामलामा के चुक्लान र ? 

माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईको विरोध त राजनीतिक मिशनसँगै जोडिएको छ ।