सिके राउतको बैठक लहानमा शुरु, सरकारसँग भएको सहमति मुख्य एजेण्डा
सिरहा, ३ चैत्र । सरकारसँग भएको सहमतिको समिक्षा र अगामी रणनीति बनाउन सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक आजदेखि सिरहाको लहानमा शुरु भएको छ ।
फागुन २४ गते सरकारसँग भएको ११ बुँदे सहमतिको विषयलाई मुख्य एजेण्डा बनाएर लहानस्थित मारवाडी सेवा सदनको हलमा आज दिउँसो २ बजेबाट बैठक शुरु भएको हो ।
गठबन्धनका संयोजक राउत र सरकारबीच भएकोे ११ बुँदे सहमतिलाई मुख्य एजेण्डा बनाएर गठबन्धनको परिषद् बैठक बोलाइएको गठबन्धनका एक नेताले जानकारी दिए ।
बैठकमा गठबन्धनका संयोजक राउतसहितका केन्दीय पदाधिकारी तथा तराई मधेस अन्तर्गत २२ वटा जिल्लाका प्रतिनिधि समेत करिब ९० जना नेता कार्यकर्ताहरुको सहभागीता रहेको जनाएको छ ।
सुरक्षाकर्मी र सञ्चारकर्मीलाई प्रबेश निषेध गरिएको सो बैठकमा सरकारसँग भएको सहमति र गठबन्धनले लिने अगामी रणनीति बारे छलफल हुने र ठोस निर्णय लिईने सहभागिता रहेको जनाइएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा सहभागि नेतालाई सदनमै खाने बस्ने व्यवस्था गरिएको छ । बैठक पश्चात बैठकको निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्बजनिक गर्ने ती नेताले बताए ।
यसअघि जनकपुरमा चैत्र ४ र ५ गते गठबन्धनको परिषद् बैठक बस्ने भनिए पनि नेताहरुको आन्तरिक बैठकले बैठक गोप्य रुपमा लहान सारिएको श्रोतले जनाएको छ ।
प्रतिक्रिया