झिल्को प्रभाव : 'बी एण्ड बी' अस्पतालले मूल्यवृद्धि फिर्ता लियो
काठमाडौं, १८ जेठ ।
बी एण्ड बी अस्पतालले लकडाउनको बीचमा गरेको स्वास्थ्यकर्मीहरुको तलब कटौती र अस्पतालको विभिन्न टेस्टको मूल्य वृद्धि सम्बन्धी समाचार झिल्कोले प्रकाशित गरेपछि बाहिर थाहा नदिने शर्तमा आकस्मिक रुपमा ब्यबस्थापन र बिभिन्न विभागीय प्रमुखहरुको बैठक बोलाई मूल्यवृद्धि फिर्ता लिएको छ ।
साथै, कर्मचारीको अस्वाभाविक रुपमा घटाएको तलब पनि पाँच प्रतिशत मात्रै घटाउने मौखिक निर्णय भएको कर्मचारीहरुले झिल्कोलाई बताए ।
अस्पतालले तलब घटाएपछि शनिबार आकस्मिक रुपमा अस्पताल र कर्मचारी संघको पनि बैठक बसेको थियो । उक्त बैठकले महामारीको समयमा डाक्टर ,नर्स र अन्य अस्पताल कर्मचारीको तलब सुविधा घटाउनु, बेतलबी बस्न कर गर्नु र कसैलाई तलब नै नदिने गरी आन्तरिक निर्णय गर्नुले आम कर्मचारीको अपमान भएको र पुरानै तलब तथा सेवा सुबिधा कायम नहुँदासम्म कर्मचारीले चित्त बुझाउन नहुने विषयमा छलफल भएको जनाइएको छ ।
आइतबार अपरान्ह अस्पताल ब्यबस्थापन समक्ष कर्मचारीहरुले आफ्ना मागहरुसहित ज्ञापनपत्र बुझाउन लागेको एक स्वास्थ्यकर्मीले बताए । उनले भने, 'कर्मचारीहरुको पक्षमा निर्णय नभए आजै कर्मचारीको समूह श्रम कार्यालय जानेछ।'
केही कर्मचारी ब्यबस्थापनको चाप्लुसीमा लागे पनि करिब छ सय कर्मचारी अन्यायका बिरुद्धमा रहेको उनको भनाइ छ ।
यस्तो अबस्थामा डाक्टर ,स्वास्थ्यकर्मी र कर्मचारीको आत्मबल उच्च बनाउने कार्यमा भूमिका खेल्नुपर्नेमा उल्टै मनोवल कमजोर बनाइएको लेखा शाखाका अर्का कर्मचारीले बताए । यस बिषयमा ब्यवस्थापन निकटका ब्यक्तिसँग झिल्को प्रतिनिधिले प्रतिक्रिया लिँदा काम गर्ने सिलसिलामा केही गल्ती, कमजोरी भएको उनले स्वीकारे ।
नर्सिङ सङ्घले निकाल्यो बिज्ञप्ति
नेपालका हजारौं नर्सहरुको छाता सङ्गठन नेपाल नर्सिङ सङ्घले विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरुको तलब तथा सेवा सुबिधा कटौतीको बिरुद्धमा विज्ञप्ति निकालेको छ। सङ्घले कठिन परिस्थितिमा नर्सहरु आफ्नो जीवन जोखिममा राखेर नागरिकहरुको सेवामा लागेको वेला नर्सहरुलाई हतोत्साहित हुने कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको छ।
सम्बन्धित समाचार तलको लिंकमा पढ्नुहोस,
लकडाउनको मौका छोपी 'वी एण्ड वी' अस्पतालमा ब्रम्हलुट
स्वास्थ्य स्वास्थ्यकर्मीहरुको तलब कटौतीप्रति नर्सिङ संघको आपत्ति
प्रतिक्रिया