बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु 

बाँकेमा सवारी दुर्घटना, १२ जनाको मृत्यु 

दाङ, १९ जेठ ।  बाँकेमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।  उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी बरीष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । 

आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो।  घाइते २१ जनाको भेरी अस्पतालमै उपचार भइरहेको छ। घाइते मध्य ५ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ।  दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए। नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो।

ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राती सवा १२ बजे हाइस दुर्घटनामा परेको हो।मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ।