सर्लाहीको विष्णु गाउँपालिकामा सशस्त्र प्रहरी र भारतीयबीच झडप

सर्लाहीको विष्णु गाउँपालिकामा सशस्त्र प्रहरी र भारतीयबीच झडप

सर्लाही, १८ जेठ । नेपाल–भारत सीमास्थित सर्लाहीको विष्णु गाउँपालिका–२, पकडीमा आइतबार बिहान सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

आइतबार बिहान पौने ६ बजेतिर भारतीय व्यापारीहरू व्यापार गर्न भन्दै जबरजस्ती नेपालतर्फ प्रवेश गर्न खोजेपछि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले रोक्न खोजेका थिए । त्यस क्रममा सशस्त्र प्रहरीले आफूहरूमाथि दुर्व्यवहार गरेको भन्दै व्यापारीहरूले भारततर्फका ३०(३५ जना गाउँले उठाएर सीमामा ल्याई सशस्त्र प्रहरीमाथि नै आक्रमण सुरु गरे ।

हुल बाँधेर सीमामा आएका भारतीयहरूले यस्ता हतियार हामीसँग पनि छन् भन्दै गस्ती गरिरहेका छ जना सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गरेका सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गङ्गाराम श्रेष्ठले बताए । भारतीयहरूले ढुङ्गामुढा गरी हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको थियो ।

अहिले स्थिति सामान्य भइसकेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । 'यहाँको अवस्था अहिले सामान्य छ, म आफै यहाँ आइपुगेको छुु', श्रेष्ठले भने 'फेरि विवाद हुन नदिन भारतीय सुरक्षा बल (एसएसबी) सँग समन्वय भइरहेको छ ।'

सीमामै जोडिएको विष्णु गाउँपालिकाका स्थानीय खुला सीमा हुँदै किनमेलका लागि भारततर्फ जाने र भारतीयहरू पनि व्यापार व्यवसाय गर्न नेपालतर्फ आउने गर्छन् । कोरोना भाइरसको रोकथाम गर्न गरिएको लकडाउनपछि भने सीमामा आवतजावत ठप्प छ । तर पनि लुकीछिपी तस्करहरूले खोला खोल्सी एवम् खेतबारी हुँदै सामान ओसारपसार गरिरहेका स्थानीय बासिन्दा बताउँछन् ।

लकडाउनले गर्दा नेपालतर्फ सामान ल्याउन नपाएपछि आइतबार बिहानै भारतीय पक्षले सीमामा आएर विवाद गरेका हुन् । सर्लाही खण्डमा पर्ने ५१ किलोमिटर खुला सीमाबाट समान भित्र्याउन भारतीय पक्षले ठाउँ–ठाउँमै विवाद गर्दै आएका सुरक्षा स्रोतले जनायो ।