सहमतिपछि सी के राउतको गठबन्धनमा भूकम्प, केन्द्रीय नेता नै अलग्गिने संकेत

सहमतिपछि सी के राउतको गठबन्धनमा भूकम्प, केन्द्रीय नेता नै अलग्गिने संकेत

धनुषा । २०६९ सालदेखि तराईका जिल्लामा केन्द्रित रही तराई/मधेस छुट्टै राज्य हुनुपर्छ भन्दै विखण्डनको राजनीति गर्दै आएको सीके राउतसँग सरकारले फागुन २४ गते ११ बुँदे सहमति गरेपछि राष्ट्रिय राजनीतिमा धेरै नै ठूलो तरङ्ग आइरहेको छ । यसपछि सी के राउतले नेतृत्व गरेको गठबन्धनमा आठ रेक्टरको भूकम्प गएको छ । कार्यकर्तामात्र होइन गठबन्धनमा सक्रिय कतिपय केन्द्रीय नेता नै सी के राउतको गठबन्धनबाट अलग हुने संभावना रहेको छ ।  
 
सी के राउत यतिवेला मौन रहे पनि उनका थुप्रै कार्यकर्ताले मधेस स्वतन्त्रताका लागि पहिलो खुड्किलो भनिरहेका छन् । यो असन्तुस्टि मात्र हो या सी के राउतको चालबाजी हो भन्ने बुझ्न चैत्र ४ गतेसम्म कुर्नैपर्ने देखिन्छ । ४ र ५ गते गठबन्धनको केन्द्रीय परिषदको वैठक धनुषामा बस्दैछ । 

उक्त परिषदको वैठक सी के राउतको निवास, जनकपुर उप नगरपालिका ८ बलवा टोलमा बस्ने भएको छ । यो वैठकमा सरकारसँग भएको सहमतिको समीक्षा, आगामी रणनीति, कार्यकर्ताको असन्तुस्टि, गठबन्धनको नाम र झण्डाको बारेमा निर्णय गरिने सी के राउतको नेतृत्वको गठबन्धनका एक केन्द्रीय सदस्यले जानकारी दिए । 
 
राष्ट्रिय परिषदको वैठकमा गठबन्धनको सहसंयोजक कैलाश महतो, प्रवक्ता अब्दुल खान, पश्चिम क्षेत्रका संयोजक इरफान शेष तथा झापादेखि बर्दियासम्मका जिल्ला संयोजक/सहसंयोजकहरु सहभागी हुने पनि ती नेताले बताए ।
 
प्रशिक्षण विभाग प्रमुख श्याम नारायण मण्डल र आर्थिक विभाग प्रमुख रमेश यादवले सीके राउत एक्लै चल्न थालेको भन्दै व्यापक असन्तुस्टि राख्दै हिंडेकाले उनीहरु आउने नआउने अझै ठेगान नभएको धनुषाका एक जिल्ला नेताले बताए । उनलाई यो प्रशिक्षणमा ल्याउन सीके राउत आफैं भिडिरहेको पनि तिनको भनाइ छ ।

सी के राउतले सञ्चारकर्मीसँग भेट्न अस्वस्थ भएको भनेर भेट्न नमाने पनि स्वतन्त्र मधेसका लागि घोषित ढंगले लागेकालाई भने तीब्र रुपमा भेटिरहेका छन् । यसले सीके पुरानो विखण्डनको मुद्धामा नयाँ कलेबरमा आउनसक्ने संकेतको रुपमा कतिपय विश्लेषकहरुले गरिरहेका छन् । यदि उनले सरकारसँग गरेको सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने हो भने केही पुराना नेतालाई भने छाड्नुपर्ने देखिन्छ ।