नेकपा सचिवालय बैठकमा भीम रावल, प्रदीप ज्ञवाली र युवराज खतिवडा पनि सहभागी 

नेकपा सचिवालय बैठकमा भीम रावल, प्रदीप ज्ञवाली र युवराज खतिवडा पनि सहभागी 

काठमाडौं, १७ जेठ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसन (एमसीसी) को विवादमा फसिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा तीन नेता पनि सहभागी भएका छन्। 

एमसीसीलाई लिएर रडाको भएपछि गत माघ मा बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो।

संसदको यही सत्रमा एमसिसी पास गराउने रणनीतिमा रहेका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शनिबार सरकारी निवास बालुवाटारमा सचिवालय बैठक राखेका हुन्। 

उक्त बैठकको प्रमुख एजेण्डा एमसीसी रहेको छ। नेकपामा एमसीसी अमेरिकाको इन्डो प्यासिफिक सैन्य रणनीतिकै अंग हो वा होइन भन्‍ने कुरालाई लिएर तीव्र मतभेद छ। 

यस्तोमा एमसीसीबारे छिनोफानो गर्न नेकपमा कार्यदलका दुई सदस्य भीम रावल, परराष्ट्र मन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडालाई आजको बैठकमा बोलाएको हो। कार्यदलका संयोजक झलनाथ खनाल सचिलाय सदस्य छँदैछन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार परराष्ट्रमन्त्री ज्ञवाली, अर्थमन्त्री डा. खतिवडा र स्थायी कमिटी सदस्य रावललाई आमन्त्रित सदस्यकारुपमा बोलाइएको हो। 

कार्यदलका संयोजक खनाल र रावल एमसीसीको विपक्षमा छन् भने ज्ञवाली केही हेरफेर गरेर पारित गर्नुपर्ने पक्षमा छन्। खनाल र रावलले एमसीसी विरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन्। कार्यदलले पनि यथास्थितिमा एमसीसी पारित गर्न नसकिने प्रतिवेदन बुझाएको छ।