राउतलाई मूलधारमा ल्याउनु स्वागतयोग्य कदम ः जोशी

राउतलाई मूलधारमा ल्याउनु स्वागतयोग्य कदम ः जोशी

सिरहा, २ चैत्र । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउनु स्वागतयोग्य कदम भएको बताएका छन् ।
 
प्रेस युनियन सिरहाद्वारा आज लहानमा आयोजित पत्रकार भेटघाटमा नेता जोशीले मुलुक टुक्रयाउँछु भन्दै हिंडेका सिके राउतलाई राजनीतिक मूलधारमा ल्याउनु स्वागतयोग्य कदम भएको बताए ।
 
राउतलाई मुलधारमा ल्याउनु सकारात्मक र स्वागतयोग्य भए पनि राउतसँग भएको सहमतिको कतिपय बुँदा संबिधानको मर्म विपरीत भएको नेता जोशीले बताए । 

काँग्रेसले रचनात्मक तरिकाले सरकारलाई सहयोग गर्न तयार रहेको उल्लेख गर्दैै नेता जोशीले सत्तापक्षले दुई तिहाई बहुमतको दम्भमा काँग्रेसको अवमूल्यन गरिरहेको आरोप समेत लगाए । 
 
संवैधानिक निकायको नियुक्ति गर्दा समेत प्रमुख प्रतिपक्षी दलको नेतालाई नखोजिनु संबैधानिक व्यवस्था विपरीत भएको बताउँदै उनले जनतामा सकारात्मक प्रभाव पर्ने काम सरकारले गर्न नसकेको आरोप लगाए ।