जी ७ को बैठक किन भयो स्थगित ?

जी ७ को बैठक किन भयो स्थगित ?

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को शिखर सम्मेलन कम्तीमा आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गरेका छन् । यही जुनको अन्त्यतिर हुनेगरी यसअघि तय भएको शिखर सम्मेलनको मिति कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको हो । सम्मेलनमा उनले भारत, रसिया, दक्षिण कोरिया र अस्ट्रेलियालाई पनि निमन्त्रणा गर्ने पनि जानकारी दिए । अहिले जी ७ को संरचना नै पुरानो र असान्दर्भिक भइसकेको पनि राष्ट्रपति ट्रम्पले बताएका छन् । 

 

 सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले अहिले संसारमा उत्पन्न भइरहेको संकट जी ७ समूहले सम्बोधन गर्न नसक्ने पनि बताए । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरु संयुक्त राज्य अमेरिका, जापान, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडा जी ७ मा सदस्य राष्ट्र हुन् । यो शिखर सम्मेलन यही जुन १० देखि १२ तारिखसम्म अमेरिकाको वासिङटन डिसीमा हुने तय भएको थियो । जी ७ को अध्यक्षता सातै वटा मुलुकले आलोपालो गर्ने प्रचलन छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता अलिस्सा फराहले अमेरिकाका परम्परागत मित्र राष्ट्र सहित कोरोना भाइरसबाट प्रभावित राष्ट्रहरुलाई राष्ट्रपति ट्रम्पले समेट्न चाहेको बताउँदै बैठकमा चीनको भविष्यका बारेमा पनि छलफल हुने जानकारी दिए । जर्मन चान्सलर एन्जेला मर्केलको कार्यालयले जर्मनीमा कोरोना भाइरसको प्रसार नरोकिएसम्म चान्सलर मर्केल जी ७ को बैठकमा उपस्थित हुन नसक्ने जनाए लगत्तै ट्रम्पले बैठक स्थगित गरेको घोषणा गरेका हुन् । 

राष्ट्रपति ट्रम्पले जी ७ को संरचनामा फेरबदल गरी रसिया, भारत, दक्षिण कोरिया र अस्ट्रेलियालाई सामेल गर्ने प्रस्ताव गरेका छन् । तर क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रसियालाई जी ७ मा पुनः प्रवेश गराउने विषयमा आपत्ति जनाएका छन् । रसियालाई सन् २०१४ मा जी ७ को सदस्यबाट हटाइएको थियो ।  रासस/एएनआई