भूमिगत समूहसँग वार्ता गर्न सरकारको सक्रियता

भूमिगत समूहसँग वार्ता गर्न सरकारको सक्रियता

सिरहा, १ चैत्र । स्वतन्त्र मधेशको मागसहित आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनलाई वार्ता मार्फत सहमतिमा ल्याएको सरकारले तराई मधेशमा सशस्त्र संघर्षरत थप दुई समुहलाई पनि वार्तामा ल्याउने प्रयास थालेको छ । 

सिके राउतलाई सहमतिमा ल्याएपछि उत्साहित बनेको सरकारले तराईमा सशस्त्र संघर्षरत जयकृष्ण गोइत र ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक मोर्चालाई पनि वार्तामा ल्याउने पहल शुरु गरेको छ ।

तराई मधेसमा सशस्त्र संघर्षरत थुप्रै भूमिगत समूहलाई सरकारले बार्ता गरेर राजनीतिक मूलधारमा ल्याए पनि गोइत र ज्वाला सिंह समूहले अझै छुट्टा–छुट्टै समूह बनाएर भूमिगत रुपमा संघर्ष गर्दै आएको छ ।

एक कार्यक्रममा सहभागी हुन जनकपुर आइपुगेका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारसँग वार्ताका लागि गोइत र ज्वाला समूहलाई पनि पत्र पठाएको जानकारी दिएका छन् ।

सरकारद्वारा गठित उच्च स्तरीय वार्ता टोलीले असन्तुष्ट सबै पक्ष र समूहलाई वार्तामा आउनका लागि पत्र पठाएको छ । वार्ताका लागि पत्र पठाएकोबारे गोइत र ज्वाला समूहले यसबारे आधिकारिक धारणा सार्वजनिक गरेका छैन ।