राजनीतिमा आउँदा पाकिस्तानी प्रधानमन्त्री खानको सम्पत्ति घट्दो

राजनीतिमा आउँदा पाकिस्तानी प्रधानमन्त्री खानको सम्पत्ति घट्दो

क्रिकेटका सशक्त स्थापित खेलाडी इमरान खान राजनीतिमा पनि सुझबुझ र कार्यशैलीका हिसाबले सशक्त बनेका छन् । 

दक्षिण एशियामा राजनीतिलाई राम्रै कमाउ व्यवसायका रुपमा लिने गरेकोमा इमरान खानको सम्पति भने राजनीतिमा आएपछि घट्दो क्रममा रहेको देखिएको छ ।

राजनीतिमा आएका प्रधानमन्त्री इमरान खानको सम्पत्ति पाकिस्तानमै पनि अन्य राजनीतिक नेताको तुलनामा खस्कदै गएको देखिएको छ ।

कृषि लगायत अन्य स्रोतबाट हुने आम्दानीको आधारमा प्रधानमन्त्री खानको सम्पत्तिमा गिरावट आएको औपचारिक दस्तावले दर्शाएको हो ।

प्रधानमन्त्री खानको शुद्ध आम्दानी सन् २०१५ मा तीन करोड ५६ लाख थियो । सन् २०१६ मा उनको यो सम्पत्तिमा एक करोड २९ लाखको गिरावट देखिएको हो । त्यसपछि सन् २०१७ मा ४७ लाखको गिरावट देखियो ।

सन् २०१५ मा खानको सम्पत्तिमा केही फाइदा राजधानी इस्लामाबादको कूटनीतिक क्षेत्रमा पर्ने क्लारा अपार्टमेन्टको बिक्रीबाट आएको दुई करोडले गर्दा देखिएको थियो । साथै ९८ लाख बराबरको विदेशी विप्रेषण आएको देखिएको थियो । यसैगरी ३४ लाख कृषि आम्दानी, राष्ट्रिय सभा सदस्यको हैसियतमा उनले पाउने नौ लाख २१ हजार र पाकिस्तान क्रिकेट बोर्डले दिने निवृतिभरण रकम ४ लाख १० हजार लगायतको आम्दानी थियो ।

त्यसपछि उनको आम्दानीमा एक करोड २९ लाखको गिरावट देखियो । विदेशी सेवाको आम्दानीमा केही फाइदा देखिए पनि कृषि आम्दानीमा गिरावट आएको देखियो । 

तर प्रतिपक्षी नेता शहबाज सरिफको सम्पत्ति निरन्तर बढदै गएको देखिएको छ । सन् २०१५ मा ७६ लाख, सन् २०१६ मा ९५ लाख र सन् २०१७ मा एक करोडको सम्पत्ति वृद्धि भएको देखियो ।

यसैगरी पूर्व राष्ट्रपति असिफ अलि जर्दारीको आमदानीको सन् २०१५ को सम्पत्ति १० करोड ५० लाखमा वृद्धि भइ सन् २०१६ मा ११ करोड ४० लाख पुग्यो । सन् २०१७ मा उनको सम्पत्ति १३ करोड ४० लाख पुगेको देखियो ।

जर्दारीकै छोरा बिलाबल भुट्टो जर्दारीको सम्पत्ति पनि बढेको देखिएको छ । सन् २०१५ मा उनको सम्पत्तिमा २ करोड ३० लाख भन्दा बढीको वृद्धि भएको देखियो ।

पाकिस्तानी प्रधानमन्त्रीको जस्तै आर्थिक पारदर्शी र राजनीतिलाई कमाउ होइन सेवाको रुपमा लिने हो भने राजनीति सफा बन्नेछ । समाजमा अतिवादले फस्टाउने, प्रश्रय पाउने धरातल हुने छैन । 

हिजो त्याग र वलिदानको जगमा खडा भएको नेपालको माओवादीमा समेत कमाउको राजनीति फस्टाएको, हिजो जनमुक्ति सेनाका कमाण्डरका छोराछोरी समेत भ्रष्ट अधिकारीलाई सफाइ दिलाउन बिचौलिया बनेर सक्रिय भएको बिडम्बनापूर्ण स्थितिमा इमरान खानको यो कार्यशैलीले ती भ्रष्टहरुलाई समेत गिज्याइरहेको हुनुपर्छ ।