कहाँ चुक्दैछन मधेस केन्द्रित दलका नेताहरु ?
जनकपुर, १८ जेठ । छिमेकी मुलुक भारतको हेपाहा प्रवृति र अतिक्रमण विरुद्ध दृढतापुर्वक उभिएको सरकारले आज संविधान संशोधन विद्येयक प्रतिनिधिसभाको वैठकमा पेश गर्दैछ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले जारी गरेको नक्सालाई निशान छापमा अद्यावधिक गर्न आज बस्ने प्रतिनिधिसभाको वैठकमा संविधान संशोधन विधेयक पेश हँुदैछ । गत बुधवार नै विधेयक प्रस्तुत गर्ने कार्यसूची रहे पनि सरकार सबै दलको सहमतिको आधारमा अघि बढ्ने भन्दै समय मागेपछि कार्यसूचीबाट हटाइएको थियो । तर, आज बस्ने प्रतिनिधिसभाको वैठकमा सरकारले उक्त विधेयक पेश गर्ने कार्यसूची तय गरिएको छ ।
सरकारले टेबल गर्न लागेको विधेयकलाई समर्थन गर्दै त्यसको पक्षमा उभिने प्रमुख प्रतिपक्ष दल काँग्रेसले निर्णय लिएपछि विधेयक दुई तिहाईले पारित हुने करिब करिब निश्चित भएको छ । मुलुकको प्रमुख दुई ठूला दलहरु विधेयकको पक्षमा उभिदा मधेश केन्द्रीत दल अलमलमा परेका छन् । उसले अहिलेसम्म यस विषयमा निर्णय लिन सकेका छैनन् ।
सरकारले नयाँ नक्सा अद्यावधिक गर्न संविधान संशोधनको तयारी गर्दा आफूहरुले उठाएको सबालमा पनि संबिधान संशोधन गर्नुपर्ने जनता समाजवादी पार्टीका नेताहरुले कुरा उठाउँदै आएका छन् । जनता समाजवादी पार्टीका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुसँग भेटेर आफूहरुको सबालमा पनि संविधान संशोधनका लािग पहल गरिदिन आग्रह गरेका थिए, तर काँग्रेसले राष्ट्रियतासँग जोडिएको विषयमा हुने संविधान संशोधनको पक्षमा जाने निर्णय गरेका छन् । जसका कारण दुई दल मिलेर एकताको घोषणा गरेका जनता समाजवादी पार्टीका नेताहरु एक्लिएका छन् । ती दलले अब कुन बाटो राज्ने हो भन्ने चासोको विषय बनेको छ ।
त्यसो त बाहिर एकताको घोषणा गरे पनि बैधानिक रुपमा एक नभएका ती दुई दलका नेताहरुको यो विषयमा पुरानै दलगत धारणाहरु सार्वजनिक भइरहेका छन् । समाजवादी पार्टीका नेताहरुले अन्तिम समयसम्म आफ्नो विषयमा पनि संविधान संशोधन गर्न दबाब दिने नभए पनि सरकारले ल्याएको प्रस्तावको पक्षमा उभिने बताइरहेका छन् भने राष्ट्रिय जनता पार्टीका नेताहरुले आफूहरुको विषयमा संविधान संशोधन गर्न हदैसम्मको प्रयास गर्ने नभए कि त सरकारी विधेयकको विपक्षमा उभिनुपर्ने कि त मौन बस्नुपर्ने अडान राख्दै आएका छन् । यसरी हेर्दा करिब करिब रातारात फुटको डरले एकता घोषणा गरेका ती दुई दलबीच यो विधेयकका कारण दुरी बढ्ने सम्भावना देखिन्छ । दुई पार्टीका शीर्ष नेताहरुको पद र शक्तिमा कुरा नमिल्दा अन्यौलमा परेको एकता प्रक्रिया यही विधेयकको विषयका कारण बिथोलिने जोखिम रहेको विश्लेषकहरुको भनाइ छ । बोलीमा एउटा र व्यवहारमा अर्काे देखिने खासगरी राजपाका नेताहरुको लागि यतिबेला यो विधेयकको विषय अग्नि परिक्षा भएको टिप्पणी हुन थालेको छ ।
वाहिर राष्ट्रियताको पक्षमा ठूलो कुरा बोल्ने तर देशको राष्ट्रियता खतरामा पर्दा मौन बस्ने राजपा वा जनता समाजवादीका नेताहरुका लागि यतिबेला सही परिक्षाको घडी भएको विश्लेषकहरुको भनाइ छ । समाजवादी पार्टी र राजपाले उठाएको संविधान संशोधनको मुद्दा पुरानो भए पनि यतिबेला उपयुक्त समय नभएको भन्दै टिप्पणी भइरहेको छ । “जनता समाजवादी पार्टीले उठाएको संविधान संशोधनको मुद्दा लामो समयदेखि उठ्दै आएको छ” राजनीतिक विश्लेषक तथा पत्रकार राजेश अहिराजले भने, ‘‘तर यतिबेला राष्ट्रियतालाई बलियो बनाउन र भारतीय पक्षले देखाएको हेपाहा प्रवृतिको विरुद्धमा सबै दल र नागरिकहरु एक भएर उभिनुपर्ने बेलामा आफूहरुको विषयमा संविधान संशोधन गर्नुपर्छ भन्दै अड्को थाप्ने काम गर्नु हुँदैन ।” अहिले सरकारले सार्वजनिक गरेको नक्सालाई संबैधानिक बनाई राष्ट्रियताका विषयलाई बलियो बनाउन सबै मिलेर संविधान संशोधन गरौं, त्यसपछि अन्य असन्तुष्ट विषयहरुमा संविधान संशोधन गर्दा उपयुक्त हुने उनको तर्क छ । “राष्ट्र रहेमात्र हामी रहन्छौं, अर्थात नेपाल रहेमात्र हामी नेपाली रहन्छौं भन्ने कुरा सबैले बुझ्नु जरुरी छ” विश्लेषक अहिराजले भने, “पार्टी र सरकार जलाउने विषयमा दलहरुबीच पक्ष विपक्ष हुन सक्छ, तर राष्ट्रियताको विषयमा पक्ष र विपक्ष हुँदैन यसमा सबै नेपाल एक हो भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।”
सत्तामा आज एउटा पार्टी छ, भोलि अर्काे पार्टी आउन सक्छ, तर अरु देशले गरेको हस्तक्षेप कुनै एउटा दलमाथि मात्रै होइन, सम्पूर्ण नेपालीमाथिको हस्तक्षेप भएकाले यो राष्ट्रियताको सबाल कुनै प्रकारको अड्को थाप्ने कार्य देश र जनताको विरुद्धमा हुने उनकोे बुझाइ छ । सरकारसँग असन्तुष्टि हुनसक्छ, संविधानको केही कुराहरुमा असन्तुष्टि हुनसक्छ तर नेपालको राष्ट्रियतामा कसैको असन्तुष्टि हुन सक्दैन । सरकारले बनाएको नयाँ नक्सा कुनै एउटा दल वा पार्टीको मात्रै नक्सा होइन, यो सम्पूर्ण नेपाली जनताको नक्सा हो, यसलाई सबैले निःशर्त समर्थन गर्नुपर्ने वुद्धजीवीहरुको तर्क छ ।
राजनीतिकमा लामो अनुभव भएका नेताहरु रहेको समाजवादी पार्टी र राजपाले राष्ट्रियताको यो सवाल चुक्नु हुँदैन । अहिले चुक्यो भन्ने भोलि ती दलका नेताहरुको राष्ट्रियतामाथि प्रश्न उठ्न सक्छ । अहिले आएको संविधान संशोधन विधेयक कुनै राजनीतिक दलको वा एउटा पक्षको नभएकाले यसलाई समर्थन रहे संविधान संशोधन गराउन सक्यो भन्ने मधेश केन्द्रीत ती दुई दलप्रति देश र जनताको विश्वास अझै बढ्न सक्छ अन्यथा जनताको विश्वास गुमाउँछ । अहिले यो विषयको विपक्षमा गए ती दलको राजनैतिक बैधानिकता रहन्छ होला तर सामाजिक बैधानिकता यिनीहरुको गुम्ने निश्चित छ । जुन दल अहिले यो विधेयकको विपक्षमा जान्छ भोलि जनताले उनीहरुमाथि राष्ट्रियताको प्रश्न उठाउन सक्छ, त्यतिखेर जवाफ दिने ठाउँ रहदैन । विधेयकको विषयमा मौन बस्यो भने पनि जनताको विश्वास गुमाउन सक्छ । त्यसैले ती दुई दलका नेताहरुमाथि राष्ट्रियताको सबाल उठाउनेहरुलाई गतिलो जवाफ दिने अवसर पनि यही हो, त्यसैले सरकारले ल्याएको अहिलेको संविधान संशोधन विधेयकको पक्षमा उभिएर पारित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पनि जरुरी छ । त्यसैले समाजवादी र राजपाका नेताहरु यो विषयमा मौन बसेर वा विपक्षमा जाने कुरा गरेर चुकिरहेका छन् । त्यही भएर ती दुई दलले अहिले लिने निर्णयले उनीहरुको भोलिको भविस्यलाई निर्धारण गर्नेछ । तसर्थ यो विषयमा दुबै दल गम्भीर भएर चुक्नुु हुदैन ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया