'लकडाउनलाई सत्ता टिकाउने झेल र घनीलाई थप घनी बनाउने खेल नबनाइयोस् '

'लकडाउनलाई सत्ता टिकाउने झेल र घनीलाई थप घनी बनाउने खेल नबनाइयोस् '

काठमाडौं, १८ जेठ । 

सरकाले कोभिड–१९ भाइरस नियन्त्रण, रोकथाम तथा थप संक्रमण फैलिन नदिन लकडाउन निरन्तर थपिरहेकोप्रति बिभिन्न ब्यक्तिहरुले मिश्रित प्रतिकृया दिएका छन् । कसैले लकडाउन खुकुलो पार्दै लैजानु पर्ने जनाएका छन् भने केहीले कोरोना अतिप्रभावित क्षेत्रमा लकडाउन कडा पार्नुपर्ने र अन्य स्थानमा भने खुकुलो पार्नुपर्ने धारणा ब्यक्त गरेका छन् । कतिपयले सरकारले लकडाउनको बिकल्प बारे केही नसोची निरन्तर लकडाउन थपिरहुनुलाई सरकारको नालायकीपनाको संज्ञा दिँदै सामाजिक सञ्जालमा बिरोध जनाएका छन् । 

यसै सन्दर्भमा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा पूर्व अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेले लकडाउनको अन्तिम परिणाम धनीलाई थप धनी बनाउने र गरिबलाई खानै नदिएर मार्ने एवं पागल बनाएर जीवन सिध्याउने खेल भएको उल्लेख गरेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'कोरोना महामारीको यो अवधीमा संसारका ६३० विलियनरीहरुले आफ्नो सम्पत्तिमा ४०६ विलियन अमेरिकी डलर थपेर थप धनी बनेका तथ्य सार्वजनिक भएको भन्दै लेखेका छन्, नेपालमा पनि लगभग त्यस्तै भएको छ । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, स्वास्थ्य सामग्रीमा भएको कालो बजारी, जम्मा २ जना संंक्रमितको उपचारमा १ करोड ५३ लाख खर्च देखाउनु आदि तथ्यले धनीलाई थप धनी बनाएको देखिन्छ । '

उनी लेख्छन्, 'कम्युनिस्ट नेतृत्वको शक्तिशाली सरकारले हालै ल्याएको बजेट पनि धनीलाई थप धनी बनाउने र गरिबलाई मरेमर् भन्ने खालको छ । जस्तो अति गरिबी र गरिबीको रेखामुनी रहेका जनतालाई यो अवधीको पानी, बिजुलीलगायत शुल्क मिनाह गर्ने वा यो अवधीमा बाच्नका लागि प्रतिव्यक्ति एकमुष्ठ १० हजार राहत उपलब्ध गराउने भनेर घोषणा गर्न चाहेन तर धेरै विद्युत खर्च गर्ने उद्योगलाई बिजुली शुल्क मिनाह र बैंक व्याजमा सहुलियतलगायत घोषणा गर्यो, किन ? ' 

दश हप्ताको लामो लकडाउनले न कोरोना रोक्न सक्यो, न तीब्रतामा संक्रमित पत्ता लगाएर उपचार गर्न नै सक्यो भन्दै उनी सरकारलाई आग्रह गर्छन्, 'लकडाउनलाई सत्ता टिकाउने झेल र घनीलाई थप घनी बनाउने खेल नबनाइयोस् । '

उनले लकडाउन मात्र थपेर गरिबहरु बाँच्ने कसरी हो ? भन्दै सरकारसँग प्रश्न पनि गरेका छन् ।