मैले पनि थाहा पाएँ विप्लवजीहरुले मलाई मार्दै छन् रे : प्रचण्ड
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नकेपा अध्यक्ष प्रचण्डले आफूलाई मार्नका लागि विप्लव समूहले कार्यकर्ताहरु खटाएको सूचना प्राप्त भएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आज वाइसीएलले आयोजना गरेको शहीद परिवार सम्मान कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ”मलाई नै एक नम्बरमा मार्न खोजिरहनु भएको छ रे, मलाई मार्न उहाँहरुले केही साथीहरु पनि खटाउनु भएको छ रे ! मलाई ती साथीहरु देख्दा दया मायाँ लाग्छ ।”
कार्यक्रममा प्रचण्डले भने, ”प्रचण्ड बन्छु भनेर हिड्या पनि होइन । हिँड्दै मलाइ जनताले प्रचण्ड बनाइदिए । अब एकै पटक यो देशमा दुई वटा प्रचण्ड जन्मिन सक्दैन । प्रचण्डकै नक्कल गरेर प्रचण्ड हुन्छु भन्यो भने त्यो भ्रम हो । त्यो भ्रमले कहीँ पनि पुगिदैन । मैले हिजोका साथीहरुलाई लगातार यो सल्लाह दिइराख्या छु ।”
यस्तो छ प्रचण्डले गरेको भाषण
आज बिहान सरकारतर्फबाट मलाई पनि जानकारी गराइयो मलाई उहाँहरुले मार्ने योजना बनाउनु भएको छ रे ! के भा होला साथीहरुलाई ?
मलाई मारेर यो संघीय लोकतान्त्रिक गणतन्त्र, त जाँदैन । क्याविनेटमा भनेको कुरा त तपाईहरुले पत्रपत्रिका, अनलाइन फेसबुकमा पनि हेर्नुभयो होला । राज्यले गर्ने कुरा त ऐन कानून संविधान अनुसार गर्छ । तर मुख्य कुरा त हामीले परिस्थितिलाई ठीक ढंगले बुझ्ने, मूल्याङ्कन गर्ने र विश्लेषण गर्ने कुरा हो । परिस्थिति अनुसार बढ्ने कुरा हो । म यतिबेला महान् शहीद र उनीहरुका परिवार, घाइते, आपाङ्ग तथा बेपत्ता योद्धाहरुको योगदानलाई स्मरण गर्दै विप्लवजीहरुलाई आग्रह गर्छु कि तपाईहरु एक पटक निधार खुम्च्याएर सोच्नुहोस् । परिस्थिति बुझ्नुहोस् । अहिले नितान्त २०५२ साल जस्तो परिस्थिति छैन ।
यो २०७५ साल हो । ठूलो परिवर्तन हाम्रै कारणले आएको छ । यसलाई उल्ट्याउने भनेको फेरि नेपाललाई निरंकुशतातर्फ लैजानु हो ।
हामीले काम त गर्नु पर्ने धेरै छ तर निरास हुनुपर्ने अवस्था छैन । हाम्रो कान्तिका सबै सपना पूरा भएका छैनन् । हामी समाजवादतर्फको यात्रामा अगाडि जाँदै छाँै । समाजवाद रातारात आउने कुरा होइन । त्यसका लागि राष्ट्रिय पूँजिको विकास गर्नुपर्छ । त्यसका लागि हामी सबैको दर्बिलो एकताको आवश्यकता छ ।
प्रतिक्रिया