आजको राजनीतिसँग मेल खाने एउटा गीत ः यता कुलो काट्दाखेरी, उताको खेत सुक्यो अरे ....

आजको राजनीतिसँग मेल खाने एउटा गीत ः यता कुलो काट्दाखेरी, उताको खेत सुक्यो अरे ....

 

यता कुलो काट्दाखेरी, उताको खेत सुक्यो अरे
उताको मन राख्दाखेरी यताको मन दुख्यो अरे ...

राजेश पायल राईले करिव एक दशक अघि गाएको एउटा चर्चित गीतको अंश हो यो । यो गीतमा खेत, कुलो, मन, मायाँका कुरा गरिएको छ । तर पनि कता कता यो गीत यतिबेला नेपालको राजनीतिसँग ठ्याक्कै मेल खान पुगेको छ ।

यो संयोग नैं मान्नु पर्छ । किनकि नितान्त मायाँ प्रेमको बर्णन गरिएको यो गीत यसरी नेपालको वर्तमान राजनीतिसँग मेल खान पुगेको छ कि यता सिके राउतसँग राजनीतिक गठजोड मिलाउँदा उता विप्लवहरुको मन दुखेको छ भने यता मधेशी दलको मन जित्न खोज्दा सांसद रेशम चौधरीको आजीवन कारावासको फैसला भएको छ । 

गीतले भन्छ ः

खोइ किन हो यता बोल्दा उताको मन जल्यो अरे
उता मनको कुरा खोल्दा यता आँधी चल्यो अरे..
.

यही गीतको अंश जस्तै बनेको छ नेपालको वर्तमान राजनीति । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपालाई सरकारले प्रतिबन्धको घोषणा गरेपछि नेपालका बिभिन्न राजनीतिक दलमा यतिबेला कित्ताकाटको अवस्था सिर्जना भएको छ । 

विप्लवको दललाई प्रतिबन्धको निर्णय गर्ने वर्तमान नेकपामा पनि दुई धार देखिएको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा पनि स्पष्ट रुपमा दुई धार मैदानमा देखा परिसकेका छन् । यसैगरी राजपामा पनि कसैको एकैखालको मत देखिएको छैन । मत फरक फरक छन् ।

उता विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउँदा सरकार भित्रै आँधी बेहरीको सिर्जना भएको छ भने सिकेसँग सिकारु राजनीतिक पाराले बोल्दा र व्यवहार गर्दा अन्य दलहरुको मन जलेको सरकार बाहिरका दलहरुको धारणा छ ।