मर्ने र मार्ने राजनीति जनताको चाहना होइन

मर्ने र मार्ने राजनीति जनताको चाहना होइन

फणीन्द्र फुयाल

 भनिन्छ, कुनै पनि महान कार्य गर्दा कथंकदाचित केही सानातिना गल्ती भएका रहेछन् भने ती क्षम्य हुन्छन् । राजतन्त्र फ्याल्न, संविधानसभाबाट नेपालको नयाँ संविधान बनाउन, देशलाई लोकतान्त्रिक गणतन्त्रमा लैजान, समानता, धर्मनिरपेक्षता, र समाजवादको मार्गमा राष्ट्रलाई हिँडाउन तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्ध ग¥र्यो । जनयुद्धको जगमा टेकेर ०६२÷६३ सालको जनआन्दोलन भयो, मधेस आन्दोलन भयो र अन्य समाजिक बिद्रोहहरु भए । 

दश वर्षे युद्धमा केही गल्ती, कमी कमजोहरु त भए तर ती कमजोरी र गल्तीहरुलाई उपलव्धिहरुले ढाकिदिए । जनयुद्धका दौरान हजारौँ शहीद, बेपत्ता, र घाइतेहरु भए । 

अझै पनि जनयुद्धका घाइते योद्धाहरुका शरीरमा बम र बरुदका छर्राहरु छिपेर बसेका छन् । युद्धले देशका भौतिक संरचनाहरु ध्वस्त भए, अरबौँको क्षति भयो । 

विद्रोही पक्ष र सरकारी पक्ष दुवैको ठूलो मानवीय तथा भौतिक क्षति भयो । अन्ततः सरकार र युद्धरत पक्षबीच दिल्लीमा १२ बुँदे सम्झौता भयो र दुबैको ‘विन विन’ अवस्थामा पुगेर युद्ध समाप्त भयो । 

१२ बुँदे सम्झौता बमोजिम नै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भयो तर त्यसले अझै ठोस रुपमा काम गर्न सकेको छैन । शान्ति सम्झौता विपरीत युद्धमा भएका घटनाहरु व्यक्ति व्यक्ति छानेर मुद्धा लगाउने काम डलरका खेतीपाती गर्न पल्किएकाहरुले गर्दैछन् । नेपालको जनयुद्ध नेपाल र नेपालीहरुको छुट्टै प्रकृतिको भएका हुँदा यसलाई नेपाली मौलिकताका आधारमा ‘फर्गिभ एण्ड फर्गेट’ को अवधारणामा टुंग्याउनुपर्ने हुन्छ । युद्धको खाटा लागेको घाउ कोट्याउने होइन कि अव त्यसलाई अझै औषधिहरु लगाएर दर्विलो र स्वस्थ बनाउँदै लानु पर्छ । युद्धको झगडा झिकेर र रिस साँधेर अव कुनै पनि नेपालीको भलो हुँदैन । 

यही सन्दर्भमा फेरि नेपालमा अर्को युद्धको रिहर्सल त हुँदै गएको छैन ? भन्ने प्रश्न नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा र सरकारको नेतृत्व गरेको नेकपाबीचको आरोप प्रत्यारोप र व्यवहारले खडा गरिदिएको छ । स्वतन्त्र मधेशको नारा लिएर हिंँड्ने सिके राउतलाई राजनीतिक मूल धारमा ल्याउन राजधानीको राष्ट्रिय सभागृहमा आयोजित सम्झौता कार्यक्रमा गत शुक्रबार प्रधानमन्त्री केपी ओलीले भनेका थिए ‘नेकपा भन्ने नाम हटाएर लुटेरा समूह विप्लव वा प्रकाण्ड भने हुन्छ’ । प्रधानमन्त्री ओलीले भने, ‘त्यो बाटो छोड अन्यथा सरकारले शान्ति सुरक्षा बहाल गर्न उचित कदम चाल्छ, म सुन्नेगरी भन्न चाहन्छु ।’ 

त्यसको केहीदिन पछि गृहमन्त्री राबहादुर थापा बादलले बुटवल पुगेर प्रदेश ५ को सुरक्षा समितिको बैठकलाई सम्बोधन भने ‘संविधान विरोधी तत्वलाई छाडिदैंन ।’ उनले हिंसामा लागेका विप्लव समूहलाई कानुनी कार्वाही अगाडि बढाउन प्रहरी प्रशासनलाई निर्देशन पनि दिए । 

उता दश वर्षे जनयुद्धको नेतृत्व सम्हालेका पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिराटनगर बिमानस्थलमा संचारकर्मीहरुमाझ विप्लवले समातेको बाटो पार लाग्ने खालको नभएको बताए । आफु २५ वर्षअघि प्रचण्ड बन्न लागेको बाटोमा विप्लव यतिबेला लागेको स्मरण गर्दै त्यो बाटो कसैको लागि हित नहुने उनको धारणा थियो ।

यो घटनाक्रमको केही दिन अघि प्रहरीले विप्लवको आधार इलाका मानिएका क्षेत्रमा छापा मारेको थियो । विप्लव समूहले ध्वसात्मक गतिविधिलाई तिब्र बनाएलगत्तै कपिलबस्तुस्थित विप्लवको घरलाई लक्षित गर्दै प्रहरीले छापा मारेर अत्याधुनिक हतियार र गोली गठ्ठा बरामद गरेको थियो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते समेत भएका थिए । त्यसपछि सरकार विप्लव समूहप्रति आक्रामक हुदै गयो । सो समूहले पनि विज्ञप्ति जारी गरेर सरकारका विरुद्ध राप्ती बन्द कार्यक्रमको घोषणा ग¥यो । सरकार विरुद्ध कडा रवैया देखाएको विप्लव समूहलाई सरकारले प्रतिवन्ध लगाएको छ । सरकार विप्लवका संरचना ध्वस्त पार्ने तयारीमा छ भने विप्लव समूह पनि सरकारी संरचना ध्वस्त पर्न उद्दत छ ।

दश वर्षै युद्धले थिलथिलो भएको देश अव फेरि अर्को युद्ध थाम्न सक्ने अवस्थामा छैन । हिजोेका घाउका डोवहरु पुर्न लाग्नुपर्ने बेलामा फेरि पनि विप्लव समूह युद्धकै बाटोमा अग्रसर भएको छ । यसकारले पनि उक्त समूहलाई नचिढ्याइकन वार्ता र सम्वादका माध्यमबाट समस्याको हल गर्नुको विकल्प देखिदैन । सहमति, सहकार्य र एकता नैं आजको नेपाली राजनीतिको मूल आधार हो । फेरि पनि मर्ने र मार्ने र राजनीति नेपाली जनताले चाहेका छैनन् । बम, बारुद र गोला पड्काएर मर्ने भनेको आखिर नेपाली नै हो । त्यसैले हिंसाको होइन शान्तिको बाटो रोजौँ, समृद्ध नेपाल निर्माण गरौँ ।