अमेरिकी बामपन्थी समूह ‘अन्टिफा’लाई आतंकवादी घोषणा गर्ने योजनामा ट्रम्प

  अमेरिकी बामपन्थी समूह ‘अन्टिफा’लाई आतंकवादी घोषणा गर्ने योजनामा ट्रम्प

काठमाडौ ।अश्वेत नागरिकको हत्याले अमेरिका भर नश्लवाद विरोधी प्रदर्शन हिंसात्मक भइ फैलिन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  त्यहाँको बामपन्थी समूह ‘अन्टिफा’लाई आतंकवादी समूह घोषणा गर्ने योजना बनाउन थालेका छन् ।

अर्कोतर्फ अमेरिकाको प्रतिपक्षी दल डेमोक्रेट्सका नेता तथा सहयोगीहरूले अमेरिकाका गल्ली गल्लीमा फैलिएको अराजकताको जिम्मेवार रूस रहेको बताउन थालेका छन् ।

हालै मात्र पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकार रहेकी सुसन राइसले यो हिंसात्मक प्रदर्शनको पछाडि रूसको हात रहेको बताएकी छिन् ।

पाँच दिन अघि अमेरिकी शहर मिनियापलिसमा जर्ज फ्लोड अफ्रिकी अमेरिकीको प्रहरीद्वारा हत्या भएदेखि त्यसको विरोधमा शुरू भएको यो  प्रदर्शन लगातार अमेरिकाभर फैलिँदै गएको हो ।

श्वेत वर्चस्ववादी अमेरिकी सत्ताको विरोधमा फैलिएको यो विरोध प्रदर्शनको क्रममा बामपन्थी समूह ‘अन्टिफा’का मिलिसिया सक्रिय रहेको आरोप लगाइ राष्ट्रपति ट्रम्प र न्याय विभागले त्यो संगठनलाई आतंकवादी घोषणा गर्ने योजना बनाइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

तर पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारले यसमा सही खलनायक रूस रहेको बताएकी हुन् । उनले सीएनएनलाई दिएको एक अन्तर्वार्तामा यस्तो बताइन् ।

तर ट्रम्पले यो हिंसात्मक प्रदर्शनको पछाडि रूस रहेको कथन प्रति आपत्ति जनाएका छन् । उनले सीएनएनलाई फेक न्युज प्रसारण गर्ने गरेको भनी ट्विट गरेका छन् ।