अमेरिकमा हिंसात्मक झडप, विभिन्न शहरमा कर्फ्यू

अमेरिकमा हिंसात्मक झडप, विभिन्न शहरमा कर्फ्यू

काठमाडौं । जोर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी गरिएको छ । देशभरि आयोजित विरोध प्रदर्शन नियन्त्रण गर्न दंगा प्रहरीलाई खटाइएको छ । प्रहरीको सवारीसाधनमा आगो लगाइएपछि उनीहरूले अश्रुग्यास र रबरका गोली प्रहार गरेका छन् ।
 
राष्ट्रपति डोनल्ड ट्रम्पले “लुटेरा र अराजकहरू“ले हिंसा फैलाएको आरोप लगाएका छन् । गत सोमवार मिनीयापलिसमा अफ्रिकी अमेरिकी समुदायका ४६ वर्षीय फ्लोइडलाई प्रहरीले समातेपछि उनले ज्यान गुमाएका थिए । डेरेक शौभिन नामक ४४ वर्षीय पूर्वप्रहरीलाई हत्याको आरोपमा पक्राउ गरिएको छ । उनी घटनापछि पदमुक्त भएका थिए । उनलाई सोमवार अदालतमा पेस गरिनेछ ।

इन्टरनेटमा भाइरल बनेको एउटा भिडिओमा शौभिनले फ्लोइडको घाँटीमा धेरै मिनेट घुँडाले टेकेर थिचेको देखिन्छ । फ्लोइडले बारम्बार आफूलाई सास फेर्न गाह्रो भएको बताएको पनि सुनिन्छ । घटनास्थलमा उपस्थित अन्य तीन प्रहरी पनि पदमुक्त भएका छन् । बीबीसी