संविधान संशोधनको पक्षमा नेपाली कांग्रेस 

संविधान संशोधनको पक्षमा नेपाली कांग्रेस 

१७ जेठ, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक राति सम्पन्न भएको छ।

शनिवार दिउँसोबाट शुरु भएको बैठक राति १० बजेसम्म जारी रह्यो।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सालाई संविधानको अंग बनाउने कि नबनाउने भन्ने प्रस्तावमा निर्णय लिन केन्द्रीय समितिको बैठक बसेको थियो।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले यसको पक्षमा मत हाल्नका लागि प्रस्ताव पेश गरेका थिए। बैठकको अन्त्यमा सभापति शेरबहादुर देउवाले संसदीय दललाई प्रस्तावको पक्षमा मत हाल्न निर्देशन दिएका हुन्।


बैठकले संविधान संशोधनको पक्षमा मत दिन निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शर्माले कांग्रेसको इतिहास स्मरण गराउँदै यसपटक पनि देशको पक्षमा पार्टी रहेको बताए।

नेपाली कांग्रेसको यो निर्णयसँगै नेपालको नयाँ नक्साका सम्बन्धमा सम्भवत आइतवार सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गर्नेछ । नेपाली कांग्रेसका सभापतिले केन्द्रीय समितिको वैठकसम्म पर्खन आग्रह गरेकाले संविधान संशोधनको प्रस्ताव सरकारले रोकेको थियो ।