खबरदार ! जातीय विभेद अब सैह्य छैन

खबरदार ! जातीय विभेद अब सैह्य छैन

सन्तोष परियार

अमेरिकामा केही दिन अघि एउटा गोरो वर्णको प्रहरी एक कालो वर्णको मानिसलाई घाँटीमा घुँडाले अँठ्याएर राख्यो, जसको कारण त्यो मानिसको मृत्यु भयो । समाचार सबै मिडियामा आए । पढेर हामीले अचम्म मान्यौं । तर आफ्नै देशमा जातको आधारमा, जातीय विभेदका कारण मान्छे मारिँदा हामीलाई केही भए जस्तो लाग्दैन । किनकी त्यो हाम्रो दिमागमा सानैबाट फिट गरिएको छ, त्यो पनि कोची कोची बाह्रै महिना सातै दिन ।

जहाँ आफूलाई उच्च जात मान्ने केही समुदायले अर्को एउटा समुदायलाई तल्लो जातहरुको समुदाय मानिरहेको छ भने त्यो अछुत भनिएको समुदायले अर्थात, वर्तमान सन्दर्भमा दलित समुदायले हामी कसरी तल्लो जात ? मान्छे मान्छे त एउटै होनी अनि हामीलाई विभेद किन ? भन्दै प्रश्न गर्दै प्रतिरोध गरिरहेको छ ।

यहाँनेर बडो पिँडा मिश्रित हाँसोकासाथ यो पंक्तिकारलाई के भन्न मन लाग्यो भने तिनै उच्च जात भनिएकाहर हिजोका दिनमा जे भयो भयो, आजको समयमा जातीय विभेद गलत हो भन्नुको सट्टा स्पष्टीकरण दिइरहेका छन् । उनीहरु (कु)तर्क गरिरहेका छन् । आफैँले आफैँलाई पहिला दलित भन्न छोड भन्दछन् । के दलित भन्ने बित्तिकै तिमीले हामीलाई कुल्चने अधिकार पायौ र ? अनि भन्दैछन्, तिमीहरुले दलितको नाममा आरक्षण पाउने अनि हामीेले हेप्यो भन्ने ?

महाशय, आरक्षण पायो भनेर के तिमीले हामीलाई मार्ने अधिकार प्राप्त गरेको हो ? कसले दियो तिमीलाई हाम्रो समुदायलाई कुल्चने अधिकार ? कसले दियो तिमीलाई हाम्रो मृत्युको निर्णय लिने अधिकार ? हामीलाई जुनसुकै नामले बोलाउ हामीलाई पिडा हुँदैन । तर त्यसमा सम्मानको सुगन्ध हुनुपर्छ । तर अपमानको दुर्गन्ध मिसाएर अबका दिनमा बोलाइन्छ भने माफ गर्नुहोला हामी जदौ गर्न असमर्थ छौं ।
म पशु होइन, हामी पशु होइनौं, हामी पनि मान्छे नै हौँ । मान्छेलाई मान्छे जस्तो व्यवहार गरिदेउ भन्न खोजेको हो ।  प्रमाणित गर्न खोजेको यत्ति हो । त्यसमा पनि आपत्ति ? कस्तो समाज हो यो ? कस्तो निर्दयी मनहरु । कुन शताब्दी हो यो ? के हामी साँच्चै २१ औँ शताब्दीमा बाँचीरहेका छौं ? अब त शंकै लाग्न थाल्यो ।

यो देशमा गणतन्त्रको घोषणा भएको पनि १२ वर्ष पुगिसक्यो । यस बीचमा थुप्रै घटनाहरु घटे । जहाँ मान्छे मारिएका छन् । मुखमा मानव मल कोचिएको छ, गाउँबाट लखेटिएको छ, बलात्कार गरि मारिएको छ । विवाह गरेकोलाई छुट्ट्याइएको छ, केवल जातका नाउँमा । भित्रभित्रै कति घटना घटाइएको छ केवल जातको नाउँमा, छुवाछुतको नाउँमा । तिमीहरु हाम्रो छोरी चेली फँसाउने ? हाम्रा छोरा भाई फँसाउने ? आफ्नो औकात बिर्सिने ? हामीले भनेको नमान्ने ? जस्ता कुराहरु ओकल्दै र यस्ता कारणहरु तेर्साउँदै ।

हिजोको अवस्थामा अज्ञानताको उपज थियो भन्ने कुरा हामीले बुझ्न सक्छौं । तर के हामी हजारौं वर्षदेखि अन्यायमा परेका पुर्खाका सन्तानले मात्रै बुझेर हुन्छ ?  तिमीहरु पनि पढेलेखेका छौ, अनि तिमीहरुले बुझ्नु पर्दैन ? तिम्रा पुर्खाले हाम्रा पुर्खालाई हिजोका दिनमा अन्याय गरेकै हो भनेर पश्चाताप सहित अबका दिनमा यस्ता विभेद नगरौं । अब पनि अन्यायलाई निरन्तरता नदिउँ । बरु हजारौं वर्षदेखि उत्पीडनमा परेको यो समुदायलाई अगाडी बढ्न सहयोग गरौं र प्रोत्साहित गरौं भन्न किन नसक्ने ?

अझ व्यक्ति र समाजले गर्ने काम राज्यले गरिदिंदा, आरक्षण कोटा तोकिदिँदा तिमीहरुलाई यत्रो रिस ? यत्रो डाहा ? हजारौं वर्षदेखि शोषणको मार खेपेको यो समुदायले अलिकति सहुलियत पाउँदा तिम्रो दिमागमा दन्दनी आगो बल्नुपर्ने ? खास कुरा यही हो कि, गर्दै आएको राइँदाइँ कसैले छोड्नै चाहँदैनन् । जब तर्कले जित्न सक्दैनन् अनि ओय दमाई, कामी, गाईने, सार्की बढि बोल्छस् ? आफ्नो औकातमा बस बुझिस्, म त काजी, बाबु साहेब, यो खानदानको, उ खानदानको भन्दै ठुला ठुला कुरा गर्न थाल्छन् ।

दुःखको कुरा के छ भने यिनको एक आह्वानमा उच्च जातीय अहंकारले भरिएका भीडले यिनको साथ दिन्छ । त्यो भीडको बस् एउटै सोचाई हुन्छ, हाम्रो इज्जत जान दिन हुन्न, यिनलाई माथि उठ्न दिन हुन्न दबाएरै राख्नुपर्छ । अर्थात, उनीहरु सही होस् या गलत उनीहरुलाई जित्नै छ । उच्च जातीय अहंकारलाई सन्तुष्ट पार्नु छ ।

त्यसैले अब हामी प्रतिरोधका लागि तयार हुनैपर्छ । र त्यसका साथसाथै समानान्तर रुपमा आफूलाई पनि सच्याउँदै लैजानु पर्छ । हामीलाई उनीहरुले हेप्छन् किनकी हामी परनिर्भर छौं । बच्चाको विद्यालयको शुल्क तिर्न आनाकानी तर रक्सीको लागि पैसा पुगेकै हुन्छ । हामी आफ्नै बीचमा विश्वकर्मा, परियार, गन्धर्व, बादी, नेपाली भनेर विभाजित छौं, आफै भित्र विभेद गर्छौं । त्यसैले आउनुहोस् हातेमालो गरौं, सबै मिली एकअर्कालाई सहयोग गरौं ।

समाजमा हुने हरेक गलत गतिविधिको विरोध गर्दै हाम्रा मान्छेहरुलाई नेतृत्व लिन सक्ने वातावरण सिर्जना गरौं । राज्यको हरेक तह र तप्कामा हाम्रो समुदायको पहुँच पुर्याउनका लागि शिक्षामा विशेष ध्यान पुर्याऔँ । सबैमा यही विशेष अनुरोध छ कि, यो २१ औं शताब्दीमा पनि मान्छे भएर जन्मेपछि मान्छे जस्तो भएर बाँच्न पाइयोस् र त्यसका लागि मानवताको भाव बोक्ने हरेकलाई ऐक्यबद्धता जनाउन हार्दिक अनुरोध गर्दछु ।

अन्यथा अब कुनै पनि रुपमा गरिने जातीय विभेद हामी ६०/७० लाख दलित समुदायलाई सैह्य छैन । धेरै खाइयो समाज सुधारको ललिपपु हामीसँग अब आफ्नो अस्थित्व जोगाईराख्न मानवरुपी दानवहरुसँग भिड्नु बाहेक अरु विकल्प बाँकी रहेन ।